१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा यो वर्ष पनि मकैमा फौजी किराको आक्रमण

उदयपुर- गतवर्षदेखि देखा परेको अमेरिकन फौजी किरा यो वर्ष पुनः फैलिएको छ । गतवर्ष बालीको मध्येयाममा धान, मकै, आलु, गहुँलगायत बाली, सागसब्जी र डाले घाँससमेत सखाप पारेको फौजी किराले यो वर्ष बाली लगाउनेबित्तिकै देखा परेपछि किसानमा दिग्दारी छाएको छ ।

कृषि प्राविधिकका अनुसार गतवर्ष मकै धानचामल आउने बेला, धान पसाउन लाग्दा र अन्य बाली फल्ने तयारीका बेला लागेको फौजी यो वर्ष विरुवामै हावी भएको छ । गतसाल सीमित ठाउँमा देखिएको किरा यो वर्ष उच्च पहाडदेखि तराई, खोँच र बेँसीलगायत सबैतिर उत्तिकै बिगबिगी सल्बलाएको छ । उच्च पहाडी भेगमा माघ पहिलो सातादेखि छरिने मकै तराई, भित्रि मधेस र कम उचाईका पहाडमा चैतभित्र लगाउने गरिएको छ । तर, जुनसुकै ठाउँमा मकै उम्रेर दुई÷तीनपाते हुँदै फौजीको आक्रमण सुरु भईसकेको किसान बताउँछन् ।

जिल्लाको उदयपुरगढी गाउँपालिकाका ५, ६ र ७ नं. वडाको मात्र ५० हेक्टरभन्दा बढी  जमिनको मकैबाली फौजी किराले सखाप पारेको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखाका प्राविधिक पारस फुयालले ६०÷६५ घरधुरी किसानले लगाएको मकैबाली फौजीले विरुवामै नष्ट गरेको बताए । ५ नं. को मौवासी एकैठाउँमा २५ हेक्टरमा लगाइएको मकैबाली फौजीले नष्ट गरेपछि किसान हारगुहार गर्दै कृषि ज्ञान केन्द्र उदयपुर आईपुगेका छन् । ज्ञान केन्द्रले जताततै फौजी किराले मकैबाली नष्ट गर्ने गरेको खवर पाएपछि किरा नियन्त्रण गर्न विज्ञसहितको प्राविधिक टोली गठन गरी औषधि वितरण तथा छिट्ने व्यवस्था मिलाईरहेको जनाएको छ ।

उच्च पहाडमा अहिले धमाधम मकै गोड्ने बेलाको मकैमा छ्यास्छ्यासी किरा लागिसकेकाले मकै फल्ने आसा मरिसकेको रौतामाईका किसान बताउँछन् । स्थानीय शेरबहादुर मगरका अनुसार विरुवामै फौजी किराले खाएकाले यो वर्ष मकै फल्ने छाँडकाट देखिएको छैन । आउँदो वर्ष मकै उत्पादन घटठने चिन्ताले किसानलाई पिरोल्न थालेको उनले बताए ।

यस्तै चिन्ता लिमचुङबुङ, ताप्ली र उदयपुरगढीलगायतका धेरै किसानलाई पनि छ । दुई÷तीनपाते हुदै फौजीले आक्रमण गरेको र एकैरातमा कलिला पातदेखि डाँठसम्म खाईदिने गरेकाले उपचार गर्नै नभ्याइएको किसानको गुनासो छ । कम उचाईक्षेत्रमा चैतभित्र छरेको मकै पनि गोड्ने बेला हुन लाग्दा फौजीकै आक्रमणममा परिसकेको लिमचुङबुङका ललित राईले बताए ।

उनका अनुसार गतवर्ष पनि फौजी देखिएको थियो तर, यसपालीजस्तो बाक्लो र विरुवामै लागेको थिएन । यो वर्ष त अहिले नै यस्तरी फैलिएको किरा बेलामा नियन्त्रण नगरे मकै फल्न त के हुर्काउनै नसकिने उनी बताउँछन् । ‘आज एउटा किरा देखिन्छ, भोलिपल्ट ५/६ वटा भएर पातदेखि डाँठसम्मै खाईसकेको हुन्छ’ उनले भने ‘तत्काल उपचार नगरे यो वर्ष मकै फलाउन त के विउ फर्काउनसम्म गाह्रोछ ।’

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले धेरैतिरबाट एकैचोटी उस्तै समस्या आएको भन्दै अहिलेलाई सबभन्दा बढी प्रभावित ठाउँमा टोली पठाएर उपचार तथा नियन्त्रण कार्य थालेको बताए । लकडाउनले गर्दा समस्या ठूलो देखिए पनि समाधान गरिहाल्न नसकेको उनले बताएका छन् । किसानका अनुसार फौजी कीराले विरुवाकै अवस्थाका मकैको पातदेखि गुभोभित्रसम्म पसेर खाईदिने गर्दा निमिट्यान्न हुने संभावना छ । पात मात्र खाए पलाउने भए पनि गुभोभित्रै छिरेर खाने हुँदा किरा नियन्त्रण मात्र अन्तिम उपाय भएको रेग्मी बताउँछन् ।

रेग्मीले पहाडी भेगसँगै बेलका, त्रियुगा र चौदण्डीगढी तथा कटारी नगरपालिकाका बिभिन्न वडाबासी कृषकले फौजी किराको आतंकबारे जानकारी गराईरहेको बताएका छन् । बेलका  नगरका १, २ र ३ नं. वडा, चौदण्डीगढीका ९ र १०, त्रियुगाका ३, ५, ७, १३, १५ र १६ तथा कटारीका ४, ५, ६, १० का जनताले पनि फौजी किराको प्रकोप बढेको भन्दै तत्काल नियन्त्रणको माग गरेका छन् ।

त्यस्तै रौतामाई गाउँपालिका २, ४, ५ र ७ का जनप्रतिनिधिले पनि विरुवामै मकैबाली नष्ट गरिरहेको फौजी नियन्त्रणका लागि ज्ञान केन्द्रसँग अनुरोध गरेका छन् । प्रकोप नियन्त्रण गर्न ज्ञान केन्द्रले सबैतिर प्राविधिक टोली खटाएर स्थलगत अनुगमन गर्दै  केही ठाउँका किसानलाई विषादि र औषधि वितरण गरेको रेग्मीले बताए ।

सिडिएस विषादि सहयोग
फौजी किराको प्रकोप नियन्त्रण गर्न कृषिक्षेत्रमा क्रियासिल बाल विकास केन्द्र (सिडिएस) उदयुरले बिभिन्न ठाउँका किसानलाई विषाधि उपलब्ध गराएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा कृषि परियोजना सञ्चालन गर्दै आएको सिडिएसले उदयपुरगढी गाउँपालिकाका ६ र ८ नं. वडाका नुवारवेसी, नेपालटार, कुसुमबोट, बोहोरीबोट, खत्रीटारलगायतका किसानलाई किरा प्रकोपविरुद्ध विषादि उपलब्ध गराएको हो ।

किरा नियन्त्रण गर्न नसके सबै मकैवाली नष्ट हुने भएकाले कृषि ज्ञान केन्द्र र गाउँपालिका कृषि शाखासँगको समन्वयमा औषधि वितरण गराएको सिडिएसका ‘जीविकोपार्जन तथा सामाजिक सुरक्षा  परियोजना’ कार्यक्रम संयोजक चेतराज श्रेष्ठले बताए । उनका अनुसार फैजी नियन्त्रण गर्ने जान्दर नामक जीवमैत्री विषादि ७६ पाकेट किसानलाई उपलब्ध गराइएको छ । किसानको गुनासोपछि घट्नास्थल पुगेको सिडिएसको प्राविधिक टोलीले जनप्रतिनिधि, कर्मचारी र कृषकबीच समन्वय बैठक राखेर तत्काललाई ८ विगाह जमिनमा लगाइएको मकै बालीमा छिट्ने कामसमेत गरिसकेको श्रेष्ठले बताए ।

उदयपुरगढीको कृषि शाखाले २० हेक्टर जमिनमा लगाइएको मकै बालीमा किरा लागिसकेको जनाउँदै भर्खरै सिडिएसबाट पाएको औषधि छिट्ने काम भएको र अन्य ठाउँमा पनि क्रमशः औषधिको व्यवस्था मिलाउदै लाने जनाएको छ । थप मकैबाली क्षेति हुनबाट रोक्न कृषि ज्ञान केन्द्र र सिडएसलगायतसँग सहायर्क गरी नियन्त्रणको उपाय अपनाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए ।

सिडिएसका सेभ कार्यक्रम संयोजक दिपक बुढाथोकीले किरा संक्रमण रोक्न तत्काललाई परियोजना अन्तरगत दुईजना कृषि स्रोतव्यक्ति (प्राविधिक) जनशक्तिसमेत व्यवस्था गरेर परिचालन गरिएको बताए । बुढाथोकीले सामान्य हेलचेक्र्याईले पनि मकैबाली नष्ट हुने भएकाले सरकारको मुख नताकि तत्काल सुरक्षाको व्यवस्था मिलाउन किसानलाई आग्रह पनि गरिएको बताए ।

 

प्रकाशित: २२ वैशाख २०७७ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App