३ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा ६ जना क्वारेन्टाइनमा, विदेशिएका नागरिकको बिवरण तयार पार्न सुरु

ताप्लेजुङ- पूर्णतया खाली भईसकेका ताप्लेजुङमा क्वारेन्टाइनमा फेरी संख्या थपिने क्रम सुरु भएको छ । शुक्रबारसम्ममा यहाँका २ स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ६ जना रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङको क्वारेन्टाइनमा ४ तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ३ तिरिङ्गेको रहेको क्वारेन्टाइनमा २ जना गरी अहिले जम्मा ६ जना क्वारेन्टाइनमा रहेका छन् ।  

जिल्ला भरमा १ सय ७९ शैयाको क्वारेन्टाइन रहेको छ । १४ शैयाको आइसोलेसन कक्ष रहेको छ । यसैबीच कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यहाँका स्थानीय तहले वडा समितिमार्फत बैदेशिक रोजगारी, भ्रमण, उपचार र अध्ययनका लागि देश बाहिर गएका नागरिकको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । 

फुङ्लिङ नगरपालिका वडा नं २ ले ३ दिनको समय दिएर बैदेशिक रोजगारी, भ्रमण, उपचार र अध्ययनसहितका कार्यमा देश बाहिर गएका नागरिक भए त्यसको जानकारी वडा समितिमा दिन सम्बन्धित सदस्यका आफन्तलाई आवहन गरेको छ । वडाध्यक्ष मोहन न्यौपानेले बैदेशिक रोजगारी, भ्रमण, उपचार र अध्ययनसहितका कार्यमा देश बाहिर गएका नागरिकका आफन्तले विदेशिएका व्यक्तिको समष्टिगत बिवरण वडा समितिमा दिन आवहन गरिएको जानकारी दिए ।  

बैदेशिक रोजगारी,भ्रमण,उपचार र अध्ययनसहितका कार्यमा बिदेशिएका नागरिकलाई त्यहाँबाट उद्धार गरी स्वदेश फर्काउने सरकारी योजना समेत बन्न सक्ने भन्दै कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको गत मंगलवारको बैठकले स्थानीय तहमार्फत यस्ता नागरिकको सम्पूर्ण बिवरण तयार पार्ने निर्णय गरेको थियो । वडा समितिमार्फत तयार पारिएको बिवरण सम्वन्धित स्थानीय तहले कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयलाई दिन सबै स्थानीय तहहरुलाई अनुरोध पत्र पठाईसकिएको प्रजिअ निरौलाले जानकारी दिए । 

बैदेशिक रोजगारी,भ्रमण,उपचार र अध्ययनसहितका कार्यमा बिदेशिएका नागरिकलाई उद्धार गरी ल्याउने अवस्थामा मोटो परिमाणमा क्वारेन्टाईन स्थल समेत आवश्यक पर्ने भएकोले यहाँका सबै स्थानीय तहलाई सम्भाावित क्वारेन्टाइन स्थलको पहिचान गर्न समेत कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले आग्रह गरी सकेको छ ।  

 

प्रकाशित: २ जेष्ठ २०७७ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App