काठमाडौं – विवादित आदेश दिएको भनी विवादमा परेका उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादवले न्यायपरिषद्मा आइतबार राजीनामा दिएका छन्। न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएको केहीदिनमै यादवले पनि अधिकारीकै पदचाप पछ्याएका छन्।
गोरखा ब्रुअरी र आन्तरिक राजस्व कार्यालय बीच चलेको विवादको सुनुवाइमा गोरखा बु्रअरीको पक्षमा अन्तरिम आदेश दिएको अभियोगमा न्यायपरिषद्ले अनुसन्धान सुरु गरेपछि उनीहरूले राजीनामा दिएका हुन्। आफूमाथि कारबाही हुनसक्ने भएपछि उनीहरूले कारबाहीबाट बच्न राजीनामा गरेको अनुमान गरिएको छ।
सोही आरोप खेपिरहेका न्यायाधीश अधिकारीले भदौ २ मा राजीनामा दिएका थिए। न्यायाधीश यादवले प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जबरासमक्ष राजीनामा दिएका छन्। न्यायाधीश यादवले सोधपुछको लागि न्यायपरिषद्वारा गठित सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको अध्यक्षताको छानबिन समितिमा उपस्थित भई आफ्ना कुरा राखिसकेपछि राजीनामा गरेको सूत्रहरूको दाबी छ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमासमिति गठन गरेको थियो भने न्यायाधीश मल्लको समितिले विवादित विषयमा अनुसन्धान गरिहेको थियो। आन्तरिक राजस्व विभाग, चितवनले कर निर्धारण गरेको विषयलाई लिएर गोरखा ब्रुअरीले उच्च अदालत पोखरामा रिट दायर गरी आफ्नो पक्षमा आदेश आएपछि विवाद बढेको हो। रिट निवेदकको पक्षमा अन्तरिम आदेश दिने न्यायाधीशहरू अधिकारी र यादव तथा मुख्य न्यायाधीश यज्ञ बस्यालसमेत विवादमा परेका छन्।
सो अन्तरिम आदेशविरुद्ध विभागले सर्वोच्च अदालतमा रिट लिएर आएपछि प्रधानन्यायाधीश जवराको एकल इजलासले ती न्यायाधीशविरुद्ध कारबाही गर्न न्यायपरिषद्लाई ओदश दिएको हो।
प्रकाशित: ९ भाद्र २०७६ ०१:२५ सोमबार