२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असगर अली काण्ड : इसेवाका २१ लाख ग्राहक चिन्तामा

काठमाडौं- अनलाइन पत्रिका काठमान्डु प्रेस डटकममा प्रकाशित समाचार इसेवा सञ्चालक कम्पनी एफवान सफ्ट इन्टरनेसनलले ह्याक गरी हटाएको घटना सार्वजनिक भएसँगै इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे आम चिन्ता बढेको छ।

गत बुधबार उक्त अनलाइनमा प्रकाशित एक समाचार प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका एफवान सफ्ट इन्टरनेसनलका मालिक असगर अलीले न्युज पोर्टल नै नियन्त्रणमा लिई हटाएको खबर सार्वजनिक भएसँगै आम ग्राहकमा इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे चिन्ता बढेको हो। आफूप्रति आलोचनात्मक समाचार अलीले त्यसरी हटाएका हुन्।   

इसेवाका २१ लाखभन्दा बढी ग्राहकले डिजिटल वालेटमा अर्बौं रुपैयाँ जम्मा गरेका छन्। यसरी सार्वजनिक सम्पतिको जिम्मा लिएको कम्पनीले यस्तो अनधिकृत काम गरेपछि आम ग्राहक चिन्तित भएका हुन्। फोन पेको गेट वे पनि सोहि कम्पनीसँग हुँदा ग्राहक चिन्तित बनेका हुन्। उनको कम्पनीले नेपालका धेरै बैंक तथा वित्तिय संस्थाको मोबाइल एप समेत बनाएको छ।  

समाचार भाइरल भएको एक दिनपछि अनलाइन पोर्टलको  डेभलपर रहेको सिरान टेक्नोलोजिज प्रालिले उक्त समाचर वेबसाइटबाटै सुटुक्क हटाएको थियो।

इसेवा र सिरान टेक्नोलोजी दुवै कम्पनी एफवान सफ्ट इन्टरनेसनलका भगिनी कम्पनी हुन्। एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकाल र अलिको दबाबमा  समाचार हटाइएको थियो।

यसअघि मंगलबार सो अनलाइनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका छोराहरू क्रमशः क्षितिज रिमाल र स्वराज पोखरेल, ओम्नी समूहले चीनबाट स्वास्थ्य सामाग्री आयात गर्न पाएको ठेक्कामा संलग्न रहेको समाचार प्रकाशन गरको थियो ।

इसेवाले आफ्नो डिजिटल वालेटमा आम जनसमुदायको अर्बौं रुपैयाँ परिचालन त गरेकै छ, साथै यो इसेवाको अभिभावक कम्पनीका रूपमा रहेको एफवान सफ्ट इन्टरनेसनल विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबारमा सहजीकरण गर्ने भेन्डर कम्पनी पनि हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा शाखाबाट हालै निवृत्त एक अधिकारीका अनुसार प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका अलिसँग सम्बन्धित फर्मले धेरै बैंक र वित्तीय संस्थाका सफ्टवेयर र बेवसाइट र अन्य सेवा विकासमा महत्वपूर्ण भूमिका खेलिरेहको छ। यसले गर्दा  यो विवादास्पद कदमले उनीहरू अरू अनैतिक काममा पनि संलग्न भएको हुन सक्ने देखिएको उनी बताउँछन्।

उनका अनुसार यस्ता क्रियाकलाप भविष्यमा दोहोरिन सक्ने भएकाले ती कम्पनीप्रति आम नागरिकको विश्वास गुम्न सक्ने सम्भावना छ।

यसैरी इन्टरनेट सुशासन विज्ञहरूले यो विश्वासको मात्रै संकट नभई गम्भीर प्रकृतिको अपराध भएको बताएका छन्।

साइबर कानुन विज्ञ बाबुराम अर्याल, यो घटनाले काडमान्डु प्रेस डटकम समाचार सेवाको साइट डेभलपरलाई एफवान सफ्टइन्टरनेसनलले नियन्त्रण गरेको देखाएको बताउँछन्। ‘सरकारले डिजिटल प्रविधि प्रयोगमा जोड दिइरहेका बेला यस्ता दुरुपयोगको समाचार आउनु चिन्ताको विषय हो।’

यो समुहले आम जनसमुदायका महत्वपूर्ण डाटा सुरक्षित छन् भनेर आश्वस्त पार्न सक्दैन भने यसमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने उनको सुझाव छ। 

सामाजिक सञ्जालमा पनि इसेवाप्रति आम नागरिकको आक्रोश देखिएको छ । कतिपयले त इसेवाको एप्लिकेसनलाई आफ्नो मोबाइल फोनबाट हटाउने समेत बताएका छन् ।

‘यो समाचार सार्वजनिक भएपछि मैले ३ वर्षदेखिको इसेवासँगको नाता तोडेको छु’, सन्जय भण्डारीले आफ्ना ट्टिरमा लेखेका छन्। 

 

 

प्रकाशित: २१ चैत्र २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App