१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बम्जन आश्रम प्रकरण: सञ्चलाल अनुसन्धानमा प्रहरी केन्द्रीत

रामबहादुर बम्जन अनुयायीका साथ। फाइल फोटो: नागरिक

सिन्धुपाल्चोक– ‘तपस्वी’ रामबहादुर बम्जनका विभिन्न आश्रमबाट बेपत्ता भएका पाँच अनुयायीमध्ये मकवानपुरका सञ्चलाल वाइबाको अनुसन्धानमा प्रहरी केन्द्रीत भएको छ। उनको आश्रमभित्रै हत्या भएको बलियो तथ्य बाहिरिएपछि प्रहरी पहिलो चरणमा सञ्चलालको अनुसन्धानमा केन्द्रीत भएको हो।

बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रमबाट बेपत्ता भएका सञ्चलालको अनुसन्धान जिल्ला प्रहरी कार्यालय (सिन्धुपाल्चोक)ले अघि बढाइरहेको छ। प्रहरीले एक साथ बम्जनका सिन्धुपाल्चोक र सिन्धुलीस्थित आश्रमबाट अनुसन्धान गरिरहेको छ। सिन्धपाल्चोकका डिएसपी बिमलराज कँडेलको टोली थप अनुसन्धान र प्रमाणको खोजीमा सिन्धुली पुगेको छ। यता बाँडेगाउँ आश्रममा तालिम प्राप्त कुकुर परिचालन गरेर प्रहरीले अनुसन्धान तीव्र बनाउँदै लगेको छ।

‘धेरैतिरबाट अनुसन्धान अघि बढाएका छौँ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले नागरिकसँग भने। राजधानीबाट आएको प्रहरीको विशेष टोलीले दुई दिनदेखि आश्रममा ६ वटा कुकुर परिचालन गरी अनुसन्धान गरिरहेको छ। कुकुरसहितको विशेष टोली बुधबार मध्याह्न आश्रम पुगेको थियो। विशेष टोलीले आश्रम नियन्त्रणमा लिएको छ। अनुसन्धान पूरा नभएसम्म कुकुरसहितको विशेष टोली बाँडेगाउँ आश्रममै रहने एसपी मरासिनीले जानकारी दिए।

महेन्द्रले जाहेरीमा उल्लेख गरेअनुसार उनका बाबु सञ्चलाल २०७१ मा बम्जनको आश्रममा पुगेका थिए । उनी केही समय बम्जनसँगै बाराको हलखोरियामा बसेका थिए । त्यही वर्षको चैत १४ गते सञ्चलाल आफैँले बाँडेगाउँ आश्रमबाट मोबाइलमा फोन गरेर छोरा महेन्द्रलाई १७ गते घर आउँछु भनेका थिए । तर उनी अहिलेसम्म घर फर्केका छैनन्।

हेटौँडा उपमहानगरपालिका–१४ का सञ्चलालको आश्रमभित्रै बेपत्ता बनाइएको भन्दै उनका छोरा महेन्द्र वाइबाले बिहीबार सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए। त्यसै दिन जाहेरी दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोगमा शुक्रबार र शनिबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो।

महेन्द्रको जाहेरी र सार्वजनिक भएका सूचनाका आधारमा शंकास्पद जमिन उत्खनन् गर्दा खुकुलो माटोले भरिएको पाँच फिट गहिरो खाडल सिआइबी टोलीले फेला पारेको थियो । त्यहाँ नौवटा नुनका खाली पोका भेटिएका थिए । तर शब र शरीरका कुनै अंग भेटिएनन् । महेन्द्रले जाहेरीमा बाबुको हत्यापछि आश्रम भित्रै खाडल खनी चाँडै कुहाउन २० पोका नुन छर्केर गाडेको जाहेरीमा उल्लेख गरेका छन् । प्रमाण नष्ट गर्न शब पहिलेको खाडलबाट अन्यत्रै सारिएको वा जलाइएको हुन सक्ने अनुमान गर्दै तालिम प्राप्त कुकुरको सहायता लिइएको प्रहरी स्रोतले बतायो।

आश्रमबाट प्राप्त नुनका खाली पोका, खाडलको माटो र वरपर भेटिएका कोइला बैज्ञानिक परीक्षणका लागि राजधानी पठाइएको छ । बम्जनका विभिन्न आश्रमबाट सञ्चलालबाहेक अरु चार अनुयायी हराएको खुलेको छ । बेपत्तामध्ये तीन अनुयायी बाँडेगाउँ आश्रमबाटै हराएको पीडित परिवारले दाबी गर्दै आएका छन्।

हेटौँडा रंगशालाकी फूलमाया रुम्बा (डोल्मो), नुवाकोटकी कर्मा तामाङ (चुन्मो), जीतपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वा गाउँका सुरेश आलेमगर र बाग्मती नगरपालिका सर्लाहीकी रीता बोट बम्जन आश्रमबाट हराएका हुन्। हराएकी रीता परिवारबाहेक सञ्चलालसहित चार अनुयायीका परिवारले खोजविनका लागि आ–आफ्ना जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन्।

‘आश्रममा हत्या जस्तो जघन्य अपराध भएको तथ्य बाहिरिएकाले पहिलो चरणमा सञ्चलाल अनुसन्धानमा केन्द्रीत भएका हौँ,’ केन्द्रीय प्रहरी स्रोत भन्छ, ‘त्यसपछि हराएका भनेर आएका निवेदनउपर छानविन थाल्छौँ।’ सञ्चलाल अनुसन्धानअघि बढिरहँदा हराएका अरुका बारेमा पनि धेरै सूचना र तथ्य आउनेमा प्रहरी अधिकारी विश्वस्त छन्।

सञ्चलाल हराएको बारे जाहेरी सिन्धुपाल्चोकमा दर्ता भएकाले अनुसन्धान पनि उसैले अघि बढाएको हो। सिन्धुली पुगेको डिएसपी कँडेल नेतृत्वको टोलीले बिहीबार बम्जनको त्यहाँस्थित आश्रमबाट पनि अनुसन्धान सुरु गरेको छ। उनी सञ्चलाल घटनाको अनुसन्धान अधिकृत तोकिएका छन्। उनको टोलीले अनुयायी इन्द्रबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर सोधपुछ भइरहेको छ।

महेन्द्रले जाहेरीमा उल्लेख गरेअनुसार उनका बाबु सञ्चलाल २०७१ मा बम्जनको आश्रममा पुगेका थिए । उनी केही समय बम्जनसँगै बाराको हलखोरियामा बसेका थिए । त्यही वर्षको चैत १४ गते सञ्चलाल आफैँले बाँडेगाउँ आश्रमबाट मोबाइलमा फोन गरेर छोरा महेन्द्रलाई १७ गते घर आउँछु भनेका थिए । १० दिन कुर्दा पनि बाबु नआएपछि महेन्द्रले खोजविनका लागि मकवानपुर प्रहरीमा चैत २७ गते निवेदन दिएका थिए।

चैत २९ गते बाबु खोज्दै बम्जनको बाँडेगाउँस्थित आश्रम पुगेका महेन्द्रलाई ‘अस्तिनै घर गइसकेको’ भन्दै फर्काएको थियो । २०७१ चैत ८ देखि १५ गतेसम्म बाँडेगाउँ आश्रममा मैत्रीपूजा लगाइएको थियो । पूजा सकिएको दिन बम्जनका केही अनुयायी बिरामी परे। ‘तन्त्र गरेर आफ्ना चेलालाई बिरामी पारेको आरोप सञ्चलाल र अर्का अनुयायी इन्द्रलाई लगाइयो।

सुरुमा बम्जन र पछि अरु अनुयायीले दुबैलाई कुटे। कुट्दा कुट्दै सञ्चलालको ज्यान गएको आश्रमबाट भागेका प्रत्यक्षदर्शी आनीहरुले दाबी गर्दै आएका छन्। सञ्चलाल र इन्द्र सँगै आश्रममा गएका थिए। सिन्धुलीमा पक्राउ परेका इन्द्र त्यो दिन सञ्चलालसँगै कुटाइ खाने हुन् या अर्के व्यक्ति हुन भन्ने प्रहरीले खुलाएको छैन। स्रोतका अनुसार सिन्धुपाल्चोक प्रहरी भने सञ्चलालसँगै कुटाइ खाने इन्द्र खोज्दै सिन्धुली पुगेको हो।

प्रकाशित: २७ पुस २०७५ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App