८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सडकका कर्मचारी र प्रहरी परिचालन गरेर रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु

धुन्चे स्याफ्रु सडक खण्डको खोपाङ भीरमा सोयलिङको काम गरिँदै ।

रसुवा– सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरेर सडक मर्मत सुरु गरिएको छ। नाका जोड्ने सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएपछि सडक मर्मत काम सुरु गरिएको हो।

आइतबार सडक मर्मत गर्नका लागि नौ जना शसस्त्र प्रहरी र पाँच जना डिभिजनका कर्मचारी परिचालन गरिएको थियो। यसका लागि गोसाइँकुण्ड गाउँपालिकाले एउटा ट्रक उपलब्ध गराएको थियो। 

गएको साउन २१ गतेदेखि मर्मत सुरु गरिएको भने पनि हालसम्म सडकको कुनै पनि स्थानको खाल्डा पुरिएको छैन। जिल्लामा सडक डिभिजन कार्यालय नहुँदा प्रभावकारी रूपमा काम हुन नसकेको जनगुनासो आएको  छ।

हिउँदको समयमा काम नगर्ने र वर्षाको समयमा मात्रै काम गर्ने प्रचलन अहिले पनि दोहोरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले धेरै बिग्रिएको ठाउँमा मात्रै सुरक्षाकर्मी परिचालन गरेर काम गरिने बताए। 

बाँकी ठाउँमा सडक डिभिजन कार्यालयले आफैंले गर्ने उनको भनाइ छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक भए पनि संघीय सरकारबाटबाट न्यून बजेट आउँदा आवश्यकता भएको ठाउँमा पनि सडक सुधारको काम गर्न नसकिएको डिभिजन प्रमुख निरज शाक्यले बताए। ‘सडक मर्मतका लागि कादार नपाउँनु अर्को समस्या हो’, उनले थपे। 

जिल्लामा दैनिक ज्याला एक हजारभन्दा कम नभएको र सो अनुसार ज्याला दिन नसक्ने कार्यालयले जनाएको छ। स्याउबारी स्याफ्रु सडक खण्डमा दजनौं खाल्डा परेको छ। शनिबार खोपाङ भीरको उकालोमा १५ मिटर रक सोयलिङ गरिएको छ। सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक डिभिजनका कर्मचारी सहित करिब ३० जना खटाइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। 

स्याउबारी, राम्चे, मूलखर्क तथा खोपाङ भीरमा सवारी सञ्चालन गर्न नसकिएको चालक प्रेम बुलुनले बताए। ‘यी खण्डमा सवारी उक्लन नसक्दा दैनिक रूपमा धकेल्नुपर्ने हुन्छ’, उनले भने, ‘यसका लागि सबैको ध्यान दिनु पर्छ’, उनले भने। 

प्रकाशित: १ भाद्र २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App