१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सीमा क्षेत्र उच्च निगरानीमा, दुई हजार बढी सुरक्षाकर्मी तैनाथ

भैरहवा- भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लुकिछिपी आवतजावत गर्ने क्रम रोक्न सीमा क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ। भारत तर्फ दैनिक कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारि २४ घण्टे उच्च सतर्कता बढाइएको छ। नेपाल प्रहरीले र सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले थप जनशक्ति परिचालन गरी सीमा बन्द गरेको छ।

जोखिमसँगै लुकिछिपी नेपाल आउने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ सीमा क्षेत्रमा पर्ने सबै नाका, गोरेटो, जंगल, र खोला क्षेत्रमा निगरानी कडा बनाइ सीमा पूर्ण रुपमा सिल गरिएको छ। सीमा क्षेत्रसहित रुपन्देहीका क्वारेन्टाइन, अस्पताल र बजार क्षेत्रमा पनि प्रहरी परिचालन गरिएको छ। लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न दिनरात सुरक्षाकर्मीको गस्ती भइरहेको छ।

कपिलवस्तु–नवलपरासी–भारतसंग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्लाको सीमा सुरक्षाका लागि दर्जन बढि शसस्त्र प्रहरी बलको युनिटहरु पहिलादेखि नै छन्। अहिले ती युनिटसँगै ५८ ठाउँमा अस्थायी पोस्ट छ। जहाँ झण्डै ८ सय सशस्त्र प्रहरी परिचालन गरि २४ सै घण्टा निगरानी गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए।

पोष्टको हामीले प्रत्यक्ष अनुगमन पनि गरिरहेका छौ, सीमावर्ती क्षेत्रमा पैदल र मोबाइल गस्तीसमेत बढाएको प्रहरी उपरीक्षक पोखरेलले बताए। जनचेतना नभएसम्म सुरक्षकर्मीले मात्र रोक्न नसकिने भएकोले कोरोना संक्रमण फैलिनबाट जोगिन स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य गरी गाउँ गाउँमा जनचेतनाका लागि स्वयंसेवक टिम निर्माण गरि सूचना लिइरहेका छौ। खुला सीमाका कारण गाउँमा आउने आगन्तुक र पहुनाहरुको पहिचानका लागि टिमले जानकारी गराइरहेको छ, चेतना बढेको छ जनप्रतिनिधि र स्थानीय सरकार पनि सकारात्मक छ सहयोग भइरहेको पोखरेलले बताए।

जिल्ला प्रहरी कार्यालयले पनि लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरी त्यस्ता ठाउँमा सुरक्षाकर्मी खटाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार सरकारको निर्णयलाई कार्यान्वयन गर्न जिल्लामा १२ सय बढि प्रहरी फिल्डमा परिचालन गरी सुरक्षा बढाएको बताए। दैनिक जिल्ला भरि ६० बढि अस्थायी चेकिङ पोस्ट, मोबाइल गस्ती, पिकेट, पैदल तथा मोटरसाइकल गस्तीबाट जिल्लाको सुरक्षा व्यवस्थापन गरेका छौ। भारतमा कोरोना संक्रमितको सख्या बढेसँगै सीमा नाका भएर आवतजावत जारी रहे संक्रमण भित्रिन सक्ने सम्भावना बन्द गरि सम्भावित नाकामा चेकपोष्ट राखि सुरक्षा व्यवस्था कडा पारेका छौं। चहलपहल पूर्णरुपमा रोक्न भारतीय सुरक्षा अधिकारीहरुसँग पनि पटकपटक छलफल भइरहेको प्रवक्ता खत्रीले बताए।

छिमेकी सीमावर्ती महाराजगंजमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिनु, भारतमा पनि संक्रमण बढ्दै जानु र नेपालमा पनि भारतबाट आएको नेपालीहरुमा संक्रमण देखिएकोले सीमा क्षेत्रका नागरिक पनि सजग भएका छन्। कोरोना संक्रमण फैलिनबाट जोगिन स्थानीय तहमा सचेतना जोगाउने कार्यहरु पनि भएका छन्।

मुख्य नाका बेलहियामा नेपाली सेनाहरु पनि तैनाथ छन् भने सेनाको मोबाइल टोलीले पनि जिल्लाको गस्ती गरीरहेको छ। भैरहवा क्षेत्रको क्वारेन्टाइनको बाहिरी सुरक्षा समेत सेनाले गरिरहेको छ। रामनगर व्यारेक(गरुण दल) ले विभिन्न कमाण्डमा जिल्ला भर २४ घण्टै सेना तैनाथ गरेको छ। नेपाल–भारत सीमा बेलहिया नाका आवश्यक मालबाहक गाडीका लागि आशिंक रुपमा खोले पनि जिल्लभरिका अन्य सबै नाका सिल छ।

रुपन्देहीको सेमरपानी, भगवानपुर, मैनिहवा, अमवा, बुची बरवा, मदरी, भगवानपुर, मर्चवारको खैरा ठोठरी, कदम्हवा, पैसिया, चन्नी, थुम्हवा र लुम्बिनीको ककरहवा लगायतका सीमावर्ती नाकाबाट भारतीय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ।

जनप्रतिनिधिको साथ
जनप्रतिनिधिहरुले समेत निगरानी बढाएका छन्। जनप्रतिनिधि प्रदेशसभा सांसद सन्तोष पाण्डे, सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु शुक्ला, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव लगायतले लकडाउनलाई प्रभावकारी बनाउन र सीमा सुरक्षाप्रति चासो व्यक्त गर्दै नाकाहरुको अवलोकन पनि गरिरहेका छन्। सीमामा सुरक्षादलसँगै गस्ती गरेर सुरक्षा तैनाथीबारे निरीक्षणका साथै नागरिकको सुरक्षा अवस्थाको बारेमा चासो लिइरहेका छन्।

 

प्रकाशित: ३० चैत्र २०७६ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App