२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

भागेर नेपाल पसेका तीन जनालाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइयो

रौतहट  - भारतबाट भागेर नेपाल पसेका तीन जनालाई फेरि भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। नेपाल र भारत दुवैतिरको सिमानाका सिल गरिएको भनिए पनि दुवै तिरका सुरक्षाकर्मीलाई छक्याउँदै भागेर नेपाल छिरेका तीन युवकलाई रौतहटको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भारतको क्वारेन्टाइनमा पठाएको छ।

भारतको सितामढीबाट आएका तीन जना युवकलाई रौतहटको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। पर्साको वीरगंज महानगरपालिका २३ का सहिद देवानका २५ वर्षका छोरा मुराद आलम, रौतहटको राजपुर नगरपालिका ३ का अब्द्m मसतमका छोरा तारिफ अनवर र रौतहटकै वृन्दावन नगरपालिका ७ को कलिम मियाका छोरा अहमद मिया अनधिकृत रुपमा नेपाल पसेका थिए। रौतहटको सिमानामा पस्न सफल भएपछि तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको बडहर्वामा नियन्त्रणमा लिन सफल भएका थिए।

प्रहरीसितको सोधपुछमा उनीहरु चार जनाको समूहमा रहेको र अर्का एकजना नेपाल छिर्न सफल भएको बताएका छन्। सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिर्न सफल अर्का मानिसको खोजी प्रहरीले गरिरहेको छ। 

भारततिरबाट आएको हुनाले तीन जनै युवकलाई भारतीय एसएसबिसँग समन्वय गरी सितामढी जिल्लाको बैरगनियामा रहेको एसएसबिलाई त्यहीको क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन्। 

सीमामा सशस्त्र प्रहरीको कडा गस्ती हुने गरेको भए पनि एक साथ चार जना दशगजा नाघेर नेपालभित्र पसेको घटनाले सशस्त्र प्रहरीको गस्तीलाई अझ कडा बनाउनु पर्ने देखिएको छ।

प्रकाशित: ९ वैशाख २०७७ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App