धादिङ– धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ९ को ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदाँ ९ जना सडक मजदुर घाइते भएका छन्। शनिबार बिहान ज्यामिरेबाट धादिङबेसीतर्फ आउदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।
दुर्घटनामा घाइतेहरु सबै सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन्। घाईतेहरु मध्ये दुईजनाको अवस्था गम्भीर भएका कारण चितवनस्थित भरतपुरमा उपचारका लागि पठाइएको छ।
गम्भीर घाईते हुनेहरुमा जाजरकोट जिल्ला छेदागाढ नगरपालिकाका वडा न ५ घर भएका १९ वर्षीय कर्ण बहादुर चदरा र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर राउत गम्भीर घाईते भएका छन्।
त्यस्तै अन्य घाईते हुनेहरुमा २२ वर्षीय जय बहादुर चदरा, २३ वर्षीय तेज बहादुर राउत, ३१ वर्षीय पूर्ण बहादुर डाँगी, १६ वर्षीय चन्द्र बहादुर राउत, ३० वर्षीय दिर्ग राउत, २२ वर्षीय जय बहादुर चधारा, चितवनको भरतपुर महानगरपालिका १० बस्ने २६ वर्षीय आकाश तामाङ घाईते भएका छन्।
उनीहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
प्रकाशित: ११ आश्विन २०७६ १२:११ शनिबार