२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना नियन्त्रण पूर्वतयारीबारे स्थानीय तहसँग जानकारी माग

काठमाडौं – सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि स्थानीय तहबाट भएको पूर्वतयारीको विवरण मागेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै कोरोना भाइरस नियन्त्रण र रोकथामको पूर्वतयारीको विवरण मागेको हो।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थानीय तहलाई ११ बुँदे निर्देशन दिएको केही दिनमै सरकारले पूर्वतयारीको बारेमा सोधेको हो। मन्त्रालयका सहसचिव वसन्त अधिकारीले कोरोना रोकथाम र नियन्त्रणमा उच्च सतर्कता अपनाई आवश्यक तयारी गर्न मन्त्रालयबाट यसअघि पटकपटक सजग गराइसकिएकाले त्यस विषयमा नगरपालिका/गाउँपालिकाबाट हालसम्म भएका कार्यविवरण प्रतिवेदन पठाउन भनिएको बताए। मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी तयारी र देखिएका समस्याको विषयमा मन्त्रालयमा जानकारी गराउनसमेत भनेको छ।

मन्त्रालयले स्थानीय तहलाई लेखेको पत्रमा विभिन्न २१ वटा तयारीका रुपमा बुँदागत रूपमा सोधिएको छ। जसअनुसार विपद् व्यवस्थापन समितिको बैठक बसे वा नबसेको, विदेशबाट फर्किएका व्यक्तिको निगरानी राख्ने संयन्त्र भए नभएको, रिक्स रेस्पोन्स टिमको गठन र परिचालन, सीमानाका र एयरपोर्टमा थर्माेमिटरलगायतका उपकरणको व्यवस्था भए नभएको, साझेदार संस्थाको परिचालन भए/नभएको, शंकास्पद व्यक्तिलाई रेफर गर्ने प्रावधान भए नभएको विषयमा सोधेको छ। त्यसैगरि शंकास्पद व्यक्तिलाई जाँच गर्ने अस्पताल, ल्याब भए नभएको, आइसोलेसन क्षेत्र तोके/नतोकेको, अत्यावश्यक सामग्री अभाव र कालाबजारी हुन नदिन बजार अनुगमन भए नभएको, अन्र्तराष्ट्रिय सीमानाकामा आवतजावत गर्नेको विवरण राखिएको नराखिएको, सरसफाइ, स्यानिटाइजर माक्सको प्रयोगको विषयमा जनचेतना दिने काम भए नभएको, क्वारेन्टाइन एरिया तोके/नतोकेको विवरणसमेत सरकारले स्थानीय तहसँग माग गरेको छ।

स्वास्थ्यकर्मीलाई अति जरुरी कामबाहेक बिदा नछोड्ने निर्णय गरे नगरेको, स्थानीय तहको कोरोना प्रतिर्कायोजना तयार गरे नगरेको, सबै विद्यालयमा चैत ५ भित्र सम्पन्न हुने गरी परीक्षा सञ्चालन गरे नगरेको, दैनिक प्रतिवेदन र समीक्षा गर्ने गरे नगरेको र एम्बुलेन्स तयारी अवस्थामा राखे/नराखेको विषयमा समेत स्थानीय तहसँग सोधेको छ।

स्थानीय तहबाट सबै विवरण प्राप्त भएपछि सरकारलाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गर्न सहज हुने र यसअघि दिइएका निर्देशन पालना भए/नभएको समेत जानकारी हुने भएकाले पूर्वतयारीको विवरण माग गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App