७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बेरोजगारलाई सिप सिकाउदै स्थानीय तह

तस्बिर : विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- शुक्लागण्डकी नगरपालिका–८ वडा कार्यालयले २० जना युवालाई प्लम्बरको तालिम सञ्चालन गरेको छ। कान्तिपुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा प्लम्बरसँगै ४० जना महिलाले सिलाइकटाई र २०/२० जनाले बेमौसमी तरकारी र च्याउ खेतीसम्बन्धि सिप सिक्दैछन्।

बेरोजगार युवा र फुर्सदिला महिलालाई लक्षित गरि तालिम सञ्चालन गरिएको हो। सिप सिकाएर युवालाई दक्ष तथा आत्मानिर्भर बनाउन तालिम दिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी बताउँछन्। ‘पाँच वर्षभित्र वडाका एक घरमा एक प्राविधिक जनशक्ति तयार पार्ने लक्ष्य छ’, उनी भन्छन्, ‘त्यसैले तीन वर्षदेखि छोटो अवधिको सिपमूलक तालिम निरन्तर चलाइरहेका छौँ।’   

पछिल्ला वर्षहरुमा जिल्लाका स्थानीय तहले सिपमूलक तालिममा जोड दिएका छन्। जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीन वर्षयता विभिन्न खाले सिपमूलक तालिम भइरहेका छन्।

ऋषिङ गाउँपालिकाले यहीँ वर्ष एक सय जनालाई सवारी चालकको तालिम दिएको छ। तालिम लिएकाहरु सवारी चालक अनुमती लिने प्रक्रियामा छन्। गाउँपालिकाको ५ नम्बर वडामा १२ जना फुर्सदिला महिला तथा पुरुषलाई मुढा बनाउने तालिम दिएको छ। यो वर्ष प्लम्बर, हेयर कटिङ, चप्पल बनाउने, हाते कडाई, चुरा पोते बनाउने जस्ता सिपमूलक तालिम दिने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। ‘बजारको माग अनुसारको जनशक्ति तयार गर्न सिप सिकाउदैछौँ’, उनले भने, ‘दक्ष भएपछि काम सहजै पाउन सकिन्छ।’ तालिमको सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न अनुदान समेत उपलब्ध गराउने उनले सुनाए।  

प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाका अनुसार म्याग्दे गाउँपालिकाले एक सय जनालाई १० महिने मेसन तालिम दिदैँछ। ‘बजारको मागमा आधारित तालिम दिन खोजेका हौँ’, उनले  भने। विगतदेखि नै सिपमूलक तालिम दिइए पनि सदुपयोग नगर्ने प्रचलन रहेको उनको भनाई छ।

भिमाद नगरपालिकाले २५/२५ जनालाई इलेक्ट्रीसियन र प्लम्बरको सिप सिकाउन आवदेन खुलाएको छ। तर, यहाँका युवामा त्यति इच्छाशक्ति देखिएको छैन। प्रमुख प्रशासकिय अधिकृत थमनबहादुर थापा भन्छन्, ‘सिप सिकाएर दक्ष बनाउन खोज्दा युवाहरु इच्छुक पाइएन। बजारमा हामीले सिकाउने सिपको माग छ। त्यही कामबाट भारतीय कामदारले महिनाको  लाखौँ कमाउँछन्। यहाँका युवाहरुमा सिक्ने चाहाना देखिन्न। तालिम लिनलाई पनि सेवासुविधा खोज्ने प्रवृत्ति भयो।

जिल्लाका १० वटै स्थानीय तहले फुर्सदिला महिलालाई आत्मानिर्भर गराउन सिलाईकटाई, व्यूटिसियन, वातावरणमैत्री झोला बनाउने, ढाकाको कपडा बुन्ने, गुडिया, चप्पल, कृष्टलका माला बनाउने लगायत हस्तकलाका तालिम दिएका छन्। पुरुषलाई सवारी चालक, तरकारी खेती, मेसन, प्लम्बिङ, इलेक्ट्रिसियन लगायतका तालिम दिइन्छ। यस्तै, कृषी गर्न चाहानेलाई कुखरापालन, भैसीपालन, बंगुरपालन सम्बन्धि तालिम दिने गरिएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७६ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App