४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लिवाङमा करोडौ लगानीमा आधुनिक कारागार बन्ने

तस्बिरःकारागार निर्माणका लागि तयार गरिएको नक्सा

रोल्पा - रोल्पामा ४२ करोड बढीको लगानीमा आधुनिक कारागार बन्ने भएको छ। १.४ हेक्टर क्षेत्रफलमा बन्ने उक्त कारागार सदरमुकाम लिवाङ बजारभन्दा ५ किलोमिटर टाढा रेउघामा बनाइने भएको हो। स्थानीयहरुले निशुल्क दिएको ४० लाख मुल्य बराबरको २८ रोपनी र केहि ऐलानी जग्गामा उक्त कारागार तयार हुनेछ।

३ सय ५० कैदी अट्ने गरी बनाउन थालिएको रोल्पा कारागारमा २ सय पुरुष, १ सय महिला र गम्भिर प्रकृतीको अपराधका दोषी अटाउने छन्। तीन चरणमा बनाइने उक्त संरचनाको नक्साका बारेमा सुरक्षा निकायका प्रमुख बिचमा छलफल भएर अन्तिम रुप दिइएको छ।

शुक्रवार जिल्ला प्रशासन रोल्पामा आयोजित एक कार्यक्रममा आईएफआईडी कन्सल्टेन्सीका ईन्जिनियर नरेश सिबाकोटीले नक्सा डिजाईनको अन्तिम रुप प्रस्तुत गरेका थिए। उनको नक्सा डिजाईन प्रस्तुतिका बारेमा सुरक्षा निकायका प्रमुखहरुले सुधारका लागि बिभिन्न सुझाव दिएका थिए।

पुरानो र जीर्ण अबस्थामा रहेको रोल्पा कारागार गतिलो बन्ने भएपछि यहाँका सुरक्षा निकाय पनि खुसी भएका छन। ‘कारागारको आधुनिक र बलियो भवन भएपछि कैदिलाई पनि सहज हुन्छ भने सुरक्षा निकायलाई पनि जोखिम कम हुन्छ।’ रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले बताए। उनि जस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल पनि नयाँ कारागार तयार भए पछि सहज हुने बताउछन्।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार स्थानीयहरुले साढे २८ रोपनि जग्गा निशुल्क दिएपछि कारागार निर्माणको प्रकृया अगाडि बढेको हो। ढकालले भने ‘रोल्पा नगरपालिका २ रेउघाका स्थानीयले निशुल्क जग्गा दिएपछि कारागार निर्माणको सुरुवाती काम हुँदै छ।

प्रकाशित: १८ माघ २०७६ ०६:२१ शनिबार

आधुनिक_कारागार रोल्पा लिवाङ