२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महानगरको निमन्त्रणामा इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले भने: नेपाल साँच्चिकै सुन्दर रहेछ

काठमाडौं- इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले विभिन्न स्थानको भ्रमणपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन्। इन्द्रजात्राको अवलोकनसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित विश्वसम्पदा सूचिमा सूचिकृत स्थानहरु स्वयम्भू, भक्तपुर, ललितपुर दरबार क्षेत्रसँगै चन्द्रागिरीको समेत भ्रमण गरेका विदेशी पाहुनाले नेपाल र नेपालीको न्यानो स्वागतको समेत प्रशंसा गरेका छन्।

काठमाडौँ महानगरपालिकाले चीन, भारत, अमेरिका, जापान र भुटानका ११ नगरपालिकाका ४१ विदेशी पाहुनालाई शुक्रबार काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराएको थियो भने शनिबार चन्द्रागिरी र स्वयम्भूको भ्रमण गराएको थियो। आइतबार भने भक्तपुर र पाटन दरबार क्षेत्रको अवलोकन गराएको थियो।  

शनिबार चन्द्रागिरी र स्वयम्भूको अवलोकन भ्रमणपछि निकै उत्साहित बनेका उनीहरुले आइतबारको भ्रमणले थप उत्साहित भएको प्रतिक्रिया दिएका छन्। ‘भक्तपुर दरबार क्षेत्रको अवलोकनकै क्रममा संक्षिप्त कुराकानी गर्दै भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर अवतार सिंहले भने, ‘नेपाल भ्रमण मैले सोचे भन्दा धेरै राम्रो भयो। यहाँका कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने र जिवन्तता दिने शैलीले थप प्रभावित भएँ।’ 

उनले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको भन्दै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिने बताए। ‘स्वयम्भूको विज्ञान संग्रहालय, चन्द्रागिरी र भक्तपुरका विभिन्न स्थानलगायतको अवलोकनपछि नेपाल साँच्चिकै सुन्दर रहेछ भन्ने मलाई लाग्यो,’ उनले थपे, ‘म मेरो देश र नगरका जनतालाई नेपालमा शान्ति छ, घुम्नलायकका स्थान छन्, नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाल घुम्न जानुहोला म घुमेर आएँ भन्ने सन्देश दिन्छु।’
 
सिंह मात्र होइन चीनको लाञ्जााउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट उत्साहित भएको प्रतिक्रिया दिए। ‘नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बनाउन यो भ्रमणले थप हौसल्ला मिलेको छ,’ उनले भने, ‘हामी नेपालसँग शिक्षा, स्वास्थ्य र व्यापारको क्षेत्रमा थप समन्वय गर्न चाहन्छौँ।’ 

उनले नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ भन्ने जानकारी पनि भ्रमणबाट प्राप्त भएका प्रतिक्रिया दिए।  ‘यहाँका संस्कृति सम्पदा र इन्द्रजात्रामा नेपाली जनताले देखाएको उत्साह अनि संस्कृति, सम्पदाप्रतिको सम्मान देखेर म थप प्रभावित भएँ।’ उपाध्यक्ष ज्याङ् सिओहाङले आफूले यहाँको संकृति सम्पदाका बारेमा पहिला पनि सुनेको र यहाँ आउँदा थप प्रभावित भएको बताए। उनले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुना बोलाएर राम्रो गरेको पनि बताए। नेपालीले गरेको सम्मानबाट प्रभावित भएको उनको भनाई छ।

भक्तपुरको अवलोकन भ्रमणपछि पाटन दरबार क्षेत्र पुगेका भुटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीले यो भन्दा पहिला पनि नेपाल आएको भन्दै पहिला आउँदा भूकम्पले ध्वस्त भएको नेपाल पुनर्निर्माणपछि थप सुन्दर देखिएको भन्दै प्रशंसा गरे। उनले आफू पनि बौद्धमार्गी भएकाले यहाँको संस्कृतिबाट थप प्रभावित भएको बताए। मेयर किन्ले दोर्जीले काठमाडौंका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिए। उनले भने, ‘म आफू पनि बौद्धमार्गी भएकोले होला, ती बहालहरूमा पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो।’

काठमाडौँ महानगरपालिका मेयर शाक्यले विदेशी पाहुनलाई बोलाएर नेपालको संस्कृति, संम्पदा र परम्पराका बारेमा जे छ त्यहि जानकारी गराएको बताए। ‘पाहुनालाई बोलाएपछि रातारात विग्रिएका सम्पदालाई लिपपोत गर्ने र टालटुल गरेर देखाउने चलन छ,’ मेयर शाक्यले भने, ‘हामीले यो पटक विदेशी पाहुनालाई भित्री शहरका धेरै ठाउँ घुमाएर त्यहाँको जिवन्ताका बारेमा जानकारी दियौँ। पुनर्निर्माण हुँदै गरेका सम्पदा र परम्परागत सस्कृतिका बारेमा पनि हामीले प्रत्यक्ष जानकारी दियौँ। त्यति मात्र होइन नेपालमा शान्ति छ। नेपाल घुम्न आउँदा कुनै पनि समस्या छैन भन्ने सन्देश उहाँहरुलाई दिन सफल भयौँ।’ 

उनले विदेशी पाहुनलाई नेपाल बोलाउनुको अर्को कारण पर्यटन वर्ष सफल बनाउन पनि रहेको बताए। ‘हामीले विदेशी पाहुनालाई यहाँ बोलाउनुको प्रमुख उदेश्य भनेको यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गराउनु हो,’ उनले भने,  ‘त्योसँगै इन्द्रजात्रालाई हामीले विश्वसामू चिनाउनका लागि पनि यसरी विदेशी पाहुनालाई बोलाएका हौँ।’ 

उनले काठमाडौँमा हेर्न लायकका सम्पदा धेरै छन् भन्ने सन्देश दिनका लागि पनि विदेशी पाहुनालाई बोलाएको जानकारी दिए। इन्द्रजात्रा अवलोकनका लागि आउनुभएका पाहुना सोमबार स्वदेश फर्किने कार्यक्रम छ। 

प्रकाशित: २९ भाद्र २०७६ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App