२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

वर्षेनी किन डुब्छ नेपालगन्ज उपमहानगर ?

अविरल बर्षाले जलाम्य भएको नेपालगन्जस्थित घरबारीटोल सडक । तस्बिरः नागरिक

नेपालगन्ज– अविरल रुपमा परेको वर्षाले शनिबार पनि नेपालगन्ज उपमहानगरको विभिन्न क्षेत्र छिनभरमै जलाम्य भयो। ढल तथा नालामा पानीको सहज निकास नहुँदा घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, सदरलाईन लगायत क्षेत्र जलाम्य भए। नाला थुनिँदा केही घर तथा पसलभित्र पानी पस्यो। यसअघि असार ८ गते भएको वर्षाले पनि उपमहानगरको यस्तै हालत भएको थियो। डुबान समस्या नेपालगन्जका लागि नौलो भने होइन्। उपमहानगरभित्रको ढल अब्यवस्थित हुँदा पटक–पटक डुबान समस्या निम्तिने गरेको छ।

नेपालगन्जमा विशेषगरी २०६३ सालयता वर्षेनी डुबान समस्या निम्तिन थालेको हो। उपमहानगरभित्र रहेका पुराना ढल तथा नाला अतिक्रमणमा परेका छन्। पानी जम्मा हुने खाली ठाउँमा धमाधम घर निर्माण भइरहेका छन्। सडक छेउमा निर्माण गरिएका प्रायः नाला अवरुद्ध अवस्थामा छन्। तसर्थ, वर्षा हुने बित्तिकै नेपालगन्जबासीलाई सधैं डुबान समस्याले पिरोल्छ।

विगतका वर्षमा पनि नेपालगन्जबासीले सामान्य वर्षामै डुबान समस्या खेप्ने गरेका थिए। एशियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा एकिकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनकै क्रममा रहेको छ। उपमहानगरको ढल तथा नाला व्यवस्थापन, सडक निर्माण र फोहोरमैला व्यवस्थापन गर्ने आयोजनाको मुख्य उद्देश्य हो।

आयोजना सञ्चालनमा आएपनि नेपालगन्जबासीले डुबान समस्याबाट मुक्ती पाउन भने सकेका छैनन्। आयोजनाले निर्माण गरेका ढल तथा नाला नै डुबानको बाधक रहेको यहाँका नागरिक अगुवा बताउँछन्। निर्माण गरिएका ढल तथा नालाको समयमा सफाई नहुनु, पानी बग्ने क्षमताभन्दा नालाको साईज सानो बनाइनु डुबानको मुख्य कारण भएको विकासका लागि नागरिक सरोकार समिति संयोजक एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन्।

‘उपमहानगरका ठुला नाला अहिले पनि सफा गरिएको छैन, सुर्खेत रोड, न्युरोड लगायत कतिपय ठाउँमा सडकको किनारामा नाला पुरै जाम छन्,’ श्रेष्ठले नागरिकसँग भने ‘पानीको बहाब ठुलो हुन्छ, नालाको क्षमता सानो छ, त्यसैको परिणामले हो हरेक वर्ष नेपालगन्ज डुब्ने।’ उपमहानगरका जनप्रतिनिधी तथा कर्मचारीले जनस्तरबाट उठेको आवाजलाई सुन्न नचाहँदा हरेक वर्ष डुबान समस्या बल्झिने गरेको उनको भनाइ छ।

आयोजनाले यतिबेला उपमहानगरका विभिन्न स्थानमा सडक तथा नाला निर्माण गरिरहेको छ। निर्माणका क्रममा कतिपय ढल तथा नाला अवरुद्ध पारिएको छ। अवरुद्ध रहेको ढल तथा नालाको पानी कतै बग्न पाएको छैन। विशेषगरी उपमहानगरको घरबारी टोल लगायत स्थानमा सडक निर्माण कार्य चलिरहेका कारण नाला अवरुद्ध पारिएको छ। सोही कारण नालामा बग्ने पानी जलाम्य भएको र घरभित्रै पसेको घरबारीटोलका ब्यवसायी एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता दत्तप्रसाद आचार्य बताउँछन्। नेपालगन्ज उपमहानगरपालिकाको गैर जिम्मेवारीपनका कारण घरबारीटोलका बासिन्दाले डुबानको सास्ती खेप्नु परेको र सडकमा हिडडुल गर्नै असहज भएको उनले सुनाए।

नेपालगन्ज उपमहानगरपालिकाले भने डुबान समस्या बिस्तारै कम हुदै गएको दाबी गरेको छ। आयोजनाका इन्जिनियर शैलेन्द्र मर्हजन सडक र नाला निर्माण भएको ठाउँमा डुबान समस्या अन्त्य भईसकेको दाबी गर्छन्। ‘अहिले घरबारीटोल क्षेत्रमा आयोजनाले आफ्नो काम गरिरहेको छ, काम गर्ने क्रममा नाला बन्द गरिएको छ,’ उनले भने ‘समयमै निर्माणको काम गर्न दिएको भए अहिले यो समस्या आउने थिएन।’ आयोजनाले आफ्नो सम्पुर्ण काम १७ अगस्त, २०२० मा सम्पन्न गरिसक्ने जानकारी दिदै इन्जिनियर महर्जनले भने, ‘जब आयोजनाले आफ्नो सम्पुर्ण काम सम्पन्न गर्छ, त्यसपछि नेपालगन्ज डुबानबाट मुक्त हुनेछ।’ नेपालगन्ज क्षेत्रको भौगोलिक बनावट ‘लो ल्याण्ड’ भएका कारण पनि सामान्य वर्षा हुने बित्तिकै सडक जलाम्य हुने गरेको सम्वद्ध इन्जिनियर बताउँछन्।

 

 

 

प्रकाशित: २१ असार २०७६ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App