२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पक्की बनेको तीन महिनामै सडक चिराचिरा

सिन्धुली – बिपी राजमार्गस्थित सोलाभन्ज्याङबाट सिन्धुलीगढीसम्म जाने सडक पक्की बनाएको तीन महिनामै चिराचिरा परेको छ। सोलाभन्ज्याङ हँुदै चपौली, मझुवा नागीसम्म जाने उक्त सडकको पहिलो प्याकेजअन्र्तगत सिन्धुलीगढीसम्म पक्की बनाइएको थियो। ऐतिहासिक सिन्धुलीगढी जाने पर्यटकलाई सुविधा होस् भनेर सुरुमा डेढ किलोमिटर खण्डमा कालोपत्रे गर्ने योजना अघि बढेको थियो।

नयाँ सहर आयोजना खुर्कोटमार्फत महादेव खिम्ती आजाद जेभी निर्माण कम्पनीले दुई करोड ६० लाख रुपैयाँ (भ्याटबाहेक) को लागतमा गत वर्षको पुसदेखि असारसम्म सडक स्तरोन्नतिसहित सडक कालोपत्रे तथा पक्की बनाउने काम भएको थियो। पर्यटकीय क्षेत्र सिन्धुलीगढीको पूर्वाधार विकास गर्ने क्रममा बिपी राजमार्गबाट कमलामाई नगरपालिका–३ स्थित सोलाभन्ज्याङबाट सिन्धुलीगढीसम्मको कच्ची सडक पक्की बनाउने काम भएको थियो। असार मसान्तसम्म लगाएर कालोपत्रेसहित सडक वाल तथा अन्य संरचना बनाइएको सडक असोज पहिलो सातामै भत्किएर चिराचिरा भएको थियो।

‘ठेकेदार र प्राविधिकको गम्भीर लापरबाहीले सडकछेउका वालहरू खसेका छन्,’ एक स्थानीयले भने, ‘जताततै चिराचिरा भएर सडक जीर्ण भएको छ।’ उनले वाल निर्माण गर्दा जग कमजोर बनाएको र कमसल सामग्री प्रयोग गरिएको हुँदा निर्माण सम्पन्न भएको केही महिनामै भत्किएको दाबी गरे। गुणस्तरहीन समान प्रयोग गरी कालोपत्रेसहित निर्माण गरिएको उक्त सडक अहिले ठाउँठाउँमा धसिएको छ भने सडकका बीचबीचमा चिराचिरा परेको छ। भत्किएको सडक चाँडै मर्मत गर्न सम्बन्धित निर्माण कम्पनीलाई पत्र काटेर ताकेता गरिएको नयाँ सहर आयोजनाले जनाएको छ। निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मत गर्ने अवधि भएकाले ठेकेदारलाई मर्मत गर्न अनुरोध गरिएको आयोजनाको भनाइ छ।

सोलाभन्ज्याङदेखि सिन्धुलीगढीसम्म सवारीसाधन सजिलै पुग्ने स्थानीयको आशा धेरै टिक्न नसकेको कमलामाई–२ का वडा सचिव वीरेन्द्र देवकोटाले भने। तत्कालीन अवस्थामा गुणस्तरीय सामग्री प्रयोग गरी दिगो रूपमा सडक निर्माण गर्नुपर्ने भन्दाभन्दै गुणस्तरहीन सामग्री प्रयोग गरिएकाले समस्या आएको स्थानीय राजन अधिकारीले बताए। ‘काम भइरहेका बेला हामीले ठेकेदारलाई भेटेर गुणस्तरिय सामान मात्र प्रयोग गर्न सम्झाएका थियौं,’ उनले भने, ‘हाम्रो सल्लाहलाई बेवाीस्ता गर्दा अहिले सडकको अवस्था नाजुक बनेको छ।’ निर्माण कम्पनीका ठेकेदार गोपाल श्रेष्ठले सडक प्राकृतिक विपत्तिका कारण सडक भत्किएको दाबी गरे। ‘काम गर्ने बेलामा पानी धेरै परेकाले अहिले समस्या जन्मियो,’ उनले भने, ‘एक वर्ष मर्मत अवधि हुन्छ, त्यो बीचमा हामी मर्मत गर्छांै।’

प्रकाशित: १८ कार्तिक २०७६ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App