खानेपानी हाहाकार (फोटो फिचर)
जुटपानी(सिन्धुली)– यहाँको हरिहरपुरगढी गाँउपालिका-४ जुटपानीमा खानेपानीको हाहाकार भएको छ। पानीको एकमात्र मुहान बस्तिभन्दा तल भएकाले खानेपानी हाहाकार भएको स्थानीय बताउँछन्। स्थानीयका अनुसार पानी बोक्ने काममा महिलाहरु दैनिक घण्टौसम्म खट्नुपर्ने अवस्था छ।
बस्तिभरि धारा नभएको पनि होइन। पानी नभएको सुख्खा धारा बनेको पाँच वर्षभन्दा बढी भइसकेको छ, तर धारामा पानी नआएको स्थानीय बताउछन्। गाउँभरी भएको सुख्खा धारा २०६६ सालमा गरिबी निवारण कोषको सहयोगमा दियालो परिवार नामक गैरसरकारी संस्थाबाट निर्माण भएको जानकारी धाराबाटै लिन सकिन्छ। धारामै उक्त जानकारी दिने लेख राखिएको छ तथापी पानी भने धारामा आएको छैन्।
गैरसरकारी संस्थाले धारा बनाएको केहि समयमात्रै धारामा पानी आएको र हाल पानी नआएको स्थानीय बताउँछन्। गैरसरकारी संस्थाले गरेको काम दिगो भएन, पानी लिन बस्तिबाट केहि टाढा रहेको मुहानमा भेटिएकी स्थानीय सविना राईले भनिन्, गरिबी निवारण कोष नेवा उर्जा जस्ता नाम गरेका संघसस्थाले केहि काम गरेपनि पानीको समस्या समाधान भएन्। टाउकामा र काखीमा एकै पटक दुई गाग्री पानी लिएर घर फर्कदै गरेकी काली राई पानीको समस्याका कारण एकै पटक दुई गाग्री पानी बोकेको बताउँछिन्। टाढाबाट कुवाको पानी ल्याउनुपर्ने भएकाले पानीको समस्या रहेको उनले बताइन्। हामी दैनिक पानी बोक्न बाध्य छौ, उनले भनिन्, घर नजिकै धारा छ, तर पानी आउँदैन । पानी नआउने धारा हेर्नुबाहेक केहि विकल्प नभएकाले पानी बोक्न आफुहरु बाध्य भएको उनको भनाई छ। पानीको समस्या गाँउभरिलाई उस्तै छ। एनजिओले धारा बनाइदिए पनि दिगो र टिकाउ हुन नसकेको स्थानीय बताउँछन्।
‘एनजिओले जहाँ मुहान देखेर बनायो, त्यहा अहिले पानी छैन’, एक स्थानीयले भने, ‘जहाँ मुहान छ, त्यहाँबाट ल्याउने संस्था छैन्।’ उनले वस्तिबाट तल पानीको मुहान भएकाले धारामा पानी ल्याउन नसकिएको बताए। पछिल्लो समय तिब्र विकास भएसँगै हरिहरपुरगढीका धेरै वडामा पानीको हाहाकारनै मच्चिएको स्थानीय बताउँछन्। एक गाग्री पानीका लागि घटौं कुर्नुपर्ने बाध्यता स्थानीयमा रहेको छ। जुटपानीकै मानबहादुर राई दुई वर्षदेखि सबैले एउटै मुहान प्रयोग गरेको बताउँछन्। पचास घर भन्दा बढी भएको टोलबासीले एउटै मुहान प्रयोग गरेका छौ, उनले भने, टाढा हुँदा पानी खान निक्कै दुःख छ।
मरिन खोला नजिकै बगेको भएपनि खोलो हेर्नु बाहेक स्थानीयलाई अन्य विकल्प छैन्। खानेपानी बनाउने नाममा संघसंस्थाले लाखौ रकम खर्चेपनि त्यसको उपलब्धि स्थानिय स्तरमा देखिएको छैन्। कागज मिलाएर योजना सक्ने गरेकाले दिगो विकास हुन नसकेको स्वयम् स्थानिय बताउँछन्।