सर्लाही – सर्लाहीको दक्षिणी क्षेत्रस्थित प्रहरी चौकीका लागि एक परिवारले करोड मूल्यको जग्गा दान गरेको छ। चन्द्रनगर गाउँपालिका–४, पोखरीयाको मोहनपुरस्थित प्रहरी चौकीका लागि स्थानीय सुरेन्द्र साह, वीरेन्द्र साह र राजेश साहले पाँच कठ्ठा जग्गा दान गरेका हुन्। उनीहरू दाजुभाइ हुन्।
उक्त जग्गाको बजार मूल्य करिब एक करोड रहेको स्थानीयले बताएका छन्। साह दाजुभाईले वडाध्यक्ष जगदीश साहको उपस्थितिमा स्थानीय भद्रभलाद्मी, बुद्धिजिवी तथा गाउँलेको भेलाबीच प्रहरी चौकीलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्। साह दाजुभाईले प्रहरी चौकीका लागि महँगो मूल्यको जग्गा दान गर्ने घोषणा गरेपछि स्थानीय बासिन्दाले ताली बजाएर सम्मान प्रकट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय (सर्लाही)का प्रमुख, प्रहरी उपरीक्षक पोषराज पोखरेलले स्थानीय दानवीर परिवारले महँगो मूल्यको जग्गा दान गरेर नेपाल प्रहरीलाई ठूलो गुन लगाएको बताए। ‘अब उक्त चौकीलाई भरसक ‘क’ नभए ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयका रूपमा स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाउनेछौं,’ उनले भने, ‘नयाँ भवन निर्माणका लागि समेत माथिल्लो निकायमा बजेट माग गर्नेछौं।’ हाल मोहनपुर प्रहरी चौकी एक कठ्ठा जमिनमा निकै पहिला बनेको पूरानो भवनमा छ।
प्रकाशित: ५ फाल्गुन २०७५ ०२:१२ आइतबार