काठमाडौं - नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ।
आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना मेनेजर प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो। ‘पाइपलाइन बिछ्याउने काम सम्पन्न गरेर प्रेसरमा पानी पठाएर टेस्टिङ गरेका छौं,’ यादवले भने, ‘डबल÷त्रिपल प्रेसरमा पानी पठाउँदा पनि पाइपलाइन सफल भयो।’
पाइप फुट्न सक्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो। ‘१८२ केजी प्रतिसेन्टिमिटर इस्वायरको प्रेसरमा पाइपको हाइड्रो टेस्ट गरेका छौं,’ यादवले भने, ‘अब तेल ल्याउन पाइपको अवस्था रेडी छ।’ पाइप कतै कमजोर भएर फुट्न सक्ने, लिकेज हुन सक्ने भएकाले पानी हालेर परीक्षण गरिएको उनले बताए।
भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। १५ महिनाअघि सुुरु भएको मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइप बिछ्याउने परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट इन्धन ल्याउने बाटो खुलेको हो। अब आइओसीका अधिकारीसँग बैठक गरी पाइपलाइनबाट इन्धन ल्याउने भन्ने मिति तय गरिनेछ।
पाइपलाइनबाट सबै प्रकारका पेट्रोलियम पदार्थ ल्याउन सकिने भए पनि अहिले डिजेलमात्र ल्याउने योजना रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। पौडेल नेतृत्वको टोली पाइपलाइन परीक्षण अवलोकन हेरेर मंगलबार काठमाडौं फर्किएको छ। ‘पाइपलाइनको टेस्ट सफल भएको छ,’ पौडेलले भने, ‘अब आइओसीसँग बैठक बसेर डिजेल ल्याउने मिति तय गर्छौं।’
पाइपाइन नेपालतर्फ अमलेखगन्जदेखि रक्सौलसम्म ३६.२ किलोमिटर लामो छ। पाइपलाइन अमलेखगन्ज, पथलैया, सिमरा, जितपुर, रामपुर टोकनी, पर्वानीपुर, गण्डक हुँदै वाइपासबाट नेपाल भन्सार वीरगन्ज हुँदै शंकराचार्य गेटबाट दक्षिण सिर्सिया नदी किनार हुँदै भारतसँग जोडिएको छ।
पाइपबाट प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। अहिले दैनिक २० घन्टा पाइपबाट इन्धन ल्याउने योजना निगमको छ। दैनिक ४८ लाख लिटर पेट्रोलियम पदार्थ ल्याउने क्षमता पाइपको छ। भारतले नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ ढुवानी रोकेको थियो। पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेपछि अब उसले इन्धन आपूर्ति रोक्न पाउने छैन।
निगमले अमलेखगञ्ज डिपोमा दुई करोड लिटर क्षमताको डिजेल भण्डारस्थल बनाएको छ। ‘पाइपलाइनबाट ल्याएको डिजेल भण्डारण गर्न ट्यांकी पनि निर्माण भइसकेका छन्,’ उनले भने, ‘अब कम्युटर र फ्लोमिटर जडान गर्ने काममात्र बाँकी छ।’
चार अर्ब ४० करोड रुपैयाँ लागतको पाइपलाइन परियोजना आइओसीले निर्माण गरेको हो। त्यसमा भारतको तीन अर्ब २० करोड रुपैयाँ अनुदान र एक अर्ब २० करोड नेपालको लगानी छ। २०७४ चैतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा परियोजना शिलान्यास गरेका थिए।
सन् १९९५ मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। सन् २०१४ को अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला यो परियोजनामा दुई देशबीच सम्झौता भएको थियो।
अहिले भारतबाट करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन्। पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा करिब तीन अर्ब रुपैयाँ जोगिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘अब इन्धन ढुवानीमा हुने खर्च जोगिने भएको छ,’ गोइतले भने, ‘यहाँ खपत हुने सबै डिजेल पाइपलाइनबाट आउँछ।’ अहिले रक्सौल हुँदै दैनिक करिब दुई हजार किलोलिटर डिजेल आयात भइरहेको छ। पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्नेछ। पेट्रोलिय पदार्थ चोरी, चुहावट र मिसावट रोक्न पनि पाइपलाइन सहयोगी हुनेछ।
प्रकाशित: ४ असार २०७६ ००:५२ बुधबार