काठमाडौं – शनिबार बिहानै बुढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकैको सडकका एउटा कार बतासिँदै आयो। बुढानीलकण्ठ स्कुलतर्फ गइरहेको बा१४च ६१२३ नम्बरको सुजुकी कारको गति देख्दा गुडेको नभइ ‘उडेको’ जस्तै देखिन्थ्यो। सडक छेउमा पैदलयात्री थिए। अनियन्त्रित गतिमा अघि बढिरहेको कार देखेपछि पैदलयात्रीले डराउँदै बाटो छाड्दै थिए। बुढानीलकण्ठ स्कुलको गेटैमा पुगेपछि कारले लीला देवकोटालाई ठक्कर दिएर उधिन्यो। उनी सडकमा बजारिइन। कारले महिलालाई ठक्कर दिएपछि स्थानीय कराउन थाले। तीव्र गतिमा रहेको कार अझै पनि रोकिएन। अलि पर रहेको बिजुलीको पोलमा गएर कार ठोक्कियो। कारभित्र बसेका तीनजना बाहिर निस्किएर भागे।
चालक पृथ्वी मल्ल (२१) भने बाहिर निस्कन सक्ने अवस्थामा थिएनन्। अत्यधिक मदिरा सेवन गरेकाले कार ठोक्किएको समेत उनले चाल पाएनन्। कारको ठक्करबाट गम्भीर घाइते देवकोटालाई आफन्तले न्युरो अस्पतालतर्फ लिएर गए। तर, अस्पताल नपु-याउँदै उनको मृत्यु भयो। चालक मल्ललाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चालकसहित कारभित्र बसेका सबैले मदिरा सेवन गरेर शिवपुराबाट आउँदै थिए। मदिराले मस्त भएका चालकले कारको गति समेत नियन्त्रण गर्न सकेका थिएनन। प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले चालकले मदिरा सेवन गरेर बेहोस अवस्थामा कार चलाएको बताए। उनीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरे अनुसन्धान भइरहेको र कानुन अनुसार कारबाही हुने उनको भनाइ छ। प्रहरीले कारभित्र गाजा र कोकिन समेत फेला पारेको बताएको छ।
कारमा सवार अन्य तीन जनामध्ये मोडल प्रतिमा राना पनि थिइन। त्यस्तै, करिश मास्के र अर्का एक जना थिए। कारले महिलाई ठक्कर दिएर पोलमा ठोक्किएपछि उनीहरू भागेपनि प्रहरीले मास्केलाई तत्कालै समातेको थियो। अहिले चारैजना महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नियन्त्रणमा रहेको वृत्तले जनाएको छ। कारभित्र रक्सीका बोतल समेत रहेको बताइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमकुमार सुवेदीले घट्नाबारे अनुसन्धान भइरहेको बताए। प्रहरीका अनुसार मल्ल यसअघि नेपालका साथै अमेरिकामा पनि मादक पदार्थ सवन गरेर गाडी चलाउँदा कारबाहीमा परेका थिए।
प्रकाशित: २ पुस २०७६ ०२:४८ बुधबार