२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मंसिर १२ देखि पुस ४ सम्मका सबै डाटा गायव

उदयपुर– ५ दिनअघि अज्ञात समूहले ‘ह्याक’ गरेको स्थानीयतहहरुको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।

महालेखा नियन्त्रण कार्यालय (मलेनिका) ले विकसित (डेभलप) को ‘स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र)’ गत शुक्रबार देखि ‘ह्याक’ भएको थियो। 

सुत्र ह्याक भएपछि देशभरका गाउँ तथा नगरपालिकाको वित्तीय कामकाज ठप्प भएको छ। स्थानीय तहमा क्रमागत र नयाँ योजनाहरु समेत प्रभावित भएको जनप्रतिनिधिहरुले बताएका छन्।

शुक्रबार विहानदेखि चल्न छाडेको सुत्र मर्मत गर्न मलेनिकाको सूचना प्रविधि (आईटी) शाखाको प्राविधिक टोलीले अनुसन्धान गर्दा ह्याक भएको पत्ता लागेको थियो।

ह्याक भएको जानकारी भएदेखि नै मर्मत सुरु गरिए पनि मंगलबार दिउँसोसम्म पूर्णरुपमा सुत्र चल्न नसक्दा कार्यालयको काममा बाधा भएको छ। शुक्रबार सुत्र बिग्रेपछि कम्प्युटराईज्ड सरकारी लेखा प्रणाली (सिजीएएस) अनुसार सबै स्थानीयतहको आर्थिक गतिबिधिमा अवरोध आएको हो।

सुत्र ह्याक भएकाले गाउँ तथा नगरपालिकाको रोकिएको वित्तीय गतिबिधिले भुक्तानीमा बाधा आईपरेको सदरमुकाम त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए।

मंगलबारदेखि सामान्य रुपमा चले पनि मंसिर १२ देखि पुस ४ गतेसम्मको सबै विवरण पुनः प्रविष्ट ‘इन्ट्री’ गर्नुपर्ने अवस्था सिर्जना भएको थापाले बताए। अद्यावधिक गरिएको विवरण पुनः प्रविष्ट गर्नुपर्दा झन्झटिलो भएपछि नगरपालिकाले दिनुपर्ने भुक्तानीको काममा बाधा आईपरेको थापाको भनाई छ।

सुत्र नचल्दा गाउँपालिकाको क्रमागत योजनाका कामको भुक्तानी दिन नपाएर नयाँ योजना सञ्चालनमा समस्या आईपरेको लिमचुङबुङ गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताए। 

महालेखा नियन्त्रण कार्यालयका उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले भने सुत्र सुचारु भएको बताएका छन्। अज्ञात समूहले शुक्रबार विहान ह्याक गरेपछि हराएका विवरणहरुको खोजी गर्दा धेरै मर्मत भएको तर, मंसिर १२ देखि पुस ४ सम्मको भने प्राप्त नभएकाले त्यतिबेलाका कागजात हेरेर पुनः प्रविष्ट गर्नुपर्ने भुर्तेलले बताए।

‘हाम्रो इन्जिनियरको टोली ह्याक भएदेखि रिकभरका लागि लागिरहेको छ’ भुर्तेलले भने ‘धेरैजसो डाटाहरु रिकभर भईसकेको छ, खाली मंसिर १२ देखि पुस ४ गतेसम्मको हराएको डाटा रिकभर हुन नसकेकाले हार्डकपी हेरेर पुनः प्रविष्ट गर्न सबै स्थानीयतहलाई निर्देशन दिइएको छ।’

उनले सुत्र ह्याक समूहको खोजी प्रहरी लगाएर भईरहेको बताएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ह्याकरको खोजी गरिरहेको भुर्तेलले बताएका छन्। 

प्रकाशित: ८ पुस २०७६ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App