६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लाङटाङमा बेपत्ता विद्यार्थीको यसरी हुँदै छ खोजी (फोटो फिचर)

सिन्धुपाल्चोक - लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्दारकर्ता पु-याइएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाको अगुवाइमा विद्यार्थी बेपत्ता भएको भनिएको निकुञ्जमा पर्ने नुवाकोट जिल्लाको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्दारकर्ता पु-याइएको हो। हेली एभरेष्टको हेलिकप्टरबाट सोमबार मध्याह्नतिर चार उद्दारकर्ता पु-याएर लामा राजधानी फर्किएका छन्।

हेलम्बु गाउँपालिका–१ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौँका जापान लामा नुवाकोटको घ्याङफेदी आसपासबाट शुक्रबारदेखि बेपत्ता छन्। दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईँकुण्ड घुमेर उनीहरु हेलम्बु फर्कँदै थिए।

गोसाईँकुण्ड घुम्न जाने योजना बनाएर उनीहरु पुष २९ गते हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। बुधबार गोसाईँकुण्ड गएका उनीहरु फर्केर घ्याङफेदीस्थित फेदी लजमा वास बसेका थिए। वाङगेलले शुक्रबार बिहान ७ बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए। सोही दिन बिहान ९ बजेतिर उनीहरु घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरु सम्पर्कविहीन छन्।

स्थानीयका अनुसार शनिबार अबेरसम्म घोप्टेफेदी आसपास कोही कराइरहेको आवाज आइरहेको थियो। भारी हिमपात हुनुका साथै बाक्लो हिँउ जमेकाले स्थानीय त्यहाँ जान सकिरहेका थिएनन्। शनिबार हेलिकप्टरबाट खोजी प्रयास भए पनि खराब मौसमले अवतरण सम्भव भएन। आइतबार पुनः हेलिकप्टरबाट खोजी गर्दा हराइरहेका भनिएको स्थानमा कोही फेला परेनन्।

वाङ्गेलको गाउँ हेलम्बु, मेलम्चीघ्याङबाट चार स्थानीय उद्दारकर्ता पैदल हिँडेरै नुवाकोटको ठाडेपाटी पुगेका थिए। बाक्लो हिउँ जमेकाले हिँड्न नसकेपछि उनीहरुले अध्यक्ष लामालाई फोन गरेका थिए। तत्काल हेलिकप्टर लिएर ठाडेपाटी पुगेका शेर्पाले त्यहाँबाट उद्दारकर्तालाई घोप्टेफेदी पु-याएर झारेका थिए। ‘घोप्टेफेदीबाट १० जनाको समूह पनि खोजीका लागि हराएको भनिएको स्थलतिर अघि बढिरहेको छ,’ अध्यक्ष लामाले भने।

उनका अनुसार केही दिनलाई पुग्ने रसद्पानी बोकेर उद्दारकर्ता खोजीमा जुटेका छन्। घोप्टेफेदी र आसपास क्षेत्रमा हिउँको पहाडै थुप्रिएको शेर्पाले बताए। ‘होटल, लज आधा पुरिएका छन्,’ उनले भने।


(सबै तस्बिर साैजन्यः निमाग्याल्जेन लामा)

प्रकाशित: ६ माघ २०७६ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App