२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास फितलो

भारतबाट नेपालतर्फ आईरहेकाहरु स्थानीय । तस्बिर: योगेश/रावल

टीकापुर- टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो भएको छ। त्यहाँ दिनहुँ करीब २ हजारको संख्यामा मानिस ओहोरदोहोर गर्छन्। उनीहरु कसैलाई पनि कोरोना भाइरस भए नभएको बारेमा चेकजाँच गरिदैन।

दुई देशका नागरिकहरु सीमा क्षेत्रमा निर्वाध ओहोरदोहोर गर्दै आएका छन्। यसरी ओहोरदोहोर गर्नेमा नेपाली धेरै छन्। उनीहरु भारतीय सीमावर्ती बजार तिकुनियाँमा दैनिक उपभोग्य लगायतका सामान खरिद गर्न जाने गरेको पाइएको छ। नेपालीको तुलनामा थोरै संख्यामा भारतीय नागरिक नेपालतर्फ आउने गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले टीकापुर नगरपालिकासँगको समन्वयमा त्यहाँ स्थापना गरेको ‘हेल्थ डेस्क’ मा कार्यरत स्वास्थ्यकर्मीले केवल लामो समय भारतमा बसेर घर फर्किएकाहरुको मात्रै स्वास्थ्य अवस्था चेकजाँच गर्ने गरेका छन्। उनीहरु सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने सबै नागरिकको स्वास्थ्य जाँच सम्भव नभएको बताउँछन्। ‘सबै व्यक्तिको स्वास्थ्य जाँच गर्न सम्भव नै छैन’ अहेव मकेन्द्र रोकायाले भने–‘भारतमा बसेर फर्किएकाहरुको मात्रै जाँच गर्ने गरेका छौं।’

स्वास्थ्यकर्मीले कुन व्यक्ति दिनहुँ ओहोरदोहोर गर्ने हो वा कुन व्यक्ति लामो समय भारतमा बसेर फर्किएको हो भन्ने कुरा अनुमानका भरमा छुट्याउँछन्। उनीहरुले छुट्याउने आधारहरु सामान बोकेको र सार्वजनिक सवारी साधनमा यात्रारत व्यक्ति लामो समय भारतमा बसेर फर्किएको हो। उनीहरुले त्यस्ता व्यक्तिको मात्रै स्वास्थ्य जाँच गर्ने गरेका छन्।  

सामान नबोकेका र सार्वजनिक सवारी साधनमा नरहेका व्यक्तिहरुलाई भने स्वास्थ्यकर्मीले कुनै चेकजाँच नै गर्दैनन्। उनीहरु दिनहुँ ओहोरदोहोर गर्ने व्यक्ति भएकाले कोरोना भाइरस भित्र्याउने सम्भावना नरहेको स्वास्थ्यकर्मी आफै ठहर गर्छन्।

भारतका सीमावर्ती क्षेत्रमा कोरोना नदेखिएका कारण दैनिक ओहोरदोहोर गर्ने व्यक्तिको स्वास्थ्य जाँच नगरिएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनले त्यस्ता व्यक्तिहरुलाई सामान्य सोधपुछ मात्रै गर्ने गरिएको जानकारी दिए। ‘सामान्य सोधपुछ गर्छौ’ उनले भने–‘हाम्रो लक्ष्य लामो समय भारतमा बसेर फर्किएकाहरु मात्रै हुन।’

उनले सीमा क्षेत्रमा कोरोना नियन्त्रणका बारेमा भैरहेको प्रयास प्रभावकारी नभएको स्वीकारे। उनले जुन रुपमा चेकजाँचको व्यवस्था हुनुपर्ने हो त्यसो हुन नसकेका कारण गम्भीर अवस्था आउन सक्ने सम्भावना रहेको बताए।

हेल्थ डेस्कमा चार जना स्वास्थ्यकर्मी छन्। उनी मध्ये २ जनालाई सुदूरपश्चिम प्रदेश सरकार र २ जनालाई नगरपालिकाले काजमा खटाएको छ। त्यहाँ कोरोना चेकजाँचका लागि आवश्यक सामग्रीको समेत अभाव छ। स्वास्थ्यकर्मीका अनुसार ज्वरो नाप्ने ‘स्क्यानर गन’ बाहेक अन्य कुनै आवश्यक सामग्री छैन।

स्वास्थ्यकर्मीको अनुमानका भरमा सीमा क्षेत्रमा हुने कोरोना सम्बन्धी चेकजाँचले ठूलो दुर्घटना निम्त्याउने त्रास फैलिएको छ। सीमा क्षेत्रका बासिन्दाहरु कुनैपनि बेला कोरोना भित्रिने सम्भावना रहेको बताउँछन। उनीहरु सीमा क्षेत्रको चेकजाँचलाई प्रभावकारी बनाउनु पर्ने माग गर्छन्।

भारतका विभिन्न ठाउँमा कोरोना संक्रमित व्यक्तिहरु भेटिन थालेपछि त्यसको असर नेपालका सीमावर्ती क्षेत्रमा परेको छ। सीमावर्ती क्षेत्रका बासिन्दा सीमा नाकामा भैरहेको ओहोरदोहोर र स्वास्थ्य जाँचको अवस्थाले झनै त्रसित बनेका छन्।

 

प्रकाशित: ५ चैत्र २०७६ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App