२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पुष्पलाल मध्यपहाडी राजमार्ग, सदरमुकामबाटै कालोपत्रे

दैलेख सदरमुकाम काँडाचौरस्थित नेपाली सेनाको ब्यारेक छेउबाट निकाश दिएपछि काँडेतार हटाउँदै। तस्बिर: गोविन्द/नागरिक

दैलेख– पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयको विवादका कारण रोकिएको निर्माण कार्य तत्काल हुने भएको छ। लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान भएपछि सदरमुकामबाटै राजमार्ग कालोपत्रे हुने भएको हो।

योजनाले सदरमुकामबाट विवाद समाधान नभएर चुप्रा हुँदै लैजाने तयारीसमेत गरेको थियो। सदरमुकामका ३ ठाउँ निकाशका लागि हेरिएको थियो। अन्य दुई ठाउँमा चरम विवादले रोकियो। काँडाचौरबाट लैजाने गरि ट्र्याक खोलिएको थियो। स्तरोन्नतीका लागि अहिले योजना कार्यालयले टेण्डर प्रकृया अघि बढाएको हो। योसँगै दैलेख बजारबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग लैजाने निश्चित भएको हो।

नारायण नगरपालिकाले स्थानीयहरुसँग सहमति लिएको थियो। राजमार्गको योजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले स्थानीयहरुलाई सहमतिमा लिएर नै कालोपत्रेको काम हुने बताए। ‘अब, छिट्टै टेण्डर (महिना दिनभित्र) निकाल्ने तयारी भईरहेको छ।’ सूचना अधिकारी शर्माले भने, टेण्डर र कामसँगै लामो समयदेखि सदरमुकाममा रोकिएको योजना कार्यालयको काम निचोडमा निस्कने छ।’

सदरमुकाम र आसपास तत्काललाई साढे सात मिटर पिच हुने छ भने १ मिटर नाली र १ मिटर सोल्झर अर्थात पर्खाल, वाल लगाईने योजना कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पछाडीदेखि काडाँचौर ब्यारेक नजिक र जाहारकोटमा स्थानीयहरुले विवाद गरेका थिए। योजना कार्यालयले किमुगाउँ, काँडाचौर र जाहारकोटमा मुआब्जाका लागि स्थानीयको फाईल संकलन भएको मुल्यांकन गरिसकेको छ। अब, २ महिनाभित्र मुआब्जा दिने गरि काम भईरहेको सूचना अधिकारी शर्माले बताए। पुष्पलाल मध्यपहाडी राजमार्ग अन्र्तगत दैलेख जिल्लाभित्र १ सय २६ किलोमिटर रहेको छ।

जसमा ४० किलोमिटर कालोपत्रेका लागि टेण्डर हुन बाँकी रहेको छ। दुल्लु नगरपालिकाको चकत्रादेखि सदरमुकाम हुँदै लोहोरेखोलासम्म ३० किलोमिटर र मनघरदेखी जाजरकोट सिमासम्म १० किलोमिटर टेण्डर महिनादिन भित्र हुने राजमार्ग योजना कार्यालय दैलेखले जनाएको छ। चकत्रादेखि लोहोरेखोलासम्म हुने कालोपत्रेमा दैलेख सदरमुकाम र किमुगाउँ र जाहारकोटमा यसअघि स्थानीयले गरेको विवाद पनि समाधान भएर कालोपत्रे गरिने आयोजनाले जनाएको छ। नारायण नगरपालिका र योजना कार्यालयले निश्चित जग्गा लिने विश्वास दिलाएपछि मात्र कालोपत्रेका लागि सहमत हुने काँडाचौरका स्थानीय जग्गाधनी कृष्णबहादुर प्याकुरेलले बताए।

राजमार्गले सडकदेखि तलमाथि कति लिने, कति पिच गरिने सबै लिखित गरेमा मात्र कालोपत्रेका लागि सहमत हुने स्थानीय जग्गाधनीहरुले अडान लिएका छन्। दैलेख खण्डमा योजनाका काम गर्दा ३५ घर भत्काउँनुपर्ने देखीएको जनाईएको छ। अहिले काम गरिरहेका निर्माण कम्पनीहरुले २०७७ जेष्ठदेखि भाद्रसम्म कालोपत्रेको काम सक्नुपर्ने छ। तर, उनीहरुले सुस्त गतिमा काम गरिरहेका छन्। तिन वटा निर्माण कम्पनीले चार वटा ठेक्का मार्फत काम गरेका हुन्।

पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बनाईएका पुलहरु निकै होचो बनाईएको छ। डिजाईननै गलत भएको आंशका गरिएको छ। कपि पेष्ट गर्दा ति पुलका डिजाईनमाथि नै शंका रहेको स्थानीयहरु भनाई छ। बर्षातमा ठूलो बाढी आएमा पुलले थेक्न निकै गाह्रो हुने आंशका स्थानीयले गरेका हुन्। दैलेख खण्डमा निर्माण भएका ठूला ४ पुलको डिजाईननै होचो गरिएको छ।

दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि २ वर्षअघि ट्र्याक खोलिएको हो। सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराईदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको नेपाली सेनाका ब्यारेकबाट लैजाने निश्चित भएको हो। तत्कालिन स्थानीय विकास अधिकारी हरि प्याकुरेलको विशेष भूमिकामा काँडाचौरबाट लैजाने गरि ट्र्याक खोलिएको थियो। विवाद समाधान गरेर नयाँ निकाश दिईएको थियो। अहिले त्यहीँ काँडाचौरबाट लैजाने गरि कालोपत्रे टेण्डर हुन लागेको हो।
 
 

 

प्रकाशित: २८ मंसिर २०७६ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App