५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तीन वर्षमा पनि बनेन क्षेत्रीय कारागार

बाँकेको नौवस्तामा निर्माणाधीन क्षेत्रीय कारागार। तस्बिर : नागरिक

नेपालगन्ज – पश्चिम नेपालमा क्षेत्रीय कारागार निर्माणको काम ती वर्ष बित्दा पनि पूरा भएको छैन। बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार ठेकेदारको ढिलासुस्तीले अधुरो हुन पुगेको हो। ठेक्का सम्झौता अनुसार ठेकेदारले क्षेत्रीय कारागारको आठावटा ठूला भवन, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यारेक तथा भान्सा, तीन तले प्रशासनिक भवनसहित २५ वटा भौतिक संरचना निर्माण गर्नुपर्नेछ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो। २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो। गत कात्तिक ८ गते निर्धारित तीन वर्षको समय गुज्रिसकेको छ। ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जले ६ महिनाअघि जेभीको सात करोड ६ लाख बैंक ग्यारेन्टी तानेको थियो। एकाइका अनुसार जेभीले २५ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन वर्षको अवधिमा पाँचवटा संरचनामा मात्र प्रारम्भिक चरणको (पाँच प्रतिशत) मात्र काम सुरु गरेको थियो।

दुई ठेकेदार कम्पनीबीचको आन्तरिक कलहले अलपत्र परेको क्षेत्रीय कारागार निर्माणको काम चालु आर्थिक वर्ष २०७६/७७ को भदौ महिनाबाट रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले गरिरहेको छ। ठेकेदारको ढिलासुस्तीले समयमै नसकिएको कारागार निर्माण कार्य अहिले रसुवा कन्स्ट्रक्सन कम्पनीले थालेको एकाइ नेपालगन्जका प्रमुख गणेश कर्माचार्यले बताए। ‘कानुनी रुपमा ठेक्का सम्झौता पप्पु–रसुवा जेभीबाटै गरिएको छ तर चालु आर्थिक वर्षबाट रसुवाले जिम्मा लिएर काम गरिरहेको छ,’ उनले भने, ‘जेभीले तीन वर्षसम्म पाँच प्रतिशत मात्र काम गरेपछि हामीले बैंक ग्यारेन्टी तान्यौं, कालोसूचीमा राख्नेसम्मको तयारी हुँदा रसुवा एक्लैले काम गर्ने प्रतिबद्धता जनायो र अहिले काम सबै रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ।’ रसुवाले जिम्मा लिएपछि अहिले काममा सन्तोषजनक रहेको कर्माचार्यले बताए। उनका अनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीले कारागार निर्माणका लागि अझै डेढ वर्ष म्याद थप्नुपर्ने प्रस्ताव गरेको छ। तर एकाइले एक वर्षभित्र सम्पन्न गर्नेगरी म्याद थप्न सक्ने उनले बताए।

रसुवा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर विनोद ज्ञवालीले क्षेत्रीय कारागार निर्माणका लागि कानुनी रुपमा ‘पप्पु–रसुवा जेभी’ ले सम्झौता गरे पनि गत भदौयता रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले निर्माण कार्य अगाडि बढाईरहेको बताए। ‘तीन वर्षमा पाँच प्रतिशत पनि काम हुन सकेको थिएन, रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएपछि गत भदौयता १८ प्रतिशत काम भइसकेको छ,’ उनले भने। क्षेत्रीय कारागार निर्माणका लागि दैनिक एक सय ५० जना कामदार परिचालन गरिएको ज्ञवालीको दाबी छ।

सम्झौता अनुसार निर्माण गर्नुपर्ने २५ वटा संरचनामध्ये १४ वटाको काम चलिरहेको उनले बताए। सम्झौता अनुसारको सबै काम सम्पन्न गर्न करिब डेढ वर्ष जति समय लाग्ने ज्ञवालीले बताए। क्षेत्रीय कारागार निर्माणमा ढिलाई हुँदा यसक्षेत्रका विभिन्न जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दाबढी कैदी बन्दी राख्नु परेको छ।

प्रकाशित: १९ पुस २०७६ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App