१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

विषाक्त मदिरा कहरः मृतकको संख्या २१ पुग्यो, त्रासमा गाउँले

जनकपुर – दिनभर बच्चाको कोलाहल र मदिराले लठ्ठिएकाहरूको हल्लाले गुन्जिरहने रमदैयाको मुसहरी टोल सुनसान छ। एक साता यता एकपछि अर्को मृत्युका घटनाले टोलमा सबै त्रसित छन्। डरले कतिपयले घर छोडेर आफन्तको गाउँमा बस्न पुगेका छन्, भने अधिकाशं मृतक परिवारलाई सान्तवना दिन घरमै बसिरहेका छन्।

गाउँमै एकजना मात्र १० कक्षा पढेको यो टोललाएई गाजेको छ। देउता रिसाएर घटना भएको भन्दै गाउँलेहरू विहान बेलुका देउताको नाममा पुजापाठमै व्यस्त हुन्छन्। घटनापछि उनीहरू टोलमै रहेको ब्रह्मस्थान र भुइँया महराजको पुजापाठ गरिरहेका छन्। रेडियोमार्फत कोरोना भाइरबारे सुनेका कतिपय स्थानीयहरू यही भाइरस छिरेको भन्ने त्रासले पनि घरबार छोडेर आफन्तकहाँ पुगेको गाउँलेहरू बताउँछन्।

‘सुरूमा हाम्रो देउता रिसाए भनेर हामीले पुजापाठ गर्यौँ। रेडियोमा सुनेर गाउँमा भाइरस पसेको हल्ला भयो। पछि मदिरा पिएर मरेको गाउँका मान्छेहरू भन्छन्,’ वडासदस्य समेत रहेकी तेतरी सदाले भनिन्। करिब एक साता यता एकपछि अर्को मृत्युको घटनाले करिब ७० घर रहेको मुसहर टोलका स्थानीयले बालबच्चालाई समेत आफुभन्दा टाढा जान दिएका छैैनन्। टोलमै रहेको विद्यालय समेत सुनसान छ।

देउता रिसाएको डरले मन्दिर आसपास रहेका फोहोर सफा गरी विद्यालय नजिकै थुपारेका छन्। टोलका दैनिक करिब ६० जना बालबालिका पढ्न आउने विद्यालयमा अहिले मुस्किलले १५ जना पढ्न आएको बाल विकासकी शिक्षिका सुजान यादवले बताइन्।

‘कतियले घर छोडेरै गइसकेका छन्। धेरै जसोले भाइस लाग्ला भनेर बच्चालाई परिक्षा दिन पनि पठाउँदैनन्। टोलमा बस्ने सबै घरमै बस्छन् अन्त कतै जाँदैनन्,’ उनले भनिन्। वडासदस्य तेतरीका अनुसार यहाँका मुसहर समुदायका करिब ९० प्रतिशत व्यक्ति कमाएर खाने र बाँकी पैसाले मदिरा नै पिउने गरेका छन्। अति विपन्न र अशिक्षि यो वस्तीका २÷३  जना युवा कमाउन विदेश गएका छन्, भने विदेश उड्न ऋण नपाएका अधिकांस युवक भारतका विभिन्न ठाउँमा काम गर्न पुगेका हुन्।

‘जनमजदुरीमा काम पाए भने गर्छन् नभए युवाहरू पनि घरमै बस्छन्, वडासदस्य तेतरीले भनिन्, ‘यहाँका ९० प्रतिशतले घर परिवारका लागि भन्दा पैसा विहानैदेखि मदिरामा खर्च गर्छन्।’ घरेलु मदिरा सस्तो पाउनेहुँदा अधिकांश महिला–पुरूषले घरेलु मदिरा नै पिउँछन्।

२१ को मृत्यु, ८ को उपचार हुँदै
विषाक्त घरेलु मदिरा सेवनले धनुषामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतवार जनकपुधाम उपमहानगरपालिका–७ की रामो देवी सदा र घरमै सिकिस्त परेकी उनकै बहिनी रामरती सदाको मृत्युभसँगै संख्या २१ पुगेको हो।

यस्तै होली पर्वको ४ दिनअघि समेत अत्याधिक मदिरा सेवनबाटै क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयाका ४५ वर्षीय दशय महराको मृत्य भएको स्थानीयहरुले दाबी गर्छन्। यद्यपी मदिरा सेवनबाट प्रहरीले ९ जनाको मात्र मृत्यु भएको पुष्टि गरेकोछ। ४७ वर्षीय शत्रुधन मण्डल, ५५ वर्षीय श्रीदेव यादव, २५ वर्षीय इन्द्रजित महरा, ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, ३६ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा, ५० वर्षीय रामप्रसाद यादवको मृत्यु घरेलु मदिर सेवनबाट भएको प्रहरीको पुष्टि छ।

फागुन २८ गते बुधबार होली पर्वका अवसरमा मासुरक्सी खाएका उनीहरूको मृत्यु हुने क्रम बिहीबारदेखि सुरू भएको थियो। यस्तै स्थानीयका अनुसार रमदैयाका रामप्रसाद (बहादुर) यादव, विजय सदा, भुटकुन सदा (झुरूक सदाको नाम सच्याइएको), रंजित यादव र लक्ष्मिनिया गाउँपालिका–६ बगेबाका राम रतन दासको मृत्यु भयो। यस्तै प्रादेशिक अस्पताल जनकपुरका अनुसार जनकपुर उपमहानगरपालिका–७ मुसहरी टोलका मिथिला सदा, बनारसी देवी सदा,  झगरू सदा र जितेन्द्र सदाको मृत्यु भएको हो। मुसहरी टोलका जोगिन्दर सदा र अर्का नाम खुल्न नसकेका दुइ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था समान्य छ। यस्तै मदिरा सेवनले सिकिस्त बनेका रमदैयाका ६ जनाको उपचार भइरहेकोमा दुई जनाको अवस्था जटिल रहेको चिकित्सकले बताएका छन्।

मृतक परिवारलाई जनही ३ लाख राहतको घोषणा


विषाक्त घरेलु मदिरा सेवनले धनुषामा मृत्यु भएका परिवारलाई प्रदेश २ मा  सरकारले ३÷३ लाख रुपैँया राहत दिने घोषणा गरेको छ। मदिरा सेवनले हालसम्म १४ जनाको मृत्यु भइसकेको क्षिरेश्वरनाथ नगरपालि स्थित रमदैया पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरू प्रति समवेदना व्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप ३÷३ लाख रुपैँया दिने घोषणा गरेका हुन्।

मुख्यमन्त्री राउतले घरेलु मदिरा मदिरा विक्री वितरण तथा उत्पादन गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाउदै घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए। प्रदेशलाई  चाडै सरकारले घरेलु मदिरा मुक्त घोषणा गर्ने तयारी गरिरहेको उनले बताए।

प्रकाशित: ३ चैत्र २०७६ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App