६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पत्रकारलाई ज्याकेट र पिपिई प्रदान

कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका पत्रकारलाई विभिन्न व्यक्ति र संघसंस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई रौतामाई गाउँपालिकाका सल्लाहकार अम्बर रायमाझी, रोटरी क्लब इन्टरनेसनल र पूर्व विद्यार्थीले स्वास्थ्य सामग्री दिएका हुन् ।  

पर्सापछि दोस्रो ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको उदयपुरमा पत्रकारको सुरक्षाका निम्ति रायमाझीले ५० थान प्रेस ज्याकेट (एप्रोन), सेनिटाइजर, मास्क र ग्लोब दिएको महासंघका अध्यक्ष भरत खड्काले बताए । उनका अनुसार रोटरी क्लबले १५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), ५० थान ग्लोब, ५० थान सेनिटाइजर र मास्क प्रदान गरेको छ ।  

यसअघि गाईघाटकै नमुना स्कुलको २०६२ एसएसली ब्याजका पूर्वविद्यार्थीले मास्क, सेनिटाइजर र ग्लोब उपलब्ध गराएको महासंघका उपाध्यक्ष भोटराज राईले बताए । उनका अनुसार त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइलीले ४० थान सेनिटाइजर र मास्क प्रदान गरेका थिए ।

सुरक्षा सामग्रीबिना लकडाउनको ५०औं दिनदेखि लगातार रिपोर्टिङ गर्ने पत्रकारलाई संक्रमणको जोखिमबाट बचाउन ज्याकेटलगायत सामग्री सहयोग गरेको रायमाझीले बताए । कोरोना प्रभावित जिल्ला भएकाले उदयपुरका पत्रकार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै अग्रमोर्चामा रहेर खट्नुपर्ने अवस्थामा राज्यले कुनै सहयोग नगरेको गुनासो आइरहेको छ । रोटरीका अध्यक्ष उमेश बस्नेतले जनतालाई सुसूचित गर्ने पत्रकारलाई सुरक्षित गर्न सहयोग गरेको बताए ।

देशका विभिन्न भागमा संक्रमितको संख्या थपिँदै गएपछि उदयपुरमा प्रशासनले रिपोर्टिङमा निस्कने पत्रकारलाई अनिवार्य एप्रोन लगाउन सुझाएको छ । सहयोगीबाट प्राप्त सामग्री महासंघले बुधबारै पत्रकारलाई वितरण गरेको सचिव पर्शुराम थापाले बताए । उनका अनुसार एप्रोन नलगाएका पत्रकारलाई प्रहरीले रोक्ने र परिचयपत्र देखाउँदा नजिक आउनुपने हुँदा सामाजिक दूरी कायम नहुने समस्या हुने गरेको छ ।  

समाजलाई सुसूचित गर्ने पत्रकार जगत् पहिले आपूm सुरक्षित भए मात्र वास्तविक सूचना प्रवाह गर्नसक्ने भएकाले उनीहरुको सुरक्षामा राज्यले पनि चासो दिनुपर्ने सञ्चारकर्मीहरुको माग छ । अग्रमोर्चामा खट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैलाई राज्यबाट मासिक पारिश्रमिक, सवारी साधन, इन्धन, दैनिक भ्रमणभत्तालगायत अतिरिक्त सेवासमेत पाउँदै आएका छन् । तर, उनीहरुकै दाँजोमा खट्ने पत्रकारले सञ्चार संस्थाबाट पाउनेबाहेक कुनै सुविधा नपाए पनि समाजप्रतिको उत्तरदायित्व वहन गर्न भने छाडेका छैनन् ।  

दुई साताअघि भुल्के क्षेत्रको अनुगमन गर्न आएका महासंघका महासचिव रमेश विष्टले पत्रकारले सवारी साधनदेखि आधारभूत स्वास्थ्य सामग्रीसम्म आफंैले जोहो गरेर खटिरहनु पर्दा राज्यले न्यूनतम सुविधा दिने दायित्वसमेत निर्वाह नगरेको भन्दै दुःखद व्यक्त गरेका थिए । उनीसँगै आएका प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझाले लोककल्याणकारी विज्ञापनको गत पुसदेखि रोकिएको भुक्तानी तत्काल निकासा गर्ने पहल गरेका थिए । उनीहरुले यसबारे तत्काल सरकारको ध्यानाकर्षण गराउने बताए पनि त्यसको कुनै प्रतिक्रिया र प्रतिफल देखिएको छैन । 

प्रकाशित: १ जेष्ठ २०७७ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App