५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

टिपरमा यात्रा, तीन गुणा बढी भाडा

उपत्यकाबाट कष्टकर यात्रा गरेर रोल्पा पुगेका मजदुरहरु।तस्बिरः दिनेश नागरिक

रोल्पा - रोल्पा सदरमुकाम लिवाङ छेउँमा रहेको बालमन्दिर भवन नजिकै उभिएको मिनी टिप्परमा काठमाण्डौबाट आएका मजदुरसंगै उनका बालबच्चा पनि थिए। भोक र प्यासले छटपटिएपछि उर्जा मन्त्री बर्षमान पुनले समन्वय गरी रोल्पा पु-याइएका उनीहरुले लाग्ने भन्दा दुईदेखि तीन गुणा बढी गाडी भाडा तिरेको बताए। अरूबेला  एक हजार रुपैयाँमा रोल्पा पुग्ने मजदुरहरूले संकटका बेला दुईदेखि तीन हजारसम्म तिर्नु परेको गुनासो गरे। 

बिगत एक साता यता लगातार जिल्ला भित्रिएका ४ हजार बढी मजदुरको काठमाण्डौ रोल्पा यात्रा मानविय थिएन। रोल्पा गृह जिल्ला भएका मन्त्री पुनले मजदुर रोल्पा पठाएको भन्दै सामाजिक संजालमा ठूलै चर्चा समेत चलेको थियो।  

काखमा साना बच्चा समातेर राजधानीबाट रोल्पा सदरमुकाम लिवाङ र होलेरीसम्म १८ घण्टाको रात्रि यात्रा पार गरेका उनीहरुलाई सामान्य मानविय समवेदना समेत नदेखाइएको उनीहरु बताउँछन्। साना बच्चा अनि झोलीझीम्टासंग सदरमुकाम लिवाङ पुगेका उनीहरुले यहाँबाट फेरि २६ कोष पार गर्दै परिवर्तन गाउँपालिकाको ईरिवाङ पुग्नु थियो।

‘आफू त भोकै प्यासै यहाँ पुगियो तर बच्चाको बेहाल भएको छ। बोल्ने ताकत पनि छैन।’ एक महिला मजदुरले दुखेसो पोखिन् ‘ईट्टाभट्टाको साहुले यस्तै गाडीमा पठाए।’ सदरमुकाम वा होलेरी आएका सबैलाई स्थानीय तहले अरु गाडीको ब्यबस्था गरेर आफ्नो ठाउँसम्म लगेको थियो। 

यहाँ मात्र होइन रोल्पा भित्रिने होलेरी नाकामा पनि केहि दिन पहिले करिब ३ दर्जन मजदुरलाई  यस्तै मिनी टिप्परमा हालेर रोल्पा पठाइको थियो। सडक भरी चेकजाचका लागि बसेका सरकारका अनेकन निकायले मजदुरमाथि गरिएको अमानविय ब्यबहारका बारेमा कहिकेहि बोलेको पनि पाइएन। ‘पानी झरीमा बच्चासंग बडो मुस्कीलले रोल्पा पुगियो।’ अर्कि मजदुरले भनिन् ‘हामीलाई त मान्छे जस्तो ब्यबहार पनि गरिएन। न खाना न त सजिलो यात्रा भयो।’

उपत्यकातिरका ईट्टाभट्टाबाट एक साता यता जबरजस्त रोल्पा सदरमुकाम लिवाङ र होलेरी पु¥याइएका सबै ३ हजार ४ सय १६ जनालाई आ–आफ्नो पालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको खाने बस्ने जिम्मा स्थानीय सरकारले लिएको भए पनि ब्यबस्थापन गर्न निकै कठिन भएको जनप्रतिनिधिहरु बताउँछन्। वडा पालिकाको जिम्मामा रहेका क्वारेन्टाइन र त्यहाँ भित्रको ब्यबस्थापन निकै कठिन भए पनि स्थानीय तहहरुले सकेको गरिरहेका छन्। 

बालबालिका, महिला र बृद्धलाई सकस
करिब ४ हजार जना बसेको रोल्पाका क्वारेन्टाइनहरु बालबालिका, महिला र बृद्ध मैत्रि छैनन्। बिद्यालय तथा सामुदायिक बनका भवनहरुमा सामूहिक रुपमा राख्दा सम्भावित महिला हिंसाका घटनाहरुको त्रास छ भने बालबालिका र बृद्ध बृद्धालाई अन्य संक्रमणको पनि उत्तिकै जोखिम छ। समुहमा एक जना संक्रमित भएको खण्डमा त्यसले पार्ने भयावह स्वरुपका बारेमा भने कतै चर्चा समेत गरिएको पाइदैन। 

‘क्वारेन्टाइन ब्यबस्थापनमा सकस भएको छ। ईट्टाभट्टाबाट आउनेसंग ओढ्ने ओच्छायाउने कपडा उनीहरुसंगै हुने भएकाले धेरै सजिलो भएको छ।’ रोल्पा नगरपालिका ४ लिवाङका वडा अध्यक्ष नबराज आचार्यले भने ‘यो असहज परिस्थितिमा महिला, बालबालिका र बृद्ध बृद्धा मैत्रि क्वारेन्टाईन सम्भब हुदो रैनछ। सके सम्म ब्यबस्थीत बनाउने प्रयास गरेका छौ।’

रोल्पामा मात्र नभएर देशै भरिका क्वारेटाइनहरु शारिरीक, मानसिक सुरक्षाले मात्र जोखिम पुर्ण नभएर संक्रमणका हिसाबले पनि अत्याधिक जोखिम पूर्ण छन्। त्यसै गरि अन्य दीर्घ रोगी र सामान्य बिरामिहरु पनि संयुक्त रुपमा बस्नु पर्ने बाध्यता भएपछि जोखिम झनै बढेको हो। शुक्रवारसम्मको सरकारी तथ्याङ्क अनुसार ४ हजार ५ सय २५ बेड संख्या रहेको रोल्पामा ३ हजार ४ सय १६ जना क्वारेन्टाइनमा बसेका छन्।

प्रकाशित: १३ वैशाख २०७७ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App