२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

२३ वर्षदेखि पेस्की फछ्र्योट भएन

काठमाडौं - आफ्ना सदस्यसहित सर्वसाधारणलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यबाट सञ्चालनमा ल्याइएको साझा स्वास्थ्य सहकारीमा २५ वर्षदेखि चरम अनियमितता हुँदै आएको पाइएको छ। राष्ट्रिय सहकारी विकास बोर्डको ६५ प्रतिशत सेयर लगानी रहेको साझाका निर्देशक तथा कर्मचारीहरूले लामो समयदेखि पेस्की लिँदै आए पनि अहिलेसम्म्म फछ्र्योट गरेका छैनन्। यसबाट पेस्की लिएपछि ३५ दिनभित्र पछ्र्योट गर्नुपर्ने नियमको ठाडै उल्लंघन भएको राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०५३÷५४ यता धेरैपटक नेतृत्व परिवर्तन भइसके पनि नयाँ नेतृत्वले अघिको पेस्की उठाउनभन्दा पनि आफैं पेस्की लिनतिर ध्यान केन्द्रित गरेको देखिन्छ। त्यसयता हालसम्म त्यहाँका धेरै कर्मचारीले पेस्की लिइसकेको विवरण प्रतिवेदनमा उल्लेख छ। यसरी पेस्की लिने तर पछ्र्योट नगर्नेमा अनिद्रकुमार थामसोङ (२०५३÷५४ पेस्की ४० हजार ८ सय), वीरेन्द्रप्रसाद लाल (पेस्की ६ हजार ५ सय ५०), चन्द्रप्रसाद थानी (पेस्की १० हजार), धर्मदत्त देवकोटा (पेस्की १५ हजार ७२), मानसिंह चन्द (पेस्की २० हजार), गंगा अकेला (पेस्की १५ हजार), गोविन्द थपलिया (पेस्की ११ हजार), हरिबोल भट्टराई (पेस्की १५ हजार), केबीसिंह कार्की (पेस्की ७ हजार १५), किशोरदेव आचार्य (पेस्की ३ हजार), नारायणराज भट्ट (पेस्की १४ हजार ५ सय ), पूर्णलाल श्रेष्ठ (पेस्की ६ हजार), शंकरप्रताप सिंह (पेस्की ७३ हजार ५ सय १२), शिव भुर्तेल (४१ हजार ८ सय ), सोनी साह चौरासिया (पेस्की २८ हजार ७ सय) लगायत छन्। प्रतिवेदनमा विभिन्न समयमा १ करोड ८ लाख ३८ हजार २ य ७३ रुपैयाँ पेस्की लिएर फछ्र्योट नगर्नेहरूको विवरण सार्वजनिक गरिएको छ। पेस्की फछ्र्योट नगर्ने÷नगराउने कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्न पनि केन्द्रले सुझाव दिएको छ।

केन्द्रले तयार पारेको सो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए। ‘साझा सहकारीबारे विस्तृत अध्ययन गर्दा २०५३ सालदेखि नै पेस्की लिएको तर पछ्र्योट नगर्ने गरेको पायौं,’ उनले भने। पेस्की पछर्योट गर्न साझाको वर्तमान महानिर्देशकलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए। आर्थिक नियमावलीअनुसार उनीहरूबाट १० प्रतिशत ब्याजसहित पेस्की असुल गर्दा राज्यकोषमा करोडौं रकम थपिने लामिछानेको भनाइ छ। साझाका महानिर्देशक शंकर ढकालले साझाबाट यसअघि लिइएको पेस्की उठाउन पहल भइरहेको बताए। ‘साझामा म आएको केही महिना मात्र भएको छ,’ उनले भने, ‘नियमबमोजिम पेस्की उठाउन पहल गर्नेछु।’

साझाले सुपथ मूल्यमा औषधि उपलब्ध गराउन यस संस्थाल विभिन्न अस्पतालमा काउन्टर खोल्दै आएको छ। ती काउन्टरहरूको औषधि बिक्री–वितरणमा पनि ठूलो रकम अनियमितता हुने गरेको प्रतिवेदनमा जनाइएको छ। साझाका कर्मचारीहरूले औषधि नै गायब पार्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। महाराजगन्ज औषधि बिक्री कक्षमा २०७२ मंसिर १८ देखि २०७४ असार ८ सम्म नीरप्रसाद काफ्ले कार्यालय इन्चार्ज भएका बेला काउन्टरमा ८१ लाख ६२ हजार ४४ रुपैयाँको औषधि स्टक हुनुपर्नेमा ६८ लाख ५९ हजार चार सय ८९ रुपैयाँको मात्र रहेको देखिएको भन्दै बाँकी १३,लाख २ हजार ५ सय ५४ रुपैयाँ बराबरको औषधि स्टक कम देखिएको प्रतिवेदनमा जनाइएको छ।

यसैगरी काफ्लेको पालामा २०७४ जेठ २३ देखि २०७४ असार ७ सम्म बिक्री भएको रकम ढिलो गरी २०७५ असार ३० मा संस्थाको बैंक खातामा ५ लाख १८ हजार ५९ रुपैयाँ दाखिला भएको प्रतिवेदननमा जनाइएको छ। ढिलो रकम बैंक दाखिला गर्ने तत्कालीन कार्यालय इन्चार्ज काफ्लेलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदनको सुझाव छ। त्यस्तै तत्कालीन काउन्टर इन्चार्ज आशुतोष अधिकारी जिम्मा रहेको २०७४ साउन १ देखि २०७५ वैशाख १२ सम्म प्रहरी अस्पताल महाराजगन्जको काउन्टरमा दुई लाख ४० हजार ६ सय २१ रुपैयाँबराबरको औषधि स्टक घटी देखिएको भन्दै सो रुपैयाँमा अनियमिता भएको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ।

२०२१ सालमा स्थापना भएको साझा सहकारीले हरेक वर्ष पटकपटक गरी ठूलो परिमाणमा औषधि र सर्जिकल सामान खरिद गर्ने गरेको छ। त्यस्तो खरिद–बिक्रीमा भ्रष्टाचार र अनियमितता हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनले जनाएको छ।

प्रकाशित: १३ माघ २०७५ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App