बारा - महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा माघे सङ्क्रान्तिका दिन बुधबार मात्र १० लाखभन्दा बढी श्रद्धालुले दर्शन गरेका छन् भने २५ हजारभन्दा बढी बोकाको बलि दिइएको छ। ५ वर्षपछि गत मंसिरमा लागेको मेलामा दर्शन गर्न छुटेका र भाकल गरिएका पशुको बली दिन नसकेका श्रद्धालुले माघे सङ्क्रान्तिका दिन गढीमाईको दर्शन तथा बली दिएका हुन्।
गत मंसिर १७ गते पञ्चबलि दिएपछि पाँच हजारभन्दा बढी राँगाको बलि दिइएको र १८ गतेसमेत तीन लाखभन्दा बढी बोकाको बली दिइएको मन्दिरका पुजारी शिव चौधरीले जानकारी दिए। उनका अनुसार सो दिन बोकाबलि दिन नसकेका श्रद्धालुले बुधबार माघे सङ्क्रान्तिको अवसरमा बली दिइएको हो।
बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुरलगायत नेपालका विभिन्न जिल्ला र भारत बिहारका मोतिहारी, बेतिया, भागलपुर, सितामढी, मुजफ्फरपुरका साथै उत्तरप्रदेश र बंगालका विभिन्न जिल्लाबाट भाकल पूरा भएका श्रद्धालु पशु बलि दिन आउने गरेको पुजारी चौधरीले बताए। गढीमाईमा बोका बलि दिन ल्याएका भारत बिहार मोतिहारीका रामजी प्रसादले गढीमाईसँग मागेको भाकल पूरा भएपछि मंसिर १८ गते घरायसी समस्याले आउन नसकेकाले माघे सङ्क्रान्तिको दिन लागेको मेलामा आएको सुनाए।
एकै दिन यति ठूलो संख्यामा श्रद्धालु आएपछि व्यवस्थापनमा हम्मे हम्मे परेको सुरक्षाकर्मीले बताएका छन्। बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले एकैचोटि गढीमाई मन्दिरमा लाखौं श्रद्धालु पुगेपछि उनीहरूलाई व्यवस्थित तरिकाले दर्शन गराउन समस्या भएको जानकारी दिए। खासगरी गढीमाई मन्दिरका लागि आएका सवारीसाधनले गर्दा ट्राफिक प्रहरीलाई समस्या परेको प्रहरी उपरीक्षक खनालले बताए। उनले भने, ‘बरियारपुर–कलैया, कबही गोठ–बरियारपुर, बरियारपुर–कोल्हबीलगायत बरियारपुरलाई जोड्ने अधिकांश सडकहरूमा सवारी जामले श्रद्धालुलाई सास्ती पु¥याएको गुनासो आएको छ।’
प्रकाशित: २ माघ २०७६ ०३:०७ बिहीबार