८ वैशाख २०८१ शनिबार
समाज

साँघुटार बजारमा आगलागी, चार घर जलेर नष्ट

रामेछाप– रामेछाप नगरपालिका वडा नं ३ को साँघुटार बजारमा विहीबार भएको आगलागीबाट ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। घर भित्रका अधिकांश सामानहरु समेत जलेका छन्। 

साँघुटार बजारमा रहेको राजन सुबेदीको घरबाट बिहान ८ बजे शूरु भएको आगलागीले ४ वटा घरलाई जलाएको छ। करिब ३ घण्टा सम्म आगलागी हुँदा राजन सुबेदीको दुइ तले, अंकित श्रेष्ठको ३ तले पक्की घर, हरिमाया मगर र अनिष मगरको भूकम्प प्रतिरोधी कटेज, जलेर नष्ट भएको छ। शिव खड्काको पसलका सामान समेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

राजन सुवेदीको घरमा विद्युत सट हुँदा आगलागी भएको रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए। राजन सुबेदीको घरमा सुवेदी आफैले संचालन गर्दै आएको सिंह देवी निर्माण सेवाको गोदाम रहेको र उक्त गोदाममा पेट्रोल डिजेल, ग्यास लगायतका आगोको जोखिमयुक्त सामग्री रहेकोले आगलागीले एकै छिनमा ठूलो रुप लिएको पाइएको प्रहरीको भनाई छ। 

दिनको समयमा आगो लागेकाले मानवीय क्षति भने हुन नपाएको कांग्रेस साँघुटारका वडा सभापति मनोज खड्काले बताए। रातको समयमा आगो लागेको भए धेरै घरहरु जल्ने र ठुलै मानवीय क्षति हुने अवस्था साँघुटारमा रहेको खड्काले बताए। साँघुटार जिल्लाको पुरानो बजार मध्येको एक बजारका रुपमा रहेको छ। पहिलेदेखि नै झुरुप्प घर रहेको यस बजार क्षेत्रमा पछिल्लो समय एकअर्कासँगै जोडिएर थुप्रै घरहरु बनेका छन्। जसका कारण आगलागीबाट ठूलो क्षति हुने अवस्था छ। यसअघि पनि साँघुटार बजार पटक पटक आगलागीको मारमा पर्दै आएको छ। 

आगलागी पश्चात प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी(पाण्डे) समेत स्थलगत निरीक्षण र आगलागी पीडितहरुको अवस्था बुझ्न बिहीबार अपरान्ह नै साँघुटार पुगेकी थिइन्। 

प्रकाशित: ९ श्रावण २०७६ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App