२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच सय ८६ सर्वसाधारण नगर भित्रिए

काठमाडौंबाट घर फर्कने तयारी गर्दै सर्वसाधारण । तस्बिर सौजन्य : गणेशबिक्रम शाही

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घर ल्याउन थालेको छ । विभिन्न कामको सिलसिलामा काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका सर्वसाधारणलाई नगरपालिकाले बसको व्यवस्था गरेर घरसम्म ल्याउन सुरु गरेको हो । बुधबार साँझ काठमाडौंबाट १२ वटा बसमार्फत पठाइएका ५८६ सर्वसाधारण बिहीबार बिहान खोटाङको प्रमुख नाका जयरामघाटमा आइपुगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले उनीहरुलाई होम क्वारेन्टीनमा राख्ने गरी नगरपालिकाले घरसम्म ल्याउने व्यवस्था मिलाएको हो । बिहीबार साँझ पनि १० वटै बसमार्फत नगरबासीलाई ल्याउने तयारी गरिएको मेयर राईले बताए । ‘शहरमा खान पाइएन, भोक परियो, गाउँ लैजानु पर्‍यो भन्दै रुवाबासी गर्ने जनता धेरै छन्,’ मेयर राईले भने, ‘कि खानेबस्ने व्यवस्था गरिदिनु पर्‍यो, नत्र शहरमा बसिरहेका जनतालाई लकडाउन पालना गर भनेर मात्रै नहुने रहेछ ।’

बुधबार पनि नगरपालिकाका ५१ जना घर फर्किएका छन् । ‘लकडाउन’का क्रममा अन्य पालिकाका सर्वसाधारण आफैले बस रिजर्भ गरेर जयराम नाका प्रवेश गरेको नगरपालिकाले जनाएको छ । बिहीबार अन्य स्थानीय तहका ७४ सर्वसाधारण जिल्ला प्रवेश गरेको मेयर राईले बताए । नगरबासीलाई घर पठाउनका लागि काठमाडौंबाट युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजबिक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गरिरहेका छन् ।

१० बुँदे कबुलियतनामा गरेर मात्र घर जाने अनुमती
‘लकडाउन’का बीचमा घर ल्याइएका नगरबासीलाई हलेसी तुवाचुङ नगरपालिकाले १० बुँदे कबुलियतनामा गराइरहेको छ । काठमाडौंबाट नगरपालिका प्रवेश गर्ने नाका जयरामघाटमा स्वास्थ्य परिक्षणसँगै होम क्वारेन्टीन वा नगरपालिकाले तोकेको क्वारेन्टीनमा बस्नका लागि कबुलियतनामामा सहिछाप गराएर मात्र घर पठाउने व्यवस्था गरिएको छ । शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै संक्रमण पनि भित्रिने खतरा भएकाले नाकामा १४ दिनसम्म होम क्वारेन्टीन वा क्वारेन्टीनमा बस्ने कबुलियतनामा गराएर मात्र घर पठाउने गरिएको मेयर इवन राईले बताए ।

शहरबाट घर फर्कने व्यक्तिले अनिवार्य होम क्वारेन्टीन वा क्वारेन्टीनमा बस्ने, घरमा अनिवार्य मास्क लगाउने, सावुन पानीले हात धोएर मात्र खाना खाने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, उमालेको मात्र पानी पिउने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने आचार संहिता पालना गर्नुपर्ने उल्लेख छ ।

खुकुलो नाका  
छिमेकी जिल्ला उदयपुरमा नोबेल कोरोना भाइरस (कोभिड–१९)का १२ जना संक्रमित फेला परेपछि बैसाख ८ गतेदेखि खोटाङको नाकामा कडाई गरियो । उदयपुरमा ठूलो संख्यामा कोरोना भाइरसबाट संक्रमित नागरिक फेला परेपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्तादिनका लागि बन्द गर्ने निर्णय गर्‍यो ।

तर, हाल जिल्ला प्रवेश गर्ने नाकाबाट सर्वसाधारण भित्रिन छाडेका छैनन् । जयराम नाकाबाट रातको २/३ बजेसम्म सर्वसाधारण भित्रिने गरेको हलेसी तुवाचुङ नगरपालिकाको तथ्यांकमा उल्लेख छ । विशेषगरी उदयपुरतिरबाट भित्रिने स्थानीयबाट संक्रमण फैलिने त्रास बढिरहेको छ ।


 

प्रकाशित: ११ वैशाख २०७७ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App