४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

तोडफोडबाट क्षति पुगेको भेन्टिलेटर एवं आईसीयु कक्षको मोनिटर। तस्बिर: टंक/नागरिक

सर्लाही - सर्पले टोकेपछि अस्पताल पु-याइएकी बालिकाको समयमै उपचार हुन नसक्दा मृत्यु भएपछि आक्रोशित भीडले अस्पताल तोडफोड छ। स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयको भीडले सोमबार राति नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा तोडफोड गरेको हो।

हरिवन नगरपालिका–९ निवासी पुष्कर बुढाथोकीकी साढे २ वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले टोकेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। तर बेलैमा उपचार हुन नसकेपछि उनको मृत्यु भएको थियो। बालिकालाई अस्पताल पु¥याउँदा स्वास्थ्यकर्मी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको दाबी आफन्त एवं स्थानीयको छ।

राति ९ बजे स्वास्थ्यकर्मीहरूले बालिकाको मृत्यु भएको बताएपछि आक्रोशित भीडले अस्पतालको भेन्टिलेटर तथा आईसीयूको मोनिटरलगायत उपकरण एवं भवनका झ्यालका सिसा फुटाइदिएका हुन्। सदरमुकाम मलंगवाबाट प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरण न्यौपानेलगायत नेतृत्वमा बाक्लै सुरक्षाकर्मीको उपस्थिति भए पनि भीड अनियन्त्रण भएको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले राति १ बजे शव बुझेको हरिवन नगररपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए। ‘अस्पतालका कर्मचारीले मादक पदार्थ सेवन गरेको र बाहिर रहेका डाक्टरसमेत बोलाउँदा समयमै नआएको भन्ने मृतकका आफन्त एवं स्थानीयबाट गुनासो आएको छ,’ उनले भने, ‘सर्पदंशका बिरामी उपचार गर्ने संवेदनशील संस्था अलि व्यवस्थित नभएको देखियो।’ एक स्वास्थ्यकर्मी मादक पदार्थ सेवन गरेर आएकाले उपचारमा लापरबाही भएको मृतकका आफन्त एवं स्थानीयले आरोप लगाएका छन्।

उपचारमा संलग्न दुई स्वास्थ्यकर्मीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। उनीहरूलाई कागज गरेर मंगलबार दिउँसो छाडिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए। तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बोधराज काप्mलेले जानकारी दिए। ‘ठूलो दुःख गरेर भेन्टिलेटर तथा आइसियु जडान गरिएको थियो,’ अध्यक्ष काफ्लेले भने, ‘अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ, अब अस्पताल सञ्चालन गर्न नसकिने अवस्था आएको छ।’ चिकित्सक अर्जुन लामालगायत स्वास्थ्यकर्मीको टोलीमाथि कुटपिट भएको अध्यक्ष काफ्लेले जानकारी दिए। सर्पले दुई ठाउँमा टोकेको र सानी बालिका भएकाले उपचारमा जति प्रयास गरे पनि बचाउन नसकिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अध्यक्ष काफ्लेले दाबी गरे।

‘अस्पतालको मात्र होइन, सर्पदंशको उपचारका लागि यो क्षेत्रकै एक मात्र सुविधा सम्पन्न अस्पतालमा ठूलो क्षति पुगेको छ,’ काप्mलेले भने, ‘अब यस क्षेत्रका सर्पदंशका बिरामीले सहज उपचारमा नपाउने भएका छन्।’

सर्पदंशको प्राथमिक उपचार मात्र हुँदै आइरहेको नवलपुर स्वास्थ्य चौकीमा गत जेठमा मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको ५ लाख गरी ३५ लाख रुपैयाँ खर्च गरेर आइसियु एवं भेन्टिलेटर जडान गरिएको थियो। सोमबार रातिको तोडफोड एवं स्वास्थ्यकर्मीमाथिको कुटपिटका कारण उपचार सेवा बन्द भएको अध्यक्ष काफ्लेले जानकारी दिए।

उपकरणमा क्षति पुगेको र त्रासका कारण स्वास्थ्यकर्मीले काम नगरेका कारण मंगलबार बिहान पाँचजना सर्पदंशका बिरामी फर्किएको अस्पताल व्यवस्थापनले जनाएको छ। ‘उपकरणमा क्षति र स्वास्थ्यकर्मीले काम नगरेका कारण उपचारका लागि आएका बिरामी अन्यत्रै जान बाध्य भएका छन्,’ काफ्लेले भने। अस्पतालले मंगलबार बिहानै सूचना प्रकाशन गरेर उपचार सेवा बन्द भएको जानकारी गराएको छ। अध्यक्ष काफ्लेले अस्पतालमा उचित सुरक्षा व्यवस्थासहित क्षति भएका उपकरणको वैकल्पिक व्यवस्था मिलाउन प्रजिअसहित सरोकारवालासमक्ष आग्रह गरे।

प्रकाशित: २५ असार २०७६ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App