![अझै खुलेन कर्णाली राजमार्ग, सयौँ यात्रु अलपत्र](https://images.nagariknewscdn.com/thumbs/third-party/1720456060_karnali-600x400.jpg)
सफल भएन सोलार बत्ती, विधुतीय बत्ती जडान हुदै
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/jadansolarlight_20191102124937-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5dbd28add97d6-1200x560-wm.jpg)
भैरहवा – बेलहिया– बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ। सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो।
सौर्य बत्ती भन्दा सस्तो हुने भएकोले स्थानीय तहको सहकार्यमा विधुतीय बत्ती जडान सुरु गरिएको बेलहिया– बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताए।
सौर्य बत्तीमा पनि निश्चित समयमा व्यट्री परिवर्तन गर्नुपर्ने, सोलार प्यानल सफा गर्नु पर्ने लगायतको काम गर्नुु पर्छ समग्र खर्च हेर्दा विधुतीय बत्ती भन्दा बढी लागत लाग्ने, उज्यालो पनि कम हुने भएकोले विधुत्तीय बत्ती जडान गर्न लागिएको मिश्रले जानकारी दिए।
‘यहाँ मात्र हैन नेपाल भर नै सडक सोलार बत्ती सफल नभएकोले ६ लेन सडक अन्तर्गत पहिलो चरणमा तिलोत्तमा नगरपालिका क्षेत्र भित्रका सडकमा स्थानीय सरकारले विधुत शुल्क तिर्ने सम्झौता गरी काम सुरु भएको छ।
तिलोत्तमा क्षेत्रको ६ महिनामा सक्ने गरी काम भइरहेको छ भने सडक अन्तर्गत पर्ने सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाले पनि सम्झौता गरि सकेको छ एक साता भित्रै सो क्षेत्रको पनि बोलपत्र आव्हान गर्ने तयारी छ।’ मिश्रले नागरिक न्युजलाई जानकारी दिए।
‘तिलोत्तमा नगरपालिका क्षेत्रको करिब ९ किलोमिटर सडकमा भ्याट बाहेक ३ करोड ५९ लाख ९२ हजार ३ सय ८१ रुपैयामा टेण्डर आह्वान गरी सम्झौता अनुरुप काम भइरहेको छ, १ सेप्टेम्बर २०१९मा सम्झौता भई ६ महिनामा सकिने गरी नरेन्द्र पि एस एस जेभी काठमाण्डौले कामको जिम्मा पाएको छ।’ – इन्जिनियर अरुण खत्रीले जानकारी दिए।
६ लेन सडकको प्रत्येक ३० मिटरका दुरीमा १० मिटर उचाईभएको वाई आकार पोलमा दुबै तर्फ १५० वाटको विधुत्तीय बत्ती जडान हुनेछ। सडकको लागि उपयुक्त विशेष किसिमको एलइडी फ्लुड बत्ती मुख्य सडकमा जडान गरिन्छ भने सर्भिस रोडमा पहिलै रहेको पोलमा फलामको एंगल लगाई ४० वाट साधारण एलइडी बत्ती जडान गरिने इन्जिनियर खत्रीले बताए।
६ लेन सडकको बत्तीमा ५ वर्ष, सर्भिस रोडको बत्तीमा २ वर्षको मर्मत सम्भार निर्मााण कम्पनीले गर्ने छ भने, सो पश्चात आयोजनाले सडक हस्तान्तरण गर्ने निकायले मर्मत सम्भारको जिम्मा पाउने आयोजनाले जनाएको छ।
नरेन्द्र पि एस एस जेभी कम्पनिका प्रतिनिधी राजन भट्टका अनुसार अहिले विधुतीय तार वाइरिङको लागि तिलोत्तमा क्षेत्रमा डिभाइडरमा पाइप विछयाउने काम भइरहेको छ, विधुत पोल राख्न बेसको सामान भारतबाट एक सातामा आइपुग्छ, पोलहरु पनि उद्योगमा निर्माण भइरहेको जानकारी दिए।
‘लाइटको डिजाइन अन्तिम फेजमा छ ,चाडपर्वको समय भएर तीव्र गतिमा काम गर्न सकेका छैनौ, अब लगतै सबै काम सुरु हुन्छ हामीलाई दिइएको समय सिमा भन्दा पहिलै काम सम्पन्न गर्छौ ’–कम्पनिका प्रतिनिधी भट्टले नागरिक न्यूजलाई बताए।
करिब ढेड करोडको लागतमा २ वर्षअघि सडकमा जडित सौर्य बत्तीमा विविध समस्या देखिएकोले जडान भएका करिब १ हजार ५ सय स्वचालित सौर्य बत्तीलाई अब मर्मत सम्भार नगरी प्रक्रिया पु¥याएर विधुतीय बत्तीमा प्रतिस्थापन गर्ने आयोजनाले जनाएको छ। पहिलो चरणको काम सम्पन्न भए पछि जडित सोलार बत्तीको ठाँउमा विधुत्तीय बत्ती प्रतिस्थापन हुन्छ।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5dbd2942c0146-1200x560-wm.jpg)