८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

गैरकानुनी क्रसरसामु सरकार निरीह

गैरकानुन रूपमा सञ्चालन हुँदै आएको महोत्तरीको रातु खोलास्थित क्रसर उद्योग। तस्बिर: मिथिलेश/नागरिक

लहान – पुस २९ गते जनकपुरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गरेको सगरमाथा संवाद शृंखलामा मुख्यमन्त्री लालबाबु राउत गद्दी क्रसरले मनलाग्दी गरिरहे पनि नियमन तथा कारबाही हुन नसकेको भन्दै कड्किए। ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। दोहन रोक्नेलाई टिपरले किचेर मारिन्छ । र हामी मूकदर्शक हुन्छौं,’ उनले भने।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले माघ पहिलो साता प्रदेश २ मा कानुनी हैसियत बेगर सञ्चालित क्रसर उद्योग बन्द गराई जानकारी दिन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसहित पत्राचार गरे। तर सिरहा, धनुषा र महोत्तरी जिल्लामा मन्त्री यादवको निर्देशन कार्यान्वयन त के सुनुवाइसमेत भएन।

यी दुई दृश्यले यहाँ सञ्चालित क्रसर उद्योगहरूको दबदबा कति बलियो छ भन्ने देखाउँछ। क्रसर माफियासामु सरकार लाचार देखिएको छ।

कानुनी हैसियत बेगर सञ्चालनमा रहेका महोत्तरीका सबै क्रसर उद्योग बन्द गराइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। गैरकानुनी रूपमा सञ्चालित क्रसर उद्योगले स्थानीय खोला–नदीबाट अवैध उत्खनन गरिरहेको ठहर गर्दै जिल्ला समन्वय समितिको बैठकले क्रसर सञ्चालन गर्न रोकेको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनपछि अनुगमन समितिको बैठक बसेर स्थानीय तहलाई आफ्नो क्षेत्रका क्रसरको विवरण, स्टक र अनुमतिपत्रलगायत कागजातसँगै मापदण्ड पूरा गरे–नगरेको प्रमाणित गरी नपठाएसम्म क्रसरहरू बन्द गर्ने निर्णय गरिएको प्रजिअ खत्रीले बताए।

धनुषाका जिल्ला समन्वय समितिका संयोजक रामदेव यादवका अनुसार जिल्लाका सम्पूर्ण क्रसरलाई बन्द गराउन प्रहरी प्रशासनलाई जानकारी गराइसकिएको छ। तत्काललाई सबै क्रसर उद्योग बन्द गरी स्थानीय तहलाई क्रसरको विवरण पेस गर्न पत्राचार गरिएको उनले बताए। मापदण्ड पूरा भए–नभएको, स्टकलगायत विवरण यकिन भएपछि मात्र फेरि अर्को निर्णय हुने उनले बताए।

सिरहा जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र ठाकुरका अनुसार प्रदेश सरकारको निर्देशन आउनुअघि नै यस जिल्लाको प्रहरी–प्रशासनले गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द गराइसकेका थिए। तर बाहिर देख्दा बन्द भएको भनिए पनि व्यवहारमा खोला उत्खननको बेथिति अझै नहटेको उनले बताए। ‘स्थानीय तहहरू हामीलाई टेर्दैनन्। आफूखुसी उत्खनन गर्छन्। गरिरहेका छन्,’ उनले भने।

स्थानीय तहले नदी पैदावर पदार्थ ठेक्का लगाउँदा सबैले देखिने गरी ठेक्का लिने फर्म तथा व्यवसायीको नाम, ठेक्का अंक, परिमाण साइनबोर्ड राखेर प्रत्येक १५/१५ दिनमा उत्खनन गरेको परिमाण नगरपालिकाबाट प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउनुपर्ने व्यवस्था छ। तर सिरहालगायत जिल्लामा स्थानीय तहले आफूखुसी खोला–नदी दोहन गर्ने–गराउने प्रवृत्ति व्यापक छ।

सर्लाही जिल्लामा २४ वटा क्रसर उद्योग दर्ता छन्, जसमध्ये पाँचवटाको लगत कट्टा (दर्ता खारेज) भइसकेको छ। १९ वटा क्रसर उद्योगहरू अझै सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र गुप्ताले सञ्चालनमा रहेका सबै उद्योग कानुनी रहेको दाबी गरे।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर शाहीका अनुसार यहाँका सबै क्रसर कानुनी हैसियतमै सञ्चालन हुँदै आएका छन्। अनुगमन त गरिसकेको अवस्था छैन तर सबै क्रसर कानुनी रूपमै सञ्चालित छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार प्रदेश सरकारबाट क्रसर बन्द गराउने कुनै पत्र प्राप्त भएको छैन। अहिलेसम्म जिल्लाका कुनै पनि क्रसरलाई बन्द नगराएको उनले बताए। ‘विवरण मागेका छौं,’ उनले भने, ‘विवरण आइसकेपछि सोहीअनुसार प्रक्रिया अघि बढाइन्छ।’

बारा जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहका अनुसार जिल्लामा सञ्चालित क्रसरहरूले मापदण्ड पूरा गरे– नगरेको, दर्ता प्रमाणपत्रलगायत कागजात स्थानीय तहमार्फत माग गरिसकेका छौं। समन्वय समितिको बैठक बसेर स्थानीय तहलाई आफ्नो क्षेत्रका क्रसरको विवरण, स्टक र अनुमतिपत्रलगायत कागजातसँगै मापदण्ड पूरा गरे–नगरेको प्रमाणित गरी पठाउन पत्राचार गरेको सिंहले बताए। तत्काललाई खोला–नदीको उत्खनन बन्द गरिएको उनले बताए।

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सम्बन्धित पक्ष गैरजिम्मेवार हुँदा क्रसर उद्योगले प्राकृतिक स्रोतको दोहन गरेको बताए। ‘मापदण्डविपरीत सञ्चालन भएका क्रसर अब कसैको पनि संरक्षणमा चल्न पाउँदैन,’ उनले भने, ‘अवैध उत्खनन कडाइका साथ रोक्छौं ।’ प्राकृतिक स्रोतको अनाधिकृत दोहन रोक्न आठवटै जिल्लाका मापदण्डविपरीतका क्रसर उद्योग रोक्न प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको उनले दोह-याए।

अधिकतर क्रसर गैरकानुनी
महोत्तरी, धनुषा, सर्लाही, बारा, रौतहट र सिरहा जिल्लामा सयभन्दा बढी क्रसर तथा बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छन्। तीमध्ये अधिकतर गैरकानी रूपमा सञ्चालन हुँदै आएका छन्। कच्चा पदार्थको स्रोत, स्टक, मापदण्ड, नवीकरणलगायत कानुनी प्रावधान पूरा नगरी सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गराउन प्रदेश सरकारको निर्देशन, जिल्ला समन्वय समितिको निर्णय हुँदा पनि बारा, सर्लाही र रौतहटमा बेरोकटोक क्रसर सञ्चालन हुँदै आएका छन्। महोत्तरी र धनुषाका क्रसरहरू पनि लुकिछिपी सञ्चालन हुँदै आएका छन्। सिरहा र सप्तरीमा खोला–नदीहरूमा गैरकानुनी रूपमा उत्खनन हुँदै आएको छ।

प्रकाशित: १८ माघ २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App