२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतको क्वारेन्टाइनबाट भागेर आएका तीन युवा नेपाल प्रवेश

‘कोरोना संक्रमित’ भएको आशंका

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिका। तस्बिर: नागरिक

भारतको क्वारेन्टाइनबाट भागेर आएका तीन जना नेपाली युवा बाँकेको नरैनापुर गाउँपालिकास्थित नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरेका छन्। भारतको प्रयोगशालाले उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिसकेको स्थानीय जनप्रतिनिधीको दाबी छ।

नरैनपुर गाउँपालिका वडा नम्बर ३ बहाउपुर्वा गाउँका युवाहरु अबैध नाकाबाट प्रवेश भएका हुन्। नरैनापुर गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार मौर्यका अनुसार भारतको श्रावस्ती जिल्लास्थित क्वारेन्टाइनमा बसेका उनीहरुलाई कोरोना भाइरस पुष्टि भएको थियो।  

 

स्थानीय १९, २४ र ३५ बर्षका नेपाली युवा भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएको वडाअध्यक्ष मौर्यले बताए।  ‘यिनीहरु करिव एक हप्ताअघि क्वारेन्टाइनबाट भागेर घरमा आई बसेका रहेछन्, हामीले थाहा पाएर यिनीहरुलाई भारतकै क्वारेन्टाइनमा बस्न पठायौं,’ उनले भने ‘अहिले फेरि पनि भागेर नेपाल प्रवेश गरेपछि हामीलाई थाहा भयो।’ भारतको श्रावस्ती जिल्लास्थित सिरसियामा रहेको क्वारेन्टाइनमा बसेको र लखनउमा रहेको प्रयोगशालामा  परीक्षण गर्दा संक्रमण पुष्टि भएको मौर्यले बताए। 

‘कोरोना संक्रमण पुष्टि भएपछि यिनीहरु भागेर नेपाल आएका हुन्,’ उनले भने। कोरोना संक्रमित नेपाल प्रवेश गरेको हल्ली खल्ली मच्चिएपछि जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले भारततिरै फर्काउने प्रयास गर्दा उनीहरु अहिले नेपाल–भारत सिमास्थित जंगलमा लुकेर बसेको वडाअध्यक्ष मौर्यले बताए।  

 

कोरोना संक्रमित युवा भारतबाट अबैध नाकबाट भागेर आएको जानकारी पाएपछि नेपालगन्जबाट स्वास्थ्यकर्मीको एक टोली नरैनापुर पुगेको छ।  नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले कोरोना संक्रमित युवा भागेर नेपाल प्रवेश गरेको भारतबाटै हल्ला आएपछि नरैनापुरबासी सजग भएको बताए। ‘यिनीहरुमा कोरोना संक्रमण छ वा छैन भनेर चेकजाँच गर्न नेपालगन्जबाट स्वास्थ्यको टोली आइसकेको छ,’ अध्यक्ष शाहले भने ‘भारतबाटै हल्ला आएको हो, जाँच गरेपछि थाहा हुन्छ।’ 

युवाहरु केहीदिन अघि नेपाल प्रवेश गरेको थाहा पाएपछि सीमामा खटिएको सशस्त्र प्रहरीले भारततिर फर्काइदिएको र अहिले पुनः फर्केर आएको अध्यक्ष शाहले सुनाए। खुल्ला सीमाका कारण भारतबाट लुकिछिपी नेपाल प्रवेश हुने क्रम नरोकिएको स्थानीय बासिन्दा बताउँछन्। सरकारले सिमा क्षेत्रमा निगरानी बढाउन सशस्त्र प्रहरीको जनशक्ती बढाएपनि प्रवेश हुन छाडेका छैनन्। 

प्रकाशित: ३० वैशाख २०७७ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App