५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुस्ताबासी भन्छन्ः 'अब कुनै बहानामा काम रोकीनु हुन्न'

नदीमा पुल नहुँदा डुङ्गामा नारायणी तर्दै स्थानीयबासी । तस्बिर/रेखा

नवलपरासी (सुस्ता)- बिगत पाँच वर्षदेखि अलपत्र परेको सुस्ताको झोलुङ्गे पुल निर्माणले गति लिएको छ। नवलपरासीको सुस्ता गाउँपालिक-५ स्थित नारायणी नदीमा निर्माण गर्न लागीएको झोलुङ्गे पुलका लागि अहिले धमाधम पायलिङ्गको काम चलीरहेको छ।

आयोजनाको मुख्य ठेक्केदार त्रिसुली आश्रय जेभिले तीन वर्षमा सक्ने भनिएको आयोजना पाँच वर्षसम्म पनि अलपत्र पारेपछि सस्पेन्सन ब्रिज डिभिजनले ठेक्का तोड्ने चेतावनी दिएको थियो। मुख्य ठेक्केदार त्रिसुलीले काम नगरेपछि ज्वाइन्ट भेन्चरमा रहेको आश्रय निर्माण सेवाले गत पुसदेखि निर्माणको काम अगाडी बढाएको हो। दुई महिनामा उसले ७५ वटा पायलीङ्ग गरेको छ। त्यसअघि त्रिसुलीले ४ वर्षमा जम्मा ४० पायल धसाएको थियो।

नारायणी वारीको ठाडी घाटदेखि पारी सुस्ता घाटसम्मको १ हजार ५ सय७१ मिटर लम्बाइको झोलुङ्गे पुलका लागि कुल २ सय २० पायलिङ्ग गर्नु पर्नेछ। त्यसमध्ये हालसम्म १ सय १५ वटा पायल धसाइएको आश्रय निर्माण सेवाका इन्जिनीयर अशोक मण्डलले बताए। पायलिङ्ग सकिएपछि त्यसको टेष्ट गरी क्याप लगाउने र पिल्लर निर्माणको काम सुरु हुनेछ।

झोलुङ्गे पुलका लागि दश वटा टावर र ४ वटा एङ्करेज निर्माण हुनेछ। सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका ओभरसियर नरेश शाहीका अनुसार प्रत्येक टावरमा बाह्र वटा पायल धसाउनु पर्छ। एङ्करेजमा २५ वटा पायलिङ्ग हुन्छ। पछिल्लो दुई महिनामा छैठौं टावरका लागि पायल धसाउने काम सकिएको ओभरसियर शाहीले बताए। झलुङ्गे पुलकालागि दुई वटा ओपन फाउण्डेशनसहित जम्मा १६ वटा फाउण्डेशन तयार हुनेछन्।

सुस्ता गाउँपालिका-५ स्थित ठाडी घाटबाट नारायणी पारीको सुस्ता घाटसम्म १ हजार ५ सय ७१ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि ४ वर्षअघि नै ठेक्का सम्झौता भएको हो। २०७२ को असोजमा यो पुलको ठेक्का त्रिसुली आश्रय जे.भि कन्स्ट्रक्सनले पाएको थियो। यसको लागत २३ करोड ६५ लाखमा (भ्याट बाहेक) ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुरुप २०७५ को असोजमा पुल निर्माण गरीसक्नु पथ्र्यो। तर सम्झौताको ४ वर्षसम्म त्रिशुलीले करिब ४ प्रतिशतको हाराहारीमा मात्रै काम गर्यो।

त्रिशुलीले ४० वटा पायल धसाएर काम अलपत्र छोडेपछि झोलुङ्गे पुल विभागले उसलाई चेतावनी दिएको थियो। मुख्य ठेक्केदार त्रिशुली चरम आर्थिक संकटमा पुगेपछि ज्वाइन्ट भेन्चरमा रहेको आश्रय निर्माण सेवाले गत पुसदेखि मुख्य जिम्मेवारी लिँदै म्याद थपको मागसहित डिभिजनमा पत्राचार गरेको छ। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौका योजना प्रमुख ई.कुमार थापाले पछिल्लो समय आश्रयले प्रतिवद्धता अनुरुप फिल्डमा काम गरीरहेकाले खरीद नियमावली अनुरुप म्याद थपको तयारी भइरहेको बताए। आश्रयका सञ्चालक सन्तोष शाहले दुई वर्षमा पुल निर्माण सम्पन्न गर्न सकिने बताए पनि डिभिजनले भने एक वर्ष म्याद थपको तयारी गरेको बुझीएको छ।

कुनै बहाना काम रोकीनु हुन्न : सुस्ताबासी
ढिलै भएपनि पुल निर्माणले गती लिएपछि सुस्ताबासी उत्साहीत भएका छन्। ‘यसअघि बन्दैन की भन्ने चिन्ता थियो। अहिले काम धमाधम चलीरहँदा अब पुल बन्ने भयो भन्ने आशा पलाएको छ’ सुस्ताका स्थानीय ओमप्रकाश जैसवालले भने। सुस्ताबासीले वषौदेखि भारतीय ज्यादतीसँगै नारायणीको कहर सहेको भन्दै उनले अब पुल निर्माणमा कुनै ढिलासुस्ती वा गडबडी गर्न नदिन आफूहरु चनाखो भएर बसेको बताए।

तीनतिर भारतीय जमीनले घेरीएको सुस्तालाई पश्चिममा आफ्नै भूमिसँग नारायणी नदीले छुट्याएको छ। त्यही नदीमा पुल नहुँदा सुस्ताबासी वर्षौदेखि डुङ्गामा जोखीमपूर्ण यात्रा गर्न बाध्य छन्। नदी आरपार क्षेत्रको करिब साढे दुई किलोमिटर दुरी पार गर्न हिउँदमा त्यती समस्या नभएपनि बर्षामा भने ढुङ्गाको यात्रा जोखीमपूर्ण र कष्टकर हुन्छ।

सुस्ताका बालबालिकाहरु सात कक्षादेखिमाथि पढ्न भारतीय स्कुल जानुपर्छ। काठका पुराना डुङ्गामा दिनहुँ स्कुल आउजाउ गर्न सम्भव नहुने भएकाले बाध्य भएर आफ्ना बालबच्चालाई भारत पठाउनु परेको सुस्ताका स्थानीय कमल हरीजनले बताए। धेरै वर्षसम्म सुस्ताबासी पुल बन्ने आशमा बसेको भन्दै हरीजनले भने कुनै पनि हालतमा निर्माणमा ढिलाई गर्न नहुनेमा जोड दिए। नारायणीमा पुल नहुँदा सुस्तामा उत्पादित उखुँ, भेली, तोरी, मसुरो, तरकारीले समेत बजार पाउन सकेको छैन।

 

प्रकाशित: १४ फाल्गुन २०७६ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App