५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुनकोेशीमा बस खस्दा १७ जनाको मृत्यु, १४ को सनाखत, ५० घाइतेको उपचार हुँदै (नामावली)

सुकुटे (सिन्धुपाल्चोक)– अरनिको राजमार्गको सुकुटेबाट आइतबार सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा ५० यात्रु घाइते भएका छन्। 

दोलखा जिल्लाको मागादेउरालीबाट राजधानी काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु बस चौतारा–साँगाचोकगढी नगरपालिका–९ सुकुटेबाट झण्डै २० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा तीन महिने शिशु र सात बालबालिकासहितको मृत्यु भएको हो। दुर्घटनाग्रस्त बस सुनकोशीमा डुब्दा १४ यात्रुको घटनास्थल र आसपासमै ज्यान गएको थियो। तीनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा नौ महिला, एक पुरुष, पाँच बालक र दुई बालिका छन्। मृतकमध्ये राति अबेरसम्म १४ शबको मात्र खनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरुमा दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–५ की चेतकुमारी बस्नेत (५२), शैलुङ–४ की सलिना तामाङ (६) दिल लामा (१४), सोही गाउँपालिका–३ का तीन महिने बालक रोशन श्रेष्ठ, निर्मला खड्का (३२) शैलुङ–५ की रत्नकुमारी राउत (५२), उनका छोरा किरण राउत (२९),  कबिता राउत (२०), निखिल खड्का (१४), भीमेश्वर नगरपालिका–९ की रञ्जिता केसी बस्नेत (२४), दोलखाकै उरमाया मोक्तान (७०) तथा काभ्रे, रोसी गाउँपालिका– सचिना तामाङ (५), जिल्लाको त्रिपुरासुन्दरी–४ की चमेली श्रेष्ठ (३०) र उनकी ६ वर्षीया छोरी सायारानी श्रेष्ठ छन्। 

१०–१५ वर्ष बीचका तीन बाललको शबको पहिचान हुन सकेको छैन। चेतकुमारीको काभ्रेको धुलिखेल र सलिनाको बनेपाको शीर मेमोरियल र सायारानीको सदाबहार अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। ५० घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले बताए। उनकाअनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी प्रज्जवल महर्जनले तीव्र गतिका कारण बस दुर्घटना भएको बताए। ‘चालकले साँघुरो सडकमा तीव्र गतिमा कुदेको बसमाथिको नियन्त्रण गुमाएको देखिन्छ,’ घटनास्थल पुगेका उनले नागरिकसँग भने। 

प्रत्यक्षदर्शीका अनुसार भने बिपरित दिशाबाट तीव्र गतिमै मोटरसाइकल आएको देखेपछि चालकले बसको गति घटाउन खोज्दा नियन्त्रण गुमाएर अकस्मात नदीतिर सोझिएको थियो। मोटरसाइकल भने भित्तामा ठोकिएर पल्टेको थियो। धुलिखेल अस्पतालमा उपचाररत घाइते लोकबहादुर थापाले बस दुई बल्ड्याङ पल्टेर नदीमा डुबेको बताए। ‘तीव्र गतिको बस खल्ड्याक्क मात्र के भएको थियो, बल्ड्याङ खाँदै नदीमा छिर्यो’, उनले टेलिफोनमा भने। उनले उत्तानो परेको बसको झ्यालबाट निस्केर आफू बाँचेको बताए। उनका अनुसार यात्रुले सिट भरिएको बसमा २०–२५ जना उभिएका थिए। 

सिट भएपछि मागादेउरालीबाट बस छुटेको थियो। घाइतेहरुका अनुसार चालकले बीच–बीचबाट यात्रु चढाइ रहेका थिए। राजमार्गको भैँसेमा बिहानीको खाना खाएर छुटेको पाँच मिनेट नबित्दै दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको हो। बस नदीतिर सोझिएपछि शैलुङ्गेश्वरी–४ घर भएका चालक धनबहादुर तामाङ झ्यालबाट हाम फालेर बाँचेका थिए। भागेर उनी घाइते अवस्थामा नजिकको बलेफी प्रहरी चौकीको सम्पर्कमा पुगेका थिए। सदाबहार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई साँझ धुलिखेल अस्पताल पुर्याइएको छ। 

घटना लगत्तै सुकुटेमा रहेका विभिन्न रिसोर्टका -याफ्टिङ गाइड बोट लिएर सुनकोशी नदीमा छिरेका थिए। उनीहरुले घाइतेको उद्दार र शब संकलन गरेका थिए। ‘घटनास्थल पुग्दा त्यहाँको दृश्य विभत्स थियो। घाइतेको रगतले सुनकोशी रक्ताम्मे बनेको थियो। यात्रुहरु नदीमा तैरिँदै बहिरहेका थिए’, सबैभन्दा पहिला घटनास्थल पुगेका सुकुटे वीच रिसोर्टका र्याफ्टिङ गाइड तथा उद्धारकर्ता सोनाम तामाङले भने। उनका अनुसार आसपासमा रहेका माया वीच, रिभर बे लगायत रिसोर्टले तत्काल सातवटा -याफ्टिङ बोट परिचालन गरेका थिए। 

घटनास्थलबाट झण्डै दुई किलोमिटर तलको दुरीसम्म बगाएका शब फेला परेका थिए। अधिकांशलाई र्याफ्टिङ गाइडले उद्धार गरे पनि केही पौडिएर बाँचेका थिए। 

मृतक १५ को शव घटनास्थल नजिकै संकलन गरिएको छ। सबै शबको पहिचानपछि यहीँ पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ। चालकले सावधानी नअपनाउँदा अरनिको राजमार्गमा केही वर्षको अन्तरालमा ठुल्ठूला सवारी दुर्घटना हुँदै आएको छ। २०६७ भदौ २५ गते सुकुटेमै यस्तै प्रकृतिको यात्रुबस दुर्घटना भएको थियो। पछिल्लो दुर्घटनास्थल नजिकै उक्त घटनामा २६ यात्रुको ज्यान गएको थियो। 

घाइतेकाे नामावली:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App