काठमाडौं - एउटा आँखा र नाकमा सेतो पट्टी बाँधिएको, अर्को आँखामाको छेउमा छाला टाँसिएको, अनुहारको ठाउँठाउँमा टाँका लगाइएका दागहरू र केही खाटा बसेका घाउहरू। उनलाई देख्ने जोसुकैले उनी गाडी दुर्घटनामा परेको अनुमान लगाउतर जुम्ला चन्दना नगरपालिका जाँतेभिडका २० वर्षीय जीवन सुनारको गत पुसमा भालुले आक्रमण गरेपछि यस्तो हविगत भएको हो।
गत पुस ४ गते स्याउको बगैचा बार्ने निगालो ल्याउन जंगल गएका बेला उनी भालुको आक्रमणमा परेका थिए। उनको दाहिने आँखा भालुले निकालेको छ भने अनुहारको अन्य भाग क्षतविक्षत भएको छ। अहिले उनको शरीरको उपचार शुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको छ भने आँखाको उपचार तिलगंगा आँखा प्रतिष्ठानमा।
जीवन निगालो काट्न गाउँका तीनजना साथीसहित जंगल पुगेका थिए। उनी एउटा घारीमा निगालो काट्न थाले, साथीहरू अर्को घारीतिर गए। निगालो काट्न थालेको एकैछिनमा उनलाई भालुले आक्रमण ग-यो। आक्रमणबाट उनको दाहिने आँखा खस्यो। त्यसपछि पनि भालुले चिर्थोन छोडेन। अनुहारको नाक, कन्चिट सबै धुजाधुजा भए। अनुहारको अघिल्लो भाग च्यातिएर च्यापुअघि झुन्डियो। उनले आँखा देख्नै सकेनन्। भालु उनी घाइते भएको नजिकै बसेर कराइरहेको थियो। भालुले आफूलाई मार्ने देखेपछि उनमा भालुलाई पनि आक्रमण गर्ने सोच आयो। उनले भालुले मुख खोलेको मौका पारी भालुको मुखभित्रै हात पसाए। भालु एकछिन अकमकियो। उनले हात निकालेपछि भालु उनलाई छोडेर गयो।
उनी जंगलमा कराइरहे। गुहार सुन्ने साथीहरू गइसकेका रहेछन्। कसैले सुनेन। उनी दुवै आँखा देख्न नसक्ने भएका थिए। शरीरबाट तरतरी रगत बगिरहेको थियो। तर श्वास रहेसम्म आस हुन्छ भनेझैं उनी कराउँदै, लत्रिदैं अघि बढे। लत्रिँदै जाँदा झाडीमा परे। त्यहाँबाट कता जाने मेसो पाएनन्। त्यही झाडीबाट कराउन थाले। जंगलदेखि केही तल रहेको बारीमा महिलाहरू काम गरिरहेका थिए। संयोेगले ती महिलाहरूले उनी कराएको आवाज सुने।
तर उनीहरूले जंगलतिरबाट आएको त्रासयुक्त आवाजलाई ‘भूत’ ठाने र भाग्न खोजे। महिलाहरूले भूत भनेको सुनेपछि जीवनले ‘म भूत होइन यो गाउँको जीवन हुँ, भालुले कोप-यो,’ भनेर कराए। त्यसपछि महिलाहरूले गाउँलेलाई गुहारे र गाउँलेहरू भेला भएर जुम्ला अस्पतालतिर लगे। जंगलदेखि दुई घण्टा बोकेर, त्यसपछि अटोरिक्सामा राखेर जुम्ला अस्पताल पु-याइयो। जुम्ला अस्पतालमा ४८ घण्टा आइसियुमा राखेर रगत चढाउने र घाउ सिलाउने उपचार भयो। पुस ६ गते हवाइजहाजबाट नेपालगन्ज र नेपालगन्जबाट त्यही साँझ काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पु-याइयो। ट्रमा सेन्टरले तिलगंगा आँखा अस्पतालमा पठायो र तिलगंगाले त्यही दिन सुष्मा कोइराला अस्पताल साँखु रेफर ग-यो।
उनको अनुहारमा रहेको घाउ फरक विधाका चिकित्सकले गर्नुपर्ने भएकाले तिलगंगाका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजु र शुष्मा कोइराला अस्पतालका निर्देशक डा.जसमान शाक्य उनको शल्यक्रियामा सहभागी भए। उनको उपचार एकै पटक सकिने अवस्थाको थिएन। यो अवधिमा भालुले च्यातेको भागलाई सामान्य अवस्थामा फर्काउने प्रयास शुष्मा कोइराला अस्तपालले गरेको छ भने भालुको आक्रमणमा परेको आँखालाई सामान्य अवस्थामा फर्काउने प्रयास तिलगंगाले गरिरहेको छ। उनको एउटा आँखालाई देख्न सक्ने बनाउने र गुमेको आँखाको पुनर्निर्माण गरी सामान्य स्वरूप दिने प्रक्रिया भइरहेको डा. रोहित सैजुले बताए।
लगातार सात महिनाको उपचार अवधिमा उनको खाल्डा परेको भाग एलपिआरएफ पद्धति (रगत र प्लाज्मा राखेर हड्डी निर्माण गर्ने प्रक्रिया) बाट पुरिने उपचार भएको छ। तिलगंगा आँखा अस्पतालले भने उनको हातबाट छाला निकालेर आँखाको पुर्नसंरचना र दृष्टि ल्याउने प्रक्रिया अघि बढाइरहेको छ। नाकको पुनः संरचनाको काम बाँकी छ।
उपचारको क्रमसँगै उनमा जीवनप्रतिको आशा फेरि जाग्न थालेको छ। ‘डाक्टरले प्लास्टिक सर्जरीबाट गुमेको आँखा, नाक बनाइदिने भन्नुभएको छ,’ बिहीबार तिलगंगा आँखा अस्पताल परिसरमा भेटिएका जीवनले भने, ‘सुरुमा काठमाडौं आउँदा बाँच्छु जस्तोे लागेको थिएन। उपचार थालेको पन्ध्र दिनपछि बाँच्छु जस्तो लाग्यो।’ उपचारले भालुले निकालेको आँखा त मिल्दैन तर बचेको देब्रे आँखाले संसार देख्न पाउने उनको आशा छ। ‘यो आँखामा अलि–अलि उज्यालो आउन थालेको छ, देखें भने केही गर्छु भन्ने लाग्छ,’ उनले भने।
सात महिनाको अवधिमा साँखु अस्पताल र तिलगंगाको उपचार खर्चसहित खाना तथा अन्य गरी अहिलेसम्म सात लाख रुपैंया खर्च भइसेकेको जीवनका बुबा कलिमानले बताए। ‘ऋण खोजेको सात लाख रुपैयाँ सकियो,’ कलिमान आँखाभरि आँसु पार्दै भने, ‘कसरी तिर्ने ?’
प्रकाशित: २० असार २०७६ ०१:१३ शुक्रबार