२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वायु प्रदूषण व्यवस्थापन कार्ययोजना मन्त्रिपरिषद्मा

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना ल्याउने भएको छ। उपत्यका हिउँदयाममा जाडोे र वायु प्रदूषणको चपेटामा पर्दै गएपछि त्यसको व्यवस्थापनका लागि तयार पारिएको कार्ययोजना मस्यौदा वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको जनाइएको छ। मन्त्रालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा सो मस्यौदाबारे छलफल हुनेछ।

राजधानीको प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको भन्दै आलोचना बढ्दै गएपछि वातावरण विभागले दुई वर्षअघि वायुको गुणस्तर व्यवस्थापनसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार पारेको थियो। त्यसलाई कार्यान्वयनमा नलगिएको भनेर वातावरणकर्मीले सरकारको आलोचना गर्दै आएका थिए। यो कार्ययोजना वातावरण मन्त्रालय तथा र सोसँग सम्बन्धित अन्य विभिन्न निकायसँग छलफल गरी बनाइएको हो।

‘प्रस्तावित कार्ययोजनामा उपत्यकामा प्रदूषण नियन्त्रणका लागि ठोस योजनाहरूछन्,’ वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने।

कार्ययोजनाअन्तर्गत राजधानीको प्रदूषणका कारक तत्वहरूको अध्ययन र म्यापिङ गरिनेछ भने प्रदूषण धेरै उच्च रहेको अवस्थामा पर्ने आपत्कालीन स्थितिको कसरी व्यवस्थापन गर्ने भनेर विभिन्न उपाय पनि प्रस्ताव गरिएका छन्। विशेषगरी प्रदूषणको स्तर बढे आमजनसमुदायलाई एलर्ट गर्ने, सवारीसाधनमा जोरबिजोर नियम लागू गर्ने, अत्यधिक प्रदूषण भएको अवस्थामा सातामा दुई दिन बिदा दिनेदेखि विद्यालयहरू बन्द गर्नेलगायत प्रस्ताव कार्ययोजनमा समेटिएका छन्।
प्रदूषण नियन्त्रणका लागि आयातित सवारीसाधन युरो–४ को स्ट्यान्डर्डको हुनुपर्ने, प्रदूषण जाँचपछि सवारीसाधनलाई दिइने ग्रिन स्टिकरको मापदण्ड पुनरावलोकन गरेर त्यसमा अझै कडाइ गर्नुपर्ने, डिजेलद्वारा चल्ने सबै गाडीमा डिजेल पार्टिकुलेट फिल्टर जडान गर्नुपर्नेलगायत व्यवस्था कार्ययोजनामा समावेश गरिएको जोशीको भनाइ छ। यसैगरी सवारीसाधनको प्रदूषण मापन केन्द्र केन्द्र एउटा मात्र रहेकोमा त्यसलाई बढाएर पाँचवटा पु-याउने, विद्युतीय सवारीसाधन आयातमा प्रवद्र्धन गर्ने तथा ट्राम सेवाको सुरुवात गर्नेलगायत योजना पनि प्रस्ताव गरिएका छन्। राजधानीमा मात्र १२ लाख मोटरसाइकल र तीन लाख चारपांग्रे सवारीसाधन गुड्ने यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ।

उद्योगधन्धाबाट हुने प्रदूषण नियन्त्रण गर्न यसअघिका मापदण्डहरूलाई अझ प्रभावकारी बनाउने तथा इँटा उद्योगले गर्ने उत्सर्जनलाई नियमित रूपमा अनुगमन गर्ने व्यवस्था पनि कार्ययोजनामा समावेश छ। यसैगरी आमजनसमुदायलाई प्रदूषण बढाउने काम नगर्न विभिन्न जागरणमूलक कार्य सञ्चालन गर्न बताइएको छ। जाडोयाममा खुला स्थानमा आगो बाल्दा पनि राजधानीको प्रदूषण बढ्ने गरेको छ।

राजधानीमा वायु प्रदूषण ह्वात्तै बढ्यो
राजधानी जाडोले कठ्यांग्रिँदै गर्दा वायु प्रदूषणको स्तर पनि ह्वात्तै बढेको छ। प्रदूषण मापनका लागि नागरिक अभियान दृष्टि समूहले उपत्यकामा राखेका १४ वटा स्टेसनको तथ्यांकअनुसार आइतबार पिएम २।५ को स्तर २०० अंक नाघेको छ। यस्तै वातावरण विभागले उपत्यकामा राखेका सातवटा प्रदूषण मापन स्टेसनले पनि राजधानीको वायु प्रदूषणको स्तरलाई अस्वस्थकर रहेको देखाएका छन्।

सन् २०१६ को विश्व स्वास्थ संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण राजधानीमा मात्रै झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ भने विश्व स्वास्थ संगठन, विश्व बैंक, युएन इन्भाइरोमेन्ट तथा क्लाइमेट एन्ड क्लिन एयर कोलिसन मिलेर बनाइएको ब्रेथलाइफ नामक अन्तर्राष्ट्रिय अभियानका अनुसार नेपालमा घरभित्र र बाहिर हुने दुवैखाले प्रदूषणका कारण बर्सेनि ३७ हजार तीन सय ९९ जनाको मृत्यु हुने गरेको छ।

लुम्बिनीमा प्रदूषण अध्ययन टोली
लुम्बिनीस्थित प्रदूषण मापन स्टेसनले पिएम २।५ को मापन गर्दा गत सोमबार राति १० बजे दुई सय १४ माइक्रोग्राम प्रतिघनमिटर रहेको देखायो। पछिल्ला दुई सातायता पिएम २।५ को प्रदूषणको सरदर स्तर झन्डै दुई सयको हाराहारीमा रहेको देखिएको छ। प्रदूषणको यो स्तर राष्ट्रिय मापदण्डभन्दा पाँचगुणा बढी हो। सन् २०१२ को राष्ट्रिय वायु गुणस्तर मापन निर्देशिकाले पिएम २।५ मापन गर्दा प्रतिघनमिटर वायुमा ४० माइक्रोग्राम सूक्ष्म कणलाई गुणस्तरीय वायु भनेर राष्ट्रिय मापदण्ड तोकेको छ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २।५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका सूक्ष्म कणलाई पिएम २।५ रूपमा मापन गर्ने गरिन्छ।

सामान्यतया एयर क्वालिटी इन्डेक्स (एक्युआई) मापन गर्दा पिएम २।५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडजस्ता प्रदूषणका कारक तत्वहरूको मापन गरिन्छ। सीमित स्टेसनमा मात्र ओजोन मापन हुने हुँदा नेपालको सन्दर्भमा एक्युआई आँकलन गर्दा पिएम २।५ को बढी योगदान रहने गर्छ।

यसरी लुम्बिनीमा पछिल्ला दुई साता लगातार वायु प्रदूषणको स्तर अस्वस्थकर देखिएपछि वन तथा वातावरण मन्त्रालयले त्यसको स्थलगत अध्ययन गर्न वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालको नेतृत्वमा एक टोली सोमबार लुम्बिनी गएको छ। सो टोलीले लुम्बिनी क्षेत्रमा रहेका इँटा तथा सिमेन्ट उद्योगमा नै पुगेर तिनले उत्सर्जन गर्ने धुवाँको स्थलगत अनुगमन तथा अन्य उद्योगहरूले फाल्ने अन्य प्रदूषणका स्याम्पलहरू संकलन गर्नेल्याउने वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए।

त्यो क्षेत्रमा इँटा र सिमेन्ट उद्योगहरूको ठूलो संख्यामा उपस्थिति रहेकाले तिनले फाल्ने धुवाँ तथा अन्य प्रदूषणका कारणले वायु प्रदूषण बढेको हुन सक्ने अनुमान गरिएको छ। उद्योगहरूको चिम्नीबाट स्ट्याक स्याम्पलिङ गरेर तिनले गरेको प्रदूषणको अध्ययन गर्ने तयारी पनि गरिएको छ। ‘प्रदूषणको स्तर ह्वात्तै बढ्नुको कारण नेपालबाहिरको पनि हुन सक्छ,’ जोशीले भने, ‘अध्ययनपछि त्यसबारे थाहा हुन्छ।’

प्रकाशित: १५ पुस २०७६ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App