२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विदेशीसँग फेसबुकमा च्याट गर्दै हुनुहुन्छ?

काठमाडौं – तपाइको फेसबुकमा कोही विदेशी साथी छन् ? अथवा विदेशी नागरिकलाई साथी बनाएर सामाजिक सञ्जालमार्फत कुरा गर्दै आउनुभएको छ ? यदी त्यसो हो भने ख्याल गर्नुहोला, ती व्यक्तिले तपाइमाथि नै अपराध गर्न सक्छन्। विदेशी नागरिकको नाममा ‘नक्कली आइडी’ बनाएर फसाउने समूह पछिल्लो समय सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

केही युवाहरूको समूहले साथी बनाउन अनुरोध पठाउने र सामाजिक सञ्जालमार्फत नजिक भएर पैसा लुट्ने गरेका छन्। ‘सामाजिक सञ्जालमार्फत फसाउने गिरोह सक्रिय भइरहेको छ,’ केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जका प्रवक्ता बेलबहादुर पाण्डेले भने, ‘यदी कोही विदेशी नागरिकले सामाजिक सञ्जालमा विभिन्न आश्वासन देखाएर तपाइसँग पैसा वा सूचना मागेको छ भने नदिनुहोस्।’

उनका अनुसार नेपालीले नै विदेशीको फेसबुक प्रोफाइल बनाएर फसाउने काममा सक्रिय हुँदै आएको छ। यसरी अपराध गर्ने विदेशीसहित पाँच जनालाई ब्युरोले बिहीबार साँझ पक्राउ गरेको छ। उनीहरूले विदेशीको फोटो राखेर नक्कली फेसबुक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ। विदेशी भनेपछि नेपालीले कुरा गर्न प्राथमिक्ता दिने गरेको अनुसन्धानबाट देखिएको ब्युरोका प्रवक्ता पाण्डेले बताए।

पक्राउ परेकाले फेसबुक कुराकानीबाटै कोटेश्वरकी राधा (नाम परिवर्तन) लाई बेलायती पाउण्ड र अमेरिकी डलर भएको झोला पठाउने लोभ देखाए। कुराकानीबाट नजिक हुँदैगर्दा ती महिलाले विश्वास गरिन। विदेशी नामको फेसबुक चलाउने ती व्यक्तिले झोला पठाउनुअघि फेसबुकमा राधालाई झोला प्याकिङ भएको फोटो पठाए। झोलामा सामान र विदेशी पैसा पठाउन लागेको फोटो देखेपछि उनलाई विश्वास लाग्यो। फोटो पठाएपछि राधालाई ती व्यक्तिले ‘हाम्रो कम्पनीको मान्छे नेपालमा छ त्यसैमार्फत सामान लैजानुहोला’ भने। नेपालमा सम्पर्क गर्नु भन्दै म्यासेन्जरमा मोबाइल नम्बर (९८०३८०४८५८) दिए।

अर्कोदिन विहानै राधालाई फोन आयो। ‘तपाइको सामान मैले लिएर आएको छु लिन आउनुहोस्,’ म्यासेन्जरमा दिएको नम्बरबाटै फोन आयो। ‘एयरपोर्टमा एक्स–रे मिसिनबाट हेर्दा डलरसमेत रहेछ त्यसैले झोला छुटाउन नेपाली पैसा चाहिने भयो। अलिकति पैसा पठाइदिनुहोस्,’ फोनबाट राधालाई ती व्यक्तिले अनुरोध गरे। अमेरिकी डल र झोलासहितको सामान पाउने आशले राधाले ती व्यक्तिको खातामा पैसा जम्मा गरिदिइन्।

पैसा खातामा जम्मा भएपछि फोन अफ भयो। अन्ततः राधाको विदेशीले पठाएको झोला पाउने कुरा भ्रममात्रै थियो। लामो समयसम्म फोन अफ भएपछि राधाले घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई जानकारी गराइन्। प्रहरीले फोन नम्बरको आधारमा विदेशीसहित ५ जनालाई काठमाडौंबाट पक्राउ ग-यो।

पक्राउ पर्नेमा खुशीबु बस्ने चितवन गुञ्जनगर–६ का ४० वर्षीय रामचन्द्र गैह्रे, ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ, चितवन घर भइ बनस्थली बस्दै आएका ३१ वर्षीय हरि ओझा र दुई जना नाइजेरियन नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता पाण्डेले जानकारी दिए।

प्रकाशित: २७ पुस २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App