१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा संक्रमित संख्या ४० पुग्यो, ३२ जना निको

८ मध्ये ५ स्थानीय तहमा कोरोना देखियो

उदयपुरमा बिहीबार थप ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् । सदरमुकाम त्रियुगा जनता क्याम्पस मोतिगडा क्वारेन्टिनमा बसेका २ जना र कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टिनमा बसेमा १ मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

क्याम्पस क्वारेन्टिनमा भेटिएका त्रियुगा नगरपालिका १० बोक्सेका २४ वर्षीया युवती र १९ वर्षीय पुरुष एकाघरका दिदी–भाइ भएको बुझिएको छ । उनीहरु भारतको दिल्लीबाट भैरहवाको सुनौली नाकासम्म आईपुगेका थिए । सुनौलीबाट त्रियुगा नगरपालिले उद्धार गरी जेठ १५ गते जिल्ला ल्याएर क्वारेन्टिनमा राखेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले बताए ।  

बुधबार साँझ संक्रमित पुष्टि भएका कटारी नगरपालिका १३ का ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको बताइएको छ । भारतबाट नेपाल भारत सीमा काकडभिट्टासम्म आएका उनीलगायतलाई नगरपालिकाले उद्धार गरी कटारी ल्याएर क्वारेन्टिनमा राखेको थियो । बेलसोत क्वारेन्टिनमा भारतबाट आएका ३ महिलासहित ४० जनालाई राखिएको कटारी नगर स्वास्थ्य शाखाले जनाएको छ ।  

बुधबार विहान मात्र भारतबाटै आएका उदयपुरगढी गाउँपालिका ५ का एक पुरुष संक्रमित पुष्टि भएका थिए । उदयपुरगढी क्वारेन्टिनमा बसेका २६ वर्षीय पुरुष भारतको दार्जिलिङबाट १० दिनअघि मात्र नेपाल आएका थिए । ८ जनाको टोलीभित्रका उनीसहित ३ जना उदयपुरगढी क्वारेन्टिनमा र बाँकी ५ जनालाई नेपालटार क्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताएका छन् ।  

पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ४० पुगेको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका स्थानीय हुन् । जेठ ३ गते त्रियुगा ११ गाईघाटमा कार्यरत १ पत्रकार, त्यसपछि बेलका नगरपालिका ३ एबिसी टप्पुमा २ (दम्पति) जना र चौदण्डीगढी नगर ५ शिवाईका १ पुरुष संक्रमित भेटिएका छन् ।  

पहिलो चरणका संक्रमित ३३ मध्ये भुल्केकी १ महिलाबाहेक सबै निको भएर घर फर्किसकेका छन् । बेलका, चौदण्डी र उदयपुरपुगढीका ४ जना आइसोलेसनमा उपचाररत छन् भने कटारी र त्रियुगा क्वारेन्टिनमा पुष्टि भएका संक्रमितलाई बिहीबार दिउँसोसम्ममा कोभिड अस्पताल विराटनगर पठाउने तयारी भईरहेको स्वास्थ्यले जनाएको छ ।  

पछिल्लो संक्रमितसँगै उदयपुरका ४ नगरपालिका र १ गाउँँपालिका गरी ५ स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । सुरुमा त्रियुगा, त्यसपछि बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमित देखिएकोमा बुधबार उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा तथा बिहीबार विहान त्रियुगामै नयाँ संक्रमित थपिएका हुन् । उनीहरु सबै भारतकै बिभिन्न ठाउँबाट फर्केकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

उदयपुरमा अहिलेसम्म भेटिएका ४० सबै भारतबाट आएकाहरुबाटै सरेको पाइएको छ । सुरुमा भेटिएका भुल्के मस्जिदा रहेका जमातिहरुबाट संक्रमण आशंका गरिएको भए पनि  भारतको लखनउबाट फर्केका उद्र्धु भाषाका विद्यार्थीबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको थियो ।  

 

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App