सिन्धुपाल्चोक– जुगल हिमशृंखलाको काख ने–पेमासाल उपत्यकामा जुगल गाउँपालिकाको कार्यपालिका बैठक बस्यो। जुगल हिमशृंखला, ने–पेमासाल उपत्यका र आसपास क्षेत्रको विकास गर्ने निर्णय लिन आधार शिबिरमै पुगेर कार्यपालिका बैठक बसेको हो।
‘देवताहरुको राजधानी’ मानिने जुगल काख ने–पेमासालमा बैठक बस्न गाउँपालिकाले साताब्यापी कार्यक्रम बनाएको थियो। गाउँपालिकाले आफ्नो २१ औँ कार्यपालिका बैठकलाई जुगल बिशेष बनाएको हो। बैठकले जुगल क्षेत्रको पर्यटन विकासमा टेवा पु¥याउने विभिन्न निर्णय गर्दै ११ बुँदे ने–पेमासाल घोषणापत्र जारी गरेको छ।
तीन हजार पाँच सय मिटर उचाइमा बसेको बैठकले ने–पेमासाल बृहत्तर परियोजना सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। ‘परियोजनामा विभिन्न कार्यक्रम समेटिएका छन्,’ बैठक सकेर फर्केपछि श्रेष्ठले मंगलबार नागरिकसँग भने। उनका अनुसार आधार शिविरमा यो महत्वकांक्षी परियोजना सञ्चालन गर्न बैठकले जुगल उच्च स्तरीय समिति गठन गर्ने निर्णय लिएको छ।
बैठक बस्न कार्यपालिका सदस्य गाउँपालिकाको साविक केन्द्र ढाडे बजारदेखि तीन दिन पैदल हिँडेर राजधानीबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको आधार शिविर पुगेका थिए। अध्यक्ष श्रेष्ठका अनुसार बैठकले ने–पेमासाल उपत्यका र दोस्रो शिविर बुम्बाशेर्पु आसपासलाई विशेष क्षेत्र घोषणा गरेको छ। विशेष क्षेत्रमा अतिक्रमण रोक्ने नीति अघि सारिएको उनले जानकारी दिए। ‘बृहत्तर परियोजना सञ्चालन गर्न आगामी गाउँसभाबाट आवश्यक कानुन बनाउने भएका छौँ,’ गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका श्रेष्ठले भने।
ने–पेमासालमा हिमाल आरोहण तालिम केन्द्र, अनुसन्धानकेन्द्र तथा विश्वबिद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको बैठकले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यमा सूचिकृत गर्न सरकारसँग मागसमेत गरेको छ। बाह्रैमास हिउँले ढाक्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण ने–पेमासाल उपत्यका धार्मिक दृष्टिले महत्वपरुर्ण मानिन्छ। बौद्धधर्म गुरु पद्यमसम्भवले साधना गरेको र हिन्दुहरुका ऋषि ब्रह्माले तपस्या गरेको स्थलको रुपमा ने–पेमासाललाई चित्रण गरिँदै आएको छ। स्थानीयका अनुसार ने–पेमासालको अर्थ देवताहरुको स्वर्ग वा देउताहरुको तीर्थ हुन्छ। बैठकले गुरु, ऋषिहरुले साधना, तपस्या गरेको भनिएको स्थानमा बुद्धमूर्ति निर्माण गर्ने र विभिन्न गुफा, ओडार संरक्षण गर्ने निर्णय गरेको छ।
बैठकले यस क्षेत्रको बनस्पति तथा जैविक संरक्षणमा जोड दिँदै गुम्बाको क्याङसिङ, अम्बाखर्क गाउँ हुँदै पहाडका चुली–चुली भएर ने–पेमासाल पुग्ने पदमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम अघि सारेको छ। ‘आधार शिविर पुग्न तीन दिन लाग्ने समयलाई छोट्याउन यस्तो सम्भाव्यता अध्ययन गर्न लागेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने। जुगल आरोही र पदयात्रीलाई स्थानीय परिकारको स्वाद चखाउन बिषादी र रासायनिक मल प्रयोलाई निरुत्साहित गर्दै अर्गानिक कृषिउपज र खाना उत्पादनलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने बैठकको निर्णय छ।
जुगल गाउँपालिकाकै अग्रसरतामा गएको चैतमा पहिलो पटक जुगल आरोहण भएको थियो। आरोहीत्रय माया गुरुङ, मिलन तामाङ र शर्मिला थापाले हिमशृंखलाको ग्याल्चेन चुचुरो (६१५१ मिटर) आरोहण गरेका थिए। ने–पेमासाल आधार शिविर भएर ग्याल्चेन, याङ्री, फुर्पाघ्योचु लगायत आधा दर्जन हिमाल आरोहण गर्न सकिन्छ। यसअघि नै गाउँपालिकाले आधार शिविरसम्म केबुलकार पु¥याउने घोषणा गरिसकेको छ।
यसको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार भइसकेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले अब बिस्तृत अध्ययन अघि बढाउने तयारी थालिएको जनाए। ‘जुगल र ने–पेमासाल क्षेत्रको विकास गर्न प्रत्यक्ष सम्भाव्यता खोजी गर्दै त्यही ठाउँमा पुगेर कार्यपालिका बैठक राखेका हौँ,’ उनले भने। बैठकअघि कार्यपालिका सदस्य सम्भाव्यता खोजी गर्दै चार हजार पाँच सय ४५ मिटर उचाइको दोस्रो शिविर पुगेका थिए। बौद्धधर्म गुरुले ध्यान, साधना गरेको भनिएको स्थलमा बुद्ध जयन्तीकै अवसर पारेर कार्यपालिका बैठक जुराएको हो। कार्यपालिकाका १५ मध्ये १० सदस्य बैठकमा भाग लिन पहिलो पटक जुगलको काख ने–पेमासाल पुगेका थिए।
प्रकाशित: ७ जेष्ठ २०७६ १३:२६ मंगलबार