अमरगढी- लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ। जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भाँसिदै गएपछि यातायातका साधन चल्ने अवस्था नभएको उग्रतारा यातायात प्रालिले जनाएको छ।
बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा बेलापुर सडक अविरल वर्षाका कारणले अवरुद्ध भएका छन्। पाँच दिनदेखि परेको अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका अन्तरगत डोला बस्तीस्थित सडक भाँसिदा सास्ती भएको सोहीरुटका सवारी चालक उमेश मालीले जानकारी दिए। सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपरेको उनको गुनासो छ।
यस्तै गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक चिरा–चिरा भइ भासिँदै गएको अवस्थामा पुगेका उनको भनाइ छ। गन्यापधुरा–२ कोरगाउँ जोड्ने जिरोप्वाइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको हो। दशैँ–तिहारमा दैनिकजस्तै घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडकमा लगातारको वर्षाले अवरुद्ध बनाउँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ।
जताततै भिरालो ठाउँमा सडक खन्नाले र सडकको स्तरोन्नति नहुँदा यस्तो समस्या आएको नवदुर्गा–४ का स्थानीयवासी गणेश कैनीले गुनासो गरे। सडक अवरुद्ध हुँदा घर जान नापाएको र सदरमुकाममा बस्नुपरेको उनले बताए। उनी दशैँका लागि भारतको मुम्बईबाट आएका हुन्। रासस
प्रकाशित: १४ आश्विन २०७६ ०६:०१ मंगलबार