४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा रोकिएन जलबिरे पुलको काम

चितवन - लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई  निरन्तरता दिइएको छ। वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो।

मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार १५ मजदुरले अहिले नियमित काम गरिरहेका छन्। मजदुर थप्न नसकिए पनि पहिलेदेखिनै काम गर्दै आएका मजदुरलाई क्वारेन्टाइनमा राखेर काम गराइएको छ। पुलमा अहिले ढलानका लागि सेन्टिङ र रड बाँध्ने काम भइरहेको छ। खनालले भने, नियमित काम गर्न सकेमा र सामग्री पाएमा वैशाखको २०–२२ गते सम्ममा हामी ढलान गर्छौँ। ढलानसँगै सो पुलको बिममा तारले कस्नुपर्ने हुन्छ। वर्षात्अघि यति गरेमा हालसम्म भएको काम सुरक्षित हुने खनालले जानकारी दिए। तार कोलकाताबाट ल्याउनुपर्ने हुन्छ। विगत पाँच वर्षयता नेपालका ४० मिटरभन्दा लामो पुलमा तारले बिममा कस्ने गरी डिजाइन गरेर काम गर्दै आइएको छ। नारायगढ–मुग्लिन सडक फराकिलो बनाइएको भए पनि त्यहाँ रहेका १९ वटा पुल साँघुरा थिए।

सडक नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। पुल भने पाँचदेखि छ मिटरसम्म मात्र फराकिलो रहेका छन्। सडकको पुनःनिर्माण सकिएसँगै चार पुलको निर्माणकार्य शुरु गरिएको थियो। जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माणकार्य सकिए पनि जलबिरे पुलको भने अहिलेसम्म ६२ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ। १३ करोड ९५ लाख रुपैयाँ लागत रहेको जलविरे पुल ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। डिसेम्बर २०१७ बाट निर्माण शुरु गरिएको पुल सम्झौता भएको २१ महिनामा  निर्माण सकिनुपर्ने हो तर निर्माणका क्रममा पटक–पटक डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाइ भएको हो । पुल निर्माण गर्ने स्थान अप्ठ्यारो ठाउँ भएकाले काम गर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको  खनालले जनाकारी दिए।

जलविरे मन्दिरसँगै जोडेर बनाइएको यो पुल निर्माण सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकको दूरी ३०० मिटर घट्ने छ। अहिले यो सडकको दूरी ३६ किलोमिटर छ। राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च छ। दैनिक १० हजार सवारी साधन आवतजावत गर्ने जनाइएको छ। रासस

प्रकाशित: ९ वैशाख २०७७ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App