१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार दिनदेखि कल्भर्टमा

बैतडी- सीमानाका खुलेको सूचना पाएपछि झुलाघाट पुगेका बाजुराका आठ नेपाली भारतीय अलपत्र परेका छन् । उनीहरु भारतको लुहाघाटमा काम गर्दै आएका थिए । वैशाख १८ गते सीमा नाका खुलेको सूचना पाएपछि हिडेर झुलाघाट पुगेका उनीहरु चार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका छन् ।

सीमावर्ती इलाकामा फसेका नागरिक बिहीबार नेपाल ल्याएको दोस्रो दिन उनीहरु झुलाघाट पुगेका थिए । बाजुराको बुढीनन्दा नगरपालिका–९ का मनबहादुर बोहरा, काशी बोहरा, शिव रोकाया, एकेन्द्र बोहरा, रमेश रोकाया, चन्द्र बोहरा, भीम बोहरा र बुढीनन्द नगरपालिका ८ का धनबहादुर बोहरा  चार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका छन् । गत पुसमा कामको खोजीमा उनीहरु भारत पसेका हुन् ।

भारतमा समेत लकडाउन भएको र आफूहरुसँग पैसा नभएकाले सडकको कल्भर्टमा बसेर दिनरात बिताउनु परेको मनबहादुर बोहराले बताए । ‘हामी सीमा नाका खुला हुन्छ भनेर आयौं । हिडेरै आउँदा ढिलो भयो ।’ मनबहादुरले भने, ‘यहाँ पुग्दा नेपाल छिर्ने नाका बन्द भइसकेको र कतै ठाउँ नपाएपछि सडकको कल्भर्टमा बास बसिरहेको उनले बताए ।’

लामो समयसम्म लकडाउन भएपछि उनीहरुसँग खर्चको पनि अभाव छ । चाउचाउ बिस्कुट खाएर छाक टारिरहेको बाजुराको बुढीनन्द नगरपालिका–९ का रमेश रोकायाले जानकारी दिए । कल्भर्टमा भुइमै बसेर रात कटाइरहेको, लामखुट्टेले टोकेर हैरान बनाएको र भोकभोकै भएकाले उद्धारका लागि उनीहरुले सरकारसँग माग गरेका छन् ।

८ नेपाली कल्भर्टमा बस्न बाध्य भएको थाहा पाएपछि स्थानीय प्रशासनसँग समन्वय गरी व्यवस्थापनका लागि पहल गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले यस विषयमा आफूलाई जानकारी प्राप्त भएको र भारतको पिथौरागढ जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए । अलपत्र परेका नेपालीहरुले भारतीय क्वारेन्टाइनमै भए पनि बसोबासका व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

प्रकाशित: २३ वैशाख २०७७ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App