१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अलिअलि गर्दै एक करोडको छात्रवृत्ति

खैरहनी माविमा एक करोड रूपैैयाँको छात्रवृत्ति कोष स्थापना गर्न सफल भएका मुरलीप्रसाद गजुरेल। तस्बिर: नागरिक

चितवन - गरिबीका कारण उनले उच्च शिक्षा पढ्न सकेनन्। अभावले राम्रोसँग पढ्न नपाउँदा उनले एसएलसीअध्ययन पनि पूरा गर्न सकेनन्। पढ्ने धोको अधुरै छाडेर उनी खाडी पुगे। २०५० सालमा परिवारलाई डेरामा राखेर धन कमाउन साउदी अरब गए। पाँच वर्ष छ महिना विदेशमा श्रम गरेर फर्किए। आफूले नपढे पनि छोराछोरीलाई पढाए।

खैरहनी नगरपालिका–८ पर्साका ५७ वर्षीय मुरलीप्रसाद गजुरेललाई समयअन्तरमा आफ्ना सन्तान मात्र पढाएर हुँदैन भन्ने लाग्यो। मनमा आएको यो विचारलाई व्यावहारिक रूप दिन उनले गरिब परिवारका बालबालिका पढाउने अभियान सुरु गरे। त्यसका लागि २०६७ पुसमा आफैं पढेको खैरहनी माविमा ‘जन्मोत्सव तथा स्मृति’ छात्रवृत्ति अक्षयकोष स्थापना गरे । सुरुमा उनले आफैंले छ हजार पाँच सय रूपैयाँ राखेर कोष स्थापना गरेका थिए। अरूलाई पढाउनकै लागि उनी दिनरात खटिए। कसैको जन्मदिन परे वा आफन्तको स्मृतिमा कसैले सहयोग गर्न चाहे उनी आफैं सहयोगीकहाँ पुग्थे। कम्तीमा एक करोड रूपैयाँको अक्षय कोष बनाउने उनको लक्ष्य थियो।

उनको सहयोगी भावना, प्रतिबद्धता र काम देखेर देश–विदेशमा रहेका धेरै मानिसमा उनीप्रति विश्वास जाग्यो। कोषमा कुनै पनि शुभकार्य, पुण्यतिथिलगायत अवसर पारेर सहयोग रकम जम्मा हुन थाल्यो। धेरैले जन्मदिनको अवसरमा सहयोग गरे। कोषमा एक हजार रूपैयाँदेखि माथि सहयोग लिन उनी आफैं चितवनसहित मकवानपुर, नवलपुरलगायत धेरै स्थानमा पुगे। यसरी सोचेअनुसारको अक्षय कोष बनाउन उनी आठ वर्ष चार महिनामा सफल भए।

– कोषका लागि पैसा संकलन गर्न दृढ भएर भौंतारिदा केहीले उनलाई ‘पागल’समेत भने। शिक्षाको महत्त्व नबुझ्ने मानिसहरूले गर्ने यस्तो टिप्पणीलाई उनी सामान्य रूपमा लिन्थे।

उनका दुई सन्तान अहिले अस्ट्रेलियामा छन्। परिवारको आर्थिक अवस्था बलियो बन्दै गए पनि समयमा आफूले पढ्न नपाएको पीडाले उनलाई जहिले पनि पोलिरहन्छ। आफूजस्तै आर्थिक अभावका कारण अरू विद्यार्थीले पढाइ छाडेर रोजगारीका लागि विदेश जान नपरोस् भन्ने उनको चाहना छ। त्यसैले गरिब परिवारमा जन्मिएकालाई पढाइमा सहयोग गर्न उनले कोष स्थापना गरेका हुन्।

कोषका लागि पैसा संकलन गर्न दृढ भएर भौंतारिदा केहीले उनलाई ‘पागल’समेत भने। शिक्षाको महत्त्व नबुझ्ने मानिसहरूले गर्ने यस्तो टिप्पणीलाई उनी सामान्य रूपमा लिन्थे। समाजबाट प्राप्त हुने प्रतिक्रिया सकारात्मक–नकारात्मक जे भए पनि उनी आफ्नो उद्देश्य र अभियानमा निरन्तर लागिरहे। अहिले उनको अभियानले सफलता पाएको छ। गजुरेलका अनुसार कोषमा एक करोड एक लाख १२ हजार ७३ रूपैयाँ ८२ पैसा जम्मा भइसकेको छ र त्यसमा रकम थपिने क्रम जारी छ। ‘समाजमा रहेका दुखी, गरिब बालबालिकाको भविष्य उज्वल पार्न अभियान सुरु गरेको थिएँ,’ उनी भन्छन्, ‘करोड रूपैयाँ जम्मा गर्ने अभियान सफल भयो। यो नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो।’

कोषका लागि संकलित रकम गरिमा विकास बैंक, हिमालय बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको खाता जम्मा गरिएको छ। कोषमा जम्मा भएको रकमको ब्याजबाट कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति दिने गरिएको छ।

शैक्षिक सत्र २०६९÷०७० देखि विद्यार्थीलाई छात्रवृत्ति दिन थालिएको हो। अहिलेसम्म छ सय ३० जना विद्यार्थीलाई १९ लाख १८ हजार ८ सय रूपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ। एक करोड रूपैयाँको कोष पुरा भएकाले यो वर्षदेखी धेरै विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने गजुरेलले बताए। आफूले सुरु गरेको अभियान देश–विदेशमा छरिएर रहेका सहयोगी मनहरूका कारण सफल भएको उनले बताए। ‘अभियानमा स्वदेश तथा विदेशमा बस्ने सबैको साथ र सहयोग पाएँ’ उनले भने, ‘सानो–सानो सहयोगले यति ठूलो रकमको कोष खडा हुनसक्यो, सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन्छु।’

प्रकाशित: ३० वैशाख २०७६ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App