७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आवश्यकताका आधारमा जिन्सी सहयोग

ताप्लेजुङ - जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङ नगरपालिकासँगको समन्वय र अग्निपीडितको तात्कालिक आवश्यकताका आधारमा मात्र पीडितहरूलाई सहयोग गर्न सकिने बताएको छ। सबैखाले सहयोग प्रक्रिया भने एकद्वार प्रणालीमा फुङ्लिङ नगरपालिकामार्फत व्यवस्थापन हुने भएको छ। नगद सहयोग नगरपालिकाको विपद् सहयोग कोषमार्फत सिधै गर्न सकिनेछ भने जिन्सी सामग्री सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन वा फुङ्लिङ नगरसँग प्रत्यक्ष समन्वयमा रहेर निर्धारण गर्नुपर्ने भएको छ। 

पीडितलाई सहयोग पनि होस् र उनीहरूको तात्कालिक आवश्यकता क्रमशः टरोस् भनेर यस्तो निष्कर्ष निकालिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ डोरेन्द्र निरौलाले जानकारी दिए। यसका लागि सहयोगी निकाय वा दाताले फुङ्लिङ नगरपालिकासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने भएको छ। आवश्यकता एउटा हुने तर सहयोग हुने जिन्सी सामग्री भने दोहोरिएर आउने सम्भावना अन्त्य गर्न अग्निपीडितहरू आवश्यकताका आधारमा मात्र सहयोग गर्न सकिने निष्कर्षमा पुगेको प्रजिअ निरौलाले बताए।

निरौलाले अग्निपीडितहरूलाई दैनिकी सञ्चालनका लागि तात्कालिक आवश्यकताको प्राथमिकीकरण गर्नसमेत आग्रह गरेका छन्। उनले अग्निपीडितहरूको तात्कालिक माग र आवश्यताका आधारमा तयार भएको सूची इच्छुक दातालाई दिन सकिने र सोहीअनुसार सहयोग जुट्न सक्ने विश्वास लिए। प्रजिअ निरौलाले हरेक दिन १२ बजे कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठक बस्दै आएकाले तत्कालै सम्बोधन गर्न सकिने आवश्यकताको सूची तयार पार्न अग्निपीडितहरूलाई आग्रह पनि गरेका छन्। यसैबीच पीडितहरूले आफ्ना आवश्यकता र मागको उचित सम्बोधनका लागि तीनैखाले सरकारलाई झक्झक्याउन र सहयोग सहजीकरण गर्न यिगेन्द्रकुमार गुरुङको अध्यक्षतामा अग्निपीडित संघर्ष समिति बनाएका छन्।

समितिको उपाध्यक्षमा नेत्रप्रसाद कार्की, सचिवमा खेम केसी र कोषाध्यक्षमा खड्ग थापा छन्। अग्निपीडित परिवारको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको अध्यक्ष गुरुङले बताए। समितिको नियमित बैठकमार्फत आफ्ना लागि आवश्यक अल्पकालीन र दीर्घकालीन आवश्यकताको सूची बनाउने गृहकार्य चलिरहेको उनले जानकारी दिए। यसअघि पीडितहरूले सरकार समक्ष बैंक तथा वित्तीय संस्थामा कायम रहेको ऋण मिनाहा तथा सहुलियत दरमा थप ऋणसहित पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी सातबँुदे मागपत्र पेस गरिसकेका छन्। आगलागीग्रस्त क्षेत्रको अवलोकनका लागि फुङ्लिङ आाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईमार्फत सरकारसमक्ष उनीहरूले यस्तो माग पेस गरेका थिए।

गएको शुक्रबार राति फुङ्लिङको पुरानो बैँक लाइन ट्याक्सी स्टेनछेउमा भएको आगलागीबाट आठ घर जलेर नष्ट र २९ घरपरिवार विस्थापित भएका छन्।

प्रकाशित: २४ वैशाख २०७७ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App