५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जनशक्ति अभावमा टेस्ट ट्यूब बेबी सेवा अलपत्र

काठमाडौं – दक्ष जनशक्ति अभावमा प्रसुति गृहमा पाँच वर्षदेखि टेस्ट ट्यूब बेबी सेवा अलपत्र परेको छ। अस्पतालको पुरानो भवनमा रहेको उक्त सेवा २०७२ सालको भूकम्पले भवन भत्केपछि बन्द भएको हो। यसका साथै उक्त सेवा सञ्चालन गर्ने एक दक्ष चिकित्सकको अवकाश भएको थियो। पुरानै भवनमा अस्पतालले सेवा सञ्चालनको प्रयास गरेपनि दक्ष जनशक्तिको अभावमा प्रभावकारी सेवा नभएपछि अहिले अलपत्र परेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

अहिले अस्पतालको नर्सिङ भवनमा सेवाको लागि ठाउँ र उपकरण तयारी अवस्थामा राखिएको छ, तर जनशक्ति नभएपछि सेवा सुरु हुन नसकेको अस्पतालका निर्देशक जागेश्वर गौतमले जानकारी दिए। उनकाअनुसार अस्पतालले एक चिकित्सकलाई एक बर्से फेलोसिप तालिमको लागि अध्ययन विदा दिएको छ। अध्ययन गरेर आएकी डाक्टर भावा मल्ल अस्पताल छोडेर निजी अस्पतालमा गएकी छन्। डाक्टर भावा अध्ययन गरेर आएपछि सेवा सुचारु हुने अपेक्षा गरिएको थियो तर उनी निजि अस्पतालमा गएपछि सेवा सुचारु हुन नसकेको निर्देशक गौतमले जनाए।

अहिले अस्पतालमा भवन र सेवाको लागि आवश्यक उपकरण भएपनि जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको निर्देशक गौतमको भनाइ छ। यो सेवाका लागि अस्पतालले तालिम प्राप्त जनशक्ति खोजिरहेको र जनशक्ति हुन वित्तिकै टेस्ट ट्यूब बेबी सेवा सुचारु हुने उनी बताउँछन्। अब तालिम दिएर सेवा सुरु गर्ने पक्षमा अस्पताल नरहेकाले जनशक्ति पाएपछि मात्रै सेवा सुरु गरिने निर्देशक गौतमले प्रष्ट पारे। छिटो सेवा सुचारु गर्नका लागि अध्ययन सकेर आएका चिकित्सक सम्पर्कमा आएमा सहज हुने उनले बताए।

सरकारी अस्पतालमा टेस्ट ट्यूब बेबी सेवा निजीमाभन्दा सस्तो हुने भएकाले विपन्न परिवारलाई सहज हुने अपेक्षा थियो। तर जनशक्ति अभावले सेवा सुचारु नहुँदा सर्वसाधारणहरू सेवाबाट बञ्चित भएका छन्। अस्पतालकाअनुसार टेस्ट ट्यूब बेबी सेवाबाट प्रसुति गराउँदा दुई लाख ५० हजार रुपैयाँ खर्च हुने गर्दछ। त्यहि सेवाका लागि निजि अस्पतालमा भने तीन लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। टेस्ट ट्यूब बेबी सेवा सुचारु भएदेखि अस्पतालमा वार्षिक दुई सय ५० जनासम्मले सेवा लिने गरेको भएपनि अहिले लामोसमदेखि बन्द हुन मर्कामा परेको अस्पतालको भनाइ छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App