२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सुरक्षा सतर्कताका लागि कुकुर परिचालन

रौतहट– रौतहट प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै तालिम प्राप्त कुुकुर परिचालन गरेको छ। नेपाल भारत सीमाको गौर भन्सार क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले दुइटा तालिम प्राप्त कुुकुर परिचालन गरेको छ।

रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले प्रदेश नम्बर ३ प्रहरी मुख्यालय हेटौंडाबाट दुई वटा तालिम प्राप्त कुकुरलाई मगाएर भन्सार क्षेत्रमा परिचालन गरिएको बताए। होलीमा कुनै गडबड नहोस् भन्ने हेतुले सीमा क्षेत्रमा कुकुर परिचालन गरिएको हो। जिल्लामा विप्लव समूहको गतिविधि बढेको अनुमान भइरहेको समयमा तालिम प्राप्त कुकुर परिचालन गरिएको हो।

नेपाल भारत सीमा क्षेत्र सम्वेदनशील रहेको र भारतबाट साना हतियारका साथै गोली पनि भित्रिने सम्भावना रहेको तथा विगतमा चाडबाडको समयमा अपराध गरेर सीमा कट्ने प्रवृत्ति देखिएकोले मुख्य रुपमा सबै किसिमको अपराध नियन्त्रण गर्न जिल्लामा पहिलोपटक सुरक्षा सतर्कताको दृष्टिले कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयको दाबी छ।

भारतबाट अवैध र प्रतिबन्धित सामानहरु भित्रिन सक्ने भएकोले चेकजाँच गर्न कुकुरले सहयोग गर्ने एसपी खत्रीको भनाइ छ। नेपाल भारत खुल्ला सिमाना भएकोले प्रतिबन्धित सामान नेपालबाट भारततिर र भारतबाट नेपालतिर आउन कुकुरले रोक्ने तथा दुवै देशको सीमा क्षेत्रमा हुने अपराध कम हुने विश्वास प्रहरीको छ।

सीमा क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन भएपछि तस्करीमा पनि कमी आउने र राजस्व बढ्ने विश्वास पनि भन्सार कर्मचारीहरुको रहेको छ। सीमा क्षेत्रमा पहिलोपटक कुकुर परिचालन गरिएकोले जिल्लामा उत्सुकतापूर्वक लिइएको छ।   

प्रकाशित: ६ चैत्र २०७५ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App