भुइँचालो पन्छाउँदै टुल्के एक्लैले ठड्याए घर
सिन्धुपाल्चोक– आर्थिक अवस्था बलियो हुँदा–हुँदै अटेरी गरेर भुइँचालोले भत्काएको घर नबनाउने धेरै छन्। परिवारमा बल भएर आफू बस्ने घर नबनाउने पनि कम छैनन्। यस्तोमा चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिण्डेका टुल्के श्रेष्ठ (४०) अपवाद बनेका छन्।
न परिवारको बलियो साथ, न आर्थिक रुपले नै सबल। यी दुबैले ठगेका उनलाई हिम्मतले भने ठग्न सकेन। चतुरे टोलका टुल्केले भूकम्पले भत्काएको घर एक्लैले ठड्याएका छन्। ‘आँट र इच्छाशक्ति हुने हो भने नसकिने केही छैन,’ पुनर्निर्मित घरको छाना छाउँदै गर्दा भेटिएका उनले नागरिकसँग भने। टुल्केले तीन महिना लगाएर फराकिला दुई कोठासहितको घर बनाएका हुन्।
जगदेखि धुरीसम्म, माटो मुछ्नेदेखि गारो लगाउनेसम्म सबै काम टुल्के एक्लैले गरे। त्यति मात्र हो र ! ढुंगाको सुर काट्नेदेखि झ्याल ढोका बनाउनेसम्मको काम उनी आफैँले गरे। ‘एउटा घर बनाउन चाहिने सबै सीप जानेको थिएँ। त्यही भएर एक्लै खटिएर घर ठड्याएँ,’ उनले सुनाए। केही साथीभाइको सहयोग लिएर सुबिस्ताले घर ठड्याउँन उनले नचाहेका होइनन्। यसो गर्न पैसा चाहिन्थ्यो। सरकारी तीन लाख रुपैयाँ अनुदानले घर बनाउन पुग्ने हो कि होइन भन्ने चिन्तामा डुबेका बिपन्न टुल्केले कामदारलाई दिने ज्याला कहाँबाट जुटाउनु?
‘काम थालेपछि जे त होला भनेर एक्लै कस्सिएँ,’ घर ठडिएपछि दंग टुल्केले भने, ‘गर्दै जाँदा हेर्दा–हेर्दै घर ठडियो।’ ढुंगा कुँदेर, चार कुना मिलाएर, माटो प्रयोगमा ध्यान दिएर चिटिक्क ‘फिनिसिङ’ निकालिएको टुल्केको घर ढुंगामाटोकै भए पनि आकर्षक छ। एक्लै कसरी घर बनाउन सकेँ भनेर अहिले टुल्के आफैँ चकित छन्। ‘सम्झेर ल्याउँदा म छक्क पर्छु,’ जिब्रो टोक्दै उनले भने।
मान्छेको जीवन यात्राको कुनै भरोसा छैन। सोच्दै नसोचेको भोग्नु पर्ने। यही तितो सत्य भोगे टुल्केले पनि। भूकम्पदेखिका चार वर्ष टुल्केको जीवनमा धेरै भुँईँचालो निम्तिए। तै पनि सम्हालिनुको बिकल्प थिएन। उनले त्यसै गरे।
मान्छेको जीवन यात्राको कुनै भरोसा छैन। सोच्दै नसोचेको भोग्नु पर्ने। यही तितो सत्य भोगे टुल्केले पनि। भूकम्पदेखिका चार वर्ष टुल्केको जीवनमा धेरै भुँईँचालो निम्तिए। तै पनि सम्हालिनुको विकल्प थिएन। उनले त्यसै गरे। भूकम्पअघि उनी फर्निचर उद्योग चलाउँथे। श्रीमतीले पसल चलाएकी थिइन्। दुई जनाको कमाइले सात सदस्यीय परिवारको पालन पोषण र घरखर्च पुगेकै थियो।
२०७२ वैशाख १२ गतेको भूकम्प टुल्केको जीवनमा दुर्गती बनेर आयो। घर ढाल्यो, व्यवसाय चौपट भयो। भूकम्पमा १३ वर्षका जेठा छोरा गुमाए। अस्थायी टहरोमा बाँकी चार बालबालिकासहित शोकलाई शक्तिमा बदलेर भूकम्पको घाउ भुल्दै थिए उनी। अनुदान सम्झौता गरेर घर बनाउन पहिलो किस्ताको पर्खाइमा थिए। उनले सोचेका थिए, ‘अब राम्रो हुँदै जाला।’
२०७३ कात्तिकमा टुल्केको जीवनमा अर्को भुँईँचालो गयो। मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक पार्टीमा लागेर हतियारको राजनीति गरेको आरोपमा उनी पक्राउ परे। संगठित अपराध, राज्यविरुद्धको अपराध लगायत एकै पटक पाँच मुद्दा लगाएर उनलाई डिल्लिबजार कारागार राखियो। दुई महिना प्रहरी हिरासतमा बिताएका उनी थप २५ महिना पूर्पक्षमा कारागार बसे। २७ महिना जेल जीवन बिताइ सकेपछि अदालतले उनलाई निर्दोष साबित गर्दै सफाइ दियो।
‘दिन र कानुन एकै पटक लाग्यो,’ भावुक हुँदै टुल्केले बिगत सम्झिए, ‘मंगोल मूलवासी भन्ने पार्टीको नाम पक्राउ पर्नुअघि सुनेको पनि थिईँन। के को संलग्न हुनु ?’ दिन लागेपछि यस्तै हो भनेर उनले चित्त बुझाए। जेलका दुःखलाई अदालतको फैसलाले ओझेलमा पारिदियो। बिग्रिएको व्यवहार सम्हाल्दै घर बनाउने अठोटका साथ मुहारमा चमक फर्काउँदै गाउँ आइपुग्दा टुल्केको जीवनको घर नै भत्किसकेछ।
२०७५ को कात्तिकमा घर आइपुग्दा उनले अर्को अप्रिय खबर थाहा पाए। तीन महिना अघि नै अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर उनकी श्रीमती अर्कैसँग बिहे गरेर अन्यत्रै हिँडिसकिछन्। ‘एकैचोटी छाँगाबाट खसेर पातल पुगे झैँ भयो,’ उनको गला अवरुद्ध भयो। लगातार विपद् आए र गए पनि। चार छोराछोरी टहरोमै थिए। उनीहरुलाई त्यहाँबाट निकालेर पक्की घरमा छिराउनु टुल्केको पहिलो चुनौती थियो। उनले त्यसै गरे।
उनीसँग एक पैसा थिएन। पहिलो किस्ता लिएर श्रीमती हिँडिसकेकी थिइन्। सीप भएकाले घर बनाउन उनी एक्लै कस्सिए। भत्केको घर पन्छाए। जमिन खारेर जग खने। तर डिपिसी (भुँई तहको संरचना) हाल्न सकेनन्। डिपिसी गर्न छड, सिमेन्ट र बालुवा चाहिन्थ्यो। त्यो किन्न उनीसँग पैसा थिएन। डिपिसी नगरी दोस्रो किस्ता आउँदैनथ्यो।
टुल्के जस्तैका लागि सघाउन गाउँमा इको र युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समितिमार्फत पुनर्निर्माण कार्यक्रम चलिरहेको थियो। संस्थाले एकल, अशक्त, बिपन्न र समस्यामा परेका भूकम्प पीडितलाई छड, सिमेन्ट, बालुवा लगायत सामग्री किन्न ५० हजार रुपैयाँ अनुदान सहयोग गर्दै आएको थियो। ‘यति पाएपछि मलाई अब घर बनाउन केहीले रोक्ने नै थिएन,’ फिस्स हाँस्दै टुल्के सुनाउँछन्, ‘ढुंगा थोरै मात्र पुग्दैनथ्यो। माटो किन्नु पर्दैनथ्यो। बाँकी काम गर्न मसँग सीप थियो।’
बिहान माटो मुछ्ने उनी दिउँसो गारो लगाउँथे। डिपिसी गरेपछि दोस्रो किस्ता बापत प्राप्त डेढ लाखले उनले अहिलेसम्मको काम गरे। झण्डै सय जना कामदार लाग्ने काम आफू एक्लैले गरेको उनले बताए। तेस्रो किस्ताको एक लाख माग गर्दै उनले फारम भरेका छन्। छिट्टै आउने तेस्रो किस्ताले घर प्लास्टर र झ्याल, ढोकाको काम गर्ने उनको योजना छ।
बत्ती, पानी र रंगरोगन गर्न मात्र अनुदानले नपुग्ने उनको अनुमान छ। यी सबै काम छिट्टै सक्न उनी हतारिएका छन्। हतारिनुको कारण खुलाउँदै टुल्के भन्छन्, ‘बिना कारण २७ महिना जेल परेँ। यस्तोमा क्षतिपूर्ति पाइन्छ भन्ने सुनेको छ। यसको लागि कानुनी प्रक्रियामा निस्कँदै छु।’